पञ्चेश्वर परियोजनाबारे आजदेखि नेपाल-भारत बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2023 | 08:29:53 AM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चेश्वर परियोजनाबारे नेपाल र भारतका उच्च अधिकारीबिच आज बिहीबारदेखि छलफल हुने भएको छ। नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र भारतका जलस्रोत सचिव पङ्कजकुमारको सहनेतृत्वमा रहँदै आएको पञ्चेश्वर विकास प्राधिकरणको बैठक बस्न लागेको हो।

करिब चार वर्षदेखि औपचारिक छलफलमा नआएको पञ्चेश्वरबारे गण्डकी प्रदेशको राजधानी पोखरामा बिहीबार र शुक्रबार दुई दिन छलफल हुन लागेको हो  । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को जेठमा सम्पन्न भारत भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो परियोजनालाई निर्माण प्रवेश गराउने सहमति भएको थियो । 

आजबाट सुरु हुने बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) मा टुङ्ग्याउन बाँकी रहेका विषयमा छलफल हुने बताईएको छ। त्यस्तै प्राधिकरणले हालसम्म गरेका गतिविधिको समीक्षा, आगामी काम, बजेटरीका विषयमा पनि छलफल हुनेछ। बैठकले प्राधिकरणको व्यवस्थापकीय सुधार तथा प्रशासनिक चुस्तता कायम गर्ने विषयमा पनि विभिन्न निर्णय गर्ने बताइएको छ। लामो समयदेखि बैठक नबसेकाले प्राधिकरणको बजेट पनि अनुमोदन हुन सकेको थिएन । बैठकले बजेट तथा कार्यक्रम पारित गर्ने र आगामी कार्ययोजना पनि निर्धारण गर्ने छ । बैठकले परियोजनाका लागि स्थापित विज्ञ समूहको कार्य अवधि पनि नवीकरण गर्ने छ।

 महाकाली नदीमा विकास गर्न लागिएको सो परियोजनाको डिपिआर अझै स्वीकृत हुन सकेको छैन। सुरुमा डिपिआरका पाँच सय बुँदामा दुई पक्षविच असहमति रहेको थियो । अहिले पनि १२७ बुँदामा असहमति छन् । 

२०५२ सालमा नेपाल र भारतबिच भएको महाकाली सन्धिमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार पारी आयोजना बनाउने सहमति भएको थियो तर हालसम्म पनि उल्लेख्य प्रगति हुन सकेको छैन । महाकाली नदीको पञ्चेश्वरमा बाँध बाँधेर छ हजार ४८० मेगावाट र रुपालीगाडमा अर्को बाँधमार्फत २४० मेगावाट विद्युत् उत्पादन गर्ने परियोजनाको लक्ष्य छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved