एमसीसी अन्तर्गतको प्रसारणलाइन नबने अर्को वर्ष 'डिजास्टर' हुन्छ : कुलमान घिसिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2023 | 03:02:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एमसीसी परियोजना अन्तर्गत बनिरहेको प्रसारण लाइन नबनेमा अर्को वर्ष नेपालको प्रणालीले विद्युतको लोड धान्न नसक्ने बताएका छन् । प्राधिकरणले आज आयोजना गरेको पत्रकार सम्मेलनको क्रममा कार्यकारी निर्देशक घिसिङले हेटौडा-न्यु बुटवल प्रसारण लाइन नबनेमा अर्को वर्ष 'डिजास्टर' हुने बताए ।

उक्त प्रसारण लाइन नबनेमा विजुलीको माग र आपूर्तिको व्यवस्थापन गर्न कठिन हुने उनको भनाई थियो । उनले प्रसारण लाइनमा देशभर नै समस्या रहेको बताए । कतिपय ठाउँमा सबै प्रसारण लाइन तयार भए पनि २ वटा टावर उठाउन नदिएको उनले गुनासो गरे । त्यस्तै उनले रुख काट्ने स्वीकृति पाउनपनि ५ वर्षसम्म कुर्नु पर्ने बताए । विभिन्न बहानामा प्रसारण लाइन बनाउन अवरोध हुने गरेको र त्यसको कारण ठुलो समस्या भईरहेको उनले बताए ।

त्यस्तै उनले प्रसारण लाइन निर्माणमा ठुलो खर्च लाग्ने बताउदै देशमा प्रसारण लाइन निर्माण गर्न सिंगो राष्ट्र नै लाग्नु पर्ने उनले बताए । प्रसारणलाइन निर्माणको लागि ८ खर्ब लगानी आवश्यक रहेको भन्दै उनले यसको लागि सबै निकायको ध्यान जानु आवश्यक रहेको बताए । उनले समयमा प्रसारण लाइन बनाउन नसकिएमा उद्योगहरुलाई पनि विजुली दिन नसकिने अवस्था आउने चेतावनी दिए ।

कार्यकारी निर्देशक घिसिङले यस पटक बर्षा सिजनमा दैनिक १ हजार मेगावाट विद्युत भारत निर्यात गरिने बताए । दैनिक ४०० देखि ५०० मेगावाटको विद्युत निर्यात सुरु गरिसकेको र नेपालमा माग बढी नहुने दिउँसो र रातको समयमा १ हजार मेगावाटसम्म निर्यात गरिने उनले जानकारी दिए।

यद्यपि उनले भारतलाई विद्युत निर्यात गर्दा नेपालमा विद्युत कटौती नहुने प्रष्ट पारे । उनले भने 'पहिला नेपाली जनताले नै विद्युत पाउने हो, उद्योगले पनि भने जस्ती नै विद्युत पाउछ,र बढी भएको बिजुली मात्र निर्यात हुन्छ, कही पनि कसैको लागि पनि विद्युत कटौती हुँदैन'।

उनले कहिले कहिँ प्रणालीमा  समस्या आउँदा बत्ति नहुने गरेकोले त्यसलाई बिजुली काटेको भनेर नबुझ्न उनले आग्रह गरे । प्रणाली समस्या आउँदा पावर प्लान्टहरु आफै बन्द हुने र त्यो बेलाको बिजुली कतै पनि नजाने उनले प्रष्ट पारे । प्रणालीमा विद्युत माग एक्कासी घट्दा वा एक्कासी बढ्दा प्रणालीमा समस्या आउने गरेको उनले बताए ।

उनले अहिले वर्षायाममा दैनिक २५ सय मेगावाट बिजुली उत्पादन हुने बताए । कुल क्षमता २७ सय मेगावाट रहेको भएपनि वर्षामा बाढीपहिरोको कारण २-३ सय मेगावाट विजुली बन्द हुने उनले उल्लेख गरे । नेपालमा खपत भएर बढी भएको बिजुली निर्यात नै गर्नु पर्ने उनले प्रष्ट पारे । उनले उद्योगहरुमा बिजुली कटौती भने नगरिएको र नगरिने पटक पटक दोहोर्याए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved