म्याग्दीमा २ सय ३८ मेगावाटका १३ जलविद्युत् आयोजना निर्माणाधीन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2023 | 03:16:32 PM मा प्रकाशित

laxmi  sunrise bank

म्याग्दीको पश्चिमी क्षेत्रमा दुई सय ३८ दशमलव २३ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना निर्माणाधीन छन् । विद्युत् प्राधिकरणले निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्नका लागि प्रसारण लाइन र सवस्टेशन बनाउन थालेपछि निर्माणाधीन आयोजनाको कामले तीव्रता पाएका हुन् ।

प्राधिकरणले मालिका गाउँपालिका–७ मा एक सय ३२ केभी क्षमताको सवस्टेशन र त्यहाँदेखि राहुघाट जोड्ने प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । सन् २०२४ भित्र डाँडाखेत सवस्टेशन र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने तयारीसहित काम थालिएको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए । उनका अनुसार उक्त आयोजनाले मालिका गाउँपालिकाको शिवरात्रि खोलादेखि भारवाङ, कल्लेनी, छहरी, खारा, खाम्ला हुँदै नाउरासम्म १० किलोमिटरभन्दा बढी सडक मार्ग खोलेको छ । 

“शिवरात्री खोलाको पहरामा अड्किएको सडक धवलागिरि गाउँपालिकाले बजेट विनियोजन गरेपछि मार्ग खोलिएको हो”, अग्रवालले भने , “हाइड्रो इम्पायर प्राली काठमाडौँले धवलागिरि–४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणको अनुमति लिएको छ ।”

आयोजनाका अध्यक्ष जीतबहादुर घर्तीले पहुँचमार्ग निर्माण सकेर सुरुङ, विद्युतगृहको काम थालिएको बताए । उनका अनुसार सिन्कोस र म्याग्दी खोलाको दोभानभन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा आयोजनाको बाँध प्रस्ताव गरिएको छ । धौलागिरि हिमालको फेदि भएर बग्ने म्याग्दी नदीबाट विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट तीन आयोजनाले निर्माण अनुमति पाएका छन् ।

त्रिपन्न मेगावाट क्षमताको अपर म्याग्दी पहिलो, १४ दशमलव ७० मेगावाटको मुदीखोला र ५७ दशमलव ३० मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । अपर म्याग्दी जलविद्युत् आयोजनाले छहरीमा साइट कार्यालयको भवन बनाएको छ । धवलागिरि–४ मा २३ दशमलव ७० मेगावाट क्षमताको म्याग्दीखोला ‘ए’ र धवलागिरि–१ गुर्जामा १५ मेगावाट क्षमताको धौलाखोला जलविद्युत् आयोजना निर्माणाधीन छन् ।

त्यस्तै, एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रक्चर प्रालिले धवलागिरि–४ मा १४ दशमलव ७० मेगावाट क्षमताको मुदिखोला, सुसमित हाइड्रोपावर लिमिटेडले धवलागिरिमा २० मेगावाट क्षमताको कुनबान खोला जलविद्युत् आयोजना निर्माणका लागि अनुमति लिएका छन् । 

त्यस्तै, छ दशमलव पाँच मेगावाटको दरखोला, धवलागिरि–४ मा तीन दशमलव ४५ मेगावाटको सिम्कोश, धवलागिरि–४ मुदीमा १२ दशमलव ७३ मेगावाटको अपर मुदी, नौ दशमलव पाँच मेगावाटको म्याग्दीखोला ‘बि’ र चार दशमलव छ मेगावाटको तिरिजा खोला जलविद्युत् आयोजनाका लागि सर्वेक्षणको अनुमति लिएका छन् ।

जिल्लामा जलविद्युत् आयोजना भित्रिएसँगै सडक सञ्जाल विस्तारका साथै भौतिक पूर्वाधार निर्माणले गति लिएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । आयोजनाले बनाएका पूर्वाधारबाट स्थानीयले रोजगारी पाउने, लगानी गर्ने वातावरण बन्ने, सुविधा उपभोग गर्न पाउनुका साथै दीर्घकालीन हिसाबले पालिकालाई विद्युत्बाट आम्दानीसमेत हुने उनको भनाइ थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved