नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि प्रारम्भिक सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2023 | 01:38:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि प्रारम्भिक सहमति भएको छ ।  इमेल आदानप्रदान गरेर एकापसमा सहमति जनाइएको र त्यसलाई भौतिक उपस्थितिमा नै दुई देशका अधिकारीले हस्ताक्षर गर्ने सहमति भएको हो ।

नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । प्रारम्भिक चरणमा बङ्गलादेशले नेपालबाट ४० मेगावाट बराबरको बिजुली लैजाने जनाएको छ । 

हाललाई ४० मेगावाट धेरै नभए पनि नेपालको बिजुली तेस्रो देश निर्यात गर्ने विषय भने महत्वपूर्ण रहेको यस क्षेत्रका जानकारहरुको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले भारतीय नोडल एजेन्सी एनभीभिएन बङ्गलादेश निर्यातका लागि सहमति गरिसकेको छ । सोही संस्थामार्फत नेपालको बिजुली बङ्गलादेश पुग्नेछ । बिजुली निर्यातका लागि आवश्यक सहमति भएको र केही विषय बाँकी रहेपनि त्यसलाई छिट्टै टुङ्गोमा पु¥याइने प्राधिकरणका प्रबल अधिकारीले जानकारी दिए । 

 कुन आयोजनाको बिजुली बङ्गलादेश पठाउने, प्रतियुनिट कति मूल्य लिने र प्रसारण शुल्कबापत भारतीय कम्पनीलाई के कति भुक्तानी गर्ने भन्ने विषयमा सहमति हुनबाँकी छ । यसलाई निष्कर्षमा पु¥याउन धेरै समय नलाग्ने यसमा संलग्न पदाधिकारीको भनाइ छ । 

सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने आफ्नो रणनीतिक योजनामा समावेश गरेको छ । हाल भारतले बङ्गलादेशलाई बिजुली निर्यात गरिरहेको छ । स्वच्छ ऊर्जाको खोजीमा रहेको बङ्गलादेशले नेपालका केही महत्वपूर्ण आयोजनामा लगानीका लागि चासोसमेत व्यक्त गरेको छ । गत जेठ २ मा बङ्गलादेशमा सम्पन्न नेपाल बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको पाँचौँ बैठकले बिजुली निर्यातको निर्णय गरेको थियो । सो बैठकले अन्तरदेशीय प्रसारण लाइनको निर्माण तथा व्यवस्थापन गर्ने, सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माण र विकास गर्ने तथा अन्तरदेशीय विद्युत् आयात निर्यात गर्नेलगायतका विषयमा गम्भीर छलफल भएको थियो । 

सोही बैठकले ४० मेगावाट बिजुली निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण, एनटिपीसी विद्युत् व्यापार निगम, भारत र बङ्गलादेशबीच पावर डेभलपमेन्ट बोर्डबीच विद्युत् बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार त्रिपक्षीय सम्झौता भएको हो । नेपालबाट खरिद गर्ने बिजुलीको खरिद दरका विषयमा आवश्यक निर्णय गर्न एक समिति आवश्यकपर्ने बङ्गलादेशको नियम रहेको छ । सो समितिमा रहने सदस्यको नाम समेत प्रस्ताव भइसकेको बङ्गलादेशले जानकारी गराइसकेको छ ।  

नेपाल र भारतका ऊर्जा सचिवबीच गत फागुनमा सम्पन्न १०औँ बैठकमा बङ्गलादेश बिजुली निर्यातका लागि आवश्यक सहमति भएको थियो । तत्कालका लागि ५० मेगावाट बिजुली निर्यातका लागि भारतीय प्रसारण प्रणाली प्रयोग गर्न दिन भारतीय पक्ष सहमत भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved