काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो सबस्टेसन उद्घाटन हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 28, 2024 | 08:50:19 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र मर्स्याङ्दी–काठमाडौँ २२० के.भी. प्रसारण लाइनको आज उद्घाटन हुँदैछ । चन्दागिरी नगरपालिकास्थित मातातीर्थमा दिउँसो ३ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबस्टेसन र प्रसारण लाइन उद्घाटन गर्न लागेका हुन् ।

त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौँमा ल्याउन र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने मातातीर्थ २२०–१३२ के.भी. सबस्टेसन निर्माण गरिएको हो ।

सबस्टेसनको क्षमता ३२० एमभीए छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेसन हब हो ।

मर्स्याङ्दी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौँ ल्याउन तनहुँको आँबुखैरनीस्थित मार्कीचोक सबस्टेसनबाट काठमाडौँसम्मको मर्स्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । आयोजना अन्तर्गत नै मार्कीचोकमा २२०–१३२ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा छ ।

मस्याङ्दी–काठमाडौँ र त्रिशूली–काठमाडौँ प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एक आपसमा आवद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ । प्रसारण लाइनबाट २ हजार मेगावाट विद्युत काठमाडौँ उपत्यकामा छिर्न सक्छ ।

मर्स्याङ्दी र त्रिशूलीबाट उपत्यकामा भित्रिएको विद्युत्लाई मातातीर्थ सबस्टेसनबाट १३२ के.भी. प्रशारणलाइन मार्फत स्युचाटार, चोभारलगायतका क्षेत्र र स्थानीय रुपमा आपूर्ति गरिनेछ । मातातीर्थबाट १३२ के.भी. प्रसारण लाइनमार्फत हेटौंडातर्फ समेत विद्यतु प्रवाह गर्न सकिने छ ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा बनाइएको यो आयोजनाको अनुमानित लागत साढे ६ अर्ब रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved