पञ्चेश्वर आयोजनाको डिपिआर ३ महिना भित्र बनाउने सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2023 | 09:13:18 AM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समिति (गभर्निङ बडी) को बैठकले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) लाई तीन महिनाभित्र अन्तिम रुप दिने सहमति गरेको छ। बैठकले आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) लाई तीन महिनाभित्र अन्तिम रुप दिने एवम् सो प्रतिवेदनको कार्यान्वयनमा सघाउ पुऱ्याउन दुवै देशको सरकारद्वारा गठित विज्ञ समूह ( टिम अफ एक्सपर्ट्स/अफिसियल) को म्याद छ महिना थप गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले पञ्चेश्वर विकास प्राधिकरणका दुवै देशका कार्यकारी समितिका सदस्यहरुलाई प्राधिकरणको प्रमुख कार्यालय, महेन्द्रनगरमा एक महिनाभित्र खटाउने निर्णय गरेको छ । साथै विज्ञ समूहको चौथौं बैठक आगामी दश दिनभित्र आयोजना गर्ने सहमति बैठकले गरेको छ । साथै, बैठकले आर्थिक वर्ष सन् २०१९, २०२०, २०२१ र २०२२ को बजेट अनुमोदन तथा आर्थिक वर्ष २०२३ को वजेट समेत स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीको हालसालै भएको भारत भ्रमणको अवसरमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको तीन महिनाभित्र विस्तृत आयोजना प्रतिवेदनलाई टुङ्गो लगाउने दुई देशका प्रधानमन्त्रीहरुबीच भएको सहमतिलाई यथाशीघ्र कार्यान्वयन गर्न यी सहमति भएको उर्जा मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपाल सरकारको तर्फबाट सञ्चालक समितिको सह-अध्यक्ष तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव (ऊर्जा) दिनेशकुमार घिमिरे र भारत सरकारको तर्फबाट सञ्चालक समितिको सह-अध्यक्ष तथा जलशक्ति मन्त्रालयका सचिव पंकज कुमारले संयुक्त रुपमा बैठकको अध्यक्षता गरेका थिए। 

२०५२ सालमा नेपाल र भारतबिच भएको महाकाली सन्धिमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन तयार पारी आयोजना बनाउने सहमति भएको थियो तर हालसम्म पनि उल्लेख्य प्रगति हुन सकेको छैन । महाकाली नदीको पञ्चेश्वरमा बाँध बाँधेर छ हजार ४८० मेगावाट र रुपालीगाडमा अर्को बाँधमार्फत २४० मेगावाट विद्युत् उत्पादन गर्ने परियोजनाको लक्ष्य छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved