कुलमानले पेश गरे विद्युत प्राधिकरणको वार्षिक प्रतिवेदन, छिट्टै नेपालको बिजुली बंगलादेश पुग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2023 | 11:36:13 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणको ३८ औ वार्षिकोत्सवको अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा पेश भएको कार्यकारी निर्देशकको वार्षिक प्रतिवेदन, २०८० ।  

कार्यकारी निर्देशकको वार्षिक प्रतिवेदन, २०८०

विद्युत उत्पादन, प्रसारण र वितरणलार्इ सक्षम, भरपर्दो र सर्वसुलभ गरी आम उपभोक्ताहरुलार्इ गुणस्तरीय विद्युत सुपथ मुल्यमा उपलब्ध गराउन प्रतिबद्ध नेपाल विद्युत प्राधिकरणको 38औं वार्षिकोत्सवको  अवसरमा हामीलार्इ सहयोग र साथ दिने आम विद्युत उपभोक्ताहरु तथा शुभेच्छुकहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु। 

विगतका वर्षहरुमा जस्तै गत आ.व. 2079/80 मा पनि विद्युत उत्पादनमा बृद्धि,  प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएका छौं। 

हाम्रो निरन्तर प्रयासबाट विगत सात वर्षदेखि प्राधिकरणले मुनाफा आर्जन गर्दै आइरहेको छ। गत आर्थिक वर्षसम्म आर्इपुग्दा बार्षिक १२ अर्व ३३ करोड नाफा आर्जन गरी सञ्चित नाफा 36 अर्व 67 करोड पुगेको छ। साथै अघिल्लो आ.व. मा १५.38% रहेको विद्युत चुहावटलार्इ घटाइ आ.व. 2079/80 मा १३.46% मा सीमित गर्न सफल भएका छौं, जुन प्राधिकरणको इतिहासमा हाल सम्मकै न्यून हो। 

सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको हालैको भारत भ्रमणबाट दिर्घकालीनरुपमा भारतसँग विद्युत व्यापार गर्ने मार्ग प्रशस्त भएको छ भने अन्तर्देशीय विद्युत व्यापारको बजार विस्तार भर्इ अतिरिक्त ऊर्जा अन्य छिमेकी देशहरुमासमेत निर्यात गर्ने अवसर सृजना भएको छ। 

आ.व. 2079/80 मा विभिन्‍न जलविद्युत आयोजना सम्पन्‍न भर्इ 491 मेगावाट विद्युत प्राधिकरणको प्रणालीमा थप भर्इ कुल जडित उत्पादन क्षमता 2684 मेगावाट पुगेको छ। गत वर्ष सुख्खायाममा प्राधिकरण तथा स्वतन्त्र विद्युत उत्पादकहरुको विद्युत उत्पादन केन्द्रबाट प्रक्षेपण गरिए भन्दा कम विद्युत उत्पादन हुन गएकोले केही बढी परिमाणमा विद्युत आयात गरी माग पूर्ति गरिएको थियो। 

International Credit Rating Association - ICRA ले प्राधिकरणको आर्थिक अवस्थाको मुल्याङ्कन गरी डबल ए प्लस रेटिङ्ग गरेको छ। प्राधिकरणको तेश्रो आर्थिक पुन:संरचना स्वीकृति प्राप्‍त हुने चरणमा रहेको छ। सोको स्वीकृति पश्‍चात प्राधिकरणले सर्वसाधारणलार्इ प्रिमियम मुल्यमा शेयर जारी गर्न सक्ने छ।

सूचना तथा सञ्‍चार प्रविधिको महत्वलार्इ आत्मसात गरी प्राधिकरणले आ.व.2079/80 मा सूचना प्रविधि नीति, 2023 जारी गरेको छ। उक्त नीतिमा उल्लेख भएबमोजिम प्राधिकरणबाट प्रभावकारी रुपमा कार्य सम्पादन गर्न र गुणस्तरिय सेवा प्रदान गर्न डिजिटल प्रविधिको व्यापक उपयोग गर्ने योजनाहरु कार्यान्वयन गरिने छ। 

अनलाइन पोर्टल र मोबार्इल एप्लिकेशनमार्फत ग्राहकहरुले सहजरुपमा विद्युत महसुल भुक्तानी गर्न र गुनासो दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ। ग्राहकहरुको गुनासो समयमै संबोधन गर्न र सेवाको स्तर बृद्धि गर्नका साथै अन्य आवश्यक जानकारी उपलब्ध गराउन प्रादेशिक कार्यालयहरुमा कल सेन्टर स्थापना गरी सञ्‍चालनमा ल्याइएको छ। 

केन्द्रीकृत पेरोल तथा पेन्सन प्रणालीको कार्यान्वयनबाट कर्मचारीको तलब-भत्ता, कर्मचारी सञ्‍चयकोष, नागरिक लगानी कोष, आयकर, अवकास भुक्तानी  जस्ता विविध भुक्तानी प्रकृयाहरु सहज हुन गएको छ। साथै प्राधिकरणमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको व्यक्तिगत विवरण लगायतका अभिलेखहरु डिजिटल प्रणालीमा राखी निकट भविष्यमा सबै कार्यालय तथा कर्मचारीको पहुँच हुने गरी सञ्‍चालनमा ल्याइने छ।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको सिद्धान्तहरुलार्इ अनुशरण गरी प्राधिकरणको हरेक कृयाकलापमा महिला तथा सिमान्तकृत समुदायको सहभागितालार्इ प्राथमिकता दिन प्राधिकरणले Gender Equality and Social Inclusion Strategy and operational Guidelines  लागू गरेको छ। 

प्राधिकरणले गत आ.व. 2079/80 मा सम्पादन गरेका कार्य र त्यसबाट प्राप्‍त नतिजा सहितको विवरण देहायबमोजिम रहेको छ:

क) ग्राहक संख्या

आ.व. 2078/79 मा ४७ लाख ७० हजार ग्राहक रहेकोमा आ.व. 2079/80 मा 7.7६% ले बृद्धि भर्इ ५१ लाख ३० हजार पुगेको छ। सामुदायीक ग्रामिण विद्युतीकरणबाट विद्युत सेवा उपभोग गरिरहेका ५ लाख १० हजार ग्राहक सहित राष्‍ट्रिय ग्रीडबाट विद्युत सेवा उपभोग गर्ने ग्राहको संख्या ५६ लाख ४० हजार पुगेको छ। 

हाल राष्‍ट्रिय ग्रीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवम् सौर्य विद्युतबाट ३ प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्‍त गरिरहेका छन् । आगामी २ वर्ष भित्र सम्पूर्ण जनतालार्इ विद्युतको पहुँच पुर्याउने गरी वितरण प्रणाली निर्माण कार्य अगाडि बढाइएको छ। 

ख) विद्युत उत्पादन

गत वर्ष सुख्खायाममा नदीहरुमा जलप्रवाहको स्तर घट्न गर्इ प्राधिकरणको जलविद्युत गृहहरुबाट कुल 2 अर्व 93 करोड युनिट विद्युत उत्पादन भएको छ। जुन आ.व. 2078/79 को तुलनामा 10.10%  ले कम रहेको छ। 

आ.व. 2079/80 मा स्वतन्त्र ऊर्जा उत्पादक (IPP) तथा प्राधिकरणको सहायक कम्पनीहरुबाट क्रमश: 5 अर्व 11 करोड र 2 अर्व 48 करोड युनिट विद्युत खरिद गरिएको छ जुन आ.व. 2078/79 को तुलनामा क्रमश: 19.४1% र 25.91% ले बढी रहेको छ। 

ग) विद्युत आयात तथा निर्यात

भारतबाट गत आ.व. मा 1 अर्व 83 करोड युनिट विद्युत आयात गरिएको छ। जुन आ.व. 2078/79 को तुलनामा 18.79% ले बढी रहेको छ। प्रणालीमा आ.व. 2078/79 को तुलनामा 11.80%  ले बढी अर्थात 12 अर्व 36 करोड युनिट ऊर्जा उपलब्ध भएको छ। कुल उपलब्ध ऊर्जामा प्राधिकरण तथा यसका सहायक कम्पनीहरुको योगदान 43.80%, स्वदेशी स्वतन्त्र ऊर्जा उत्पादकहरुबाट उत्पादित ऊर्जाको योगदान  41.38%  र भारतबाट आयातित ऊर्जाको योगदान 14.82%  रहेको छ।

आ.व.2078/79 मा ४9 करोड युनिट मात्र विद्युत भारत निर्यात गरिएकोमा आ.व. 2079/80 मा 1 अर्व 34 करोड युनिट विद्युत निर्यात भएको छ। 


घ) विद्युत खपत

आ.व.2078/79 को तुलनामा आ.व. 2079/80 मा विद्युत खपत 5.50% ले बृद्धि भर्इ 9 अर्व 35 करोड युनिट पुगेको छ। 

ङ) विद्युत चुहावट

प्रणालीको विद्युत चुहावट आ.व. 2079/80 मा १३.46% रहेको छ। जुन आ.व. 2078/79 को तुलनामा 1.92 अंकले कमी हो। प्राधिकरणको इतिहासमा यो नै अहिलेसम्मको कम चुहावट हो।

च) वित्तिय अवस्था

स्वदेशी जलविद्युत गृहहरुबाट विद्युत उत्पादन घट्न गएकोले आयातित विद्युत ऊर्जाको परिमाण बढ्न जाँदा आ.व. 2079/80 मा प्राधिकरणको खुद नाफा आ.व. 2078/79 तुलनामा ७.7६%  ले कमी भर्इ रु. 12 अर्व 33 करोड हुन गएको छ। 

छ) आयोजनाहरु

इन्जिनियरिङ्ग सेवा निर्देशनालय अन्तर्गत जवा तिला, भारभूङ, वेगनाश रुपा पम्प स्टोरेज र माथिल्लो मुस्ताङ्ग जलाशययुक्त जलविद्युत आयोजनाहरुको अध्ययन कार्य अगाडि बढाइएको छ। साथै 490.2 मेगावाटको अरुण-4 जलविद्युत आयोजना निर्माणका लागि सतलज जलविद्युत निगम  भारतसँग संयुक्त उपक्रमको कम्पनी स्थापना गर्न समझदारी पत्र (MoU)  मा हस्ताक्षर भैसकेको छ। 

आ.व. 2079/80 मा 66 के.भी. तथा सो भन्दा माथिका प्रसारण लाइन 413 सर्किट कि.मी. थप भर्इ कुल सञ्‍चालन रहेको 66 के.भी. र सो भन्दा माथिका प्रसारण लाइनको लम्बार्इ 5742 सर्किट कि.मी. पुगेको छ। गत आ.व. मा 1718 एम.भी.ए. क्षमता बराबरको ग्रीड सवस्टेशन थप भएको छ। यो सँगै कुल सवस्टेशनको जडित क्षमता 8867 एम.भी.ए.  पुगेको छ। 132 के.भी., २२० के.भी. र 400 के.भी. का क्रमश: 1434 सर्किट कि.मी., 988 सर्किट कि.मी. र 8775 सर्किट कि.मी. गरी 3175 सर्किट कि.मी. प्रसारण लाइन र 10290 एमभिए क्षमताको ग्रीड सवस्टेशनहरु निर्माणाधीन अवस्थामा रहेका छन्। 

ज) वितरण प्रणाली

प्रत्येक नेपालीको घरदैलोमा नियमित र भरपर्दो विद्युत सेवा पुर्‍याउन वितरण प्रणाली विस्तारको कार्य उच्च प्राथमिकताका साथ अगाडि बढाइएको छ। वितरण प्रणालीको स्तरोन्‍नती एवम् शहरको सुन्दरता अभिबृद्धि हुनेगरी काठमाडौं उपत्यका लगायत पोखरा र भरतपुरमा वितरण प्रणालीलार्इ भूमिगत गर्ने कार्यहरु भैरहेका छन्। 

प्राधिकरणले पहिलो चरणमा रत्‍नपार्क र महाराजगञ्‍ज वितरण केन्द्रको 97,000 घर धुरीमा स्मार्ट मिटर जडान गर्ने कार्य  सम्पन्‍न गरी सञ्‍चालनमा आइसकेको छ। दोस्रो चरणमा काठमाडौं उपत्यकाको ६ लाख ग्राहकको घरमा पूर्व जडित मिटरलार्इ स्मार्ट मिटरले प्रतिस्थापन गरी स्वचालित मिटरिङ्ग पूर्वाधार प्रणालीमा एकिकृत वा आवद्ध गर्ने कार्य छिट्टै शुरु गरिने छ। साथै मुलुकभर स्मार्ट मिटर जडान गर्ने कार्यलार्इ प्रभावकारीरुपमा अगाडि बढाइने छ।

वितरण केन्द्रहरुमा आय व्यवस्थापन प्रणाली जडान गर्ने कार्य अगाडि बढाइएको छ। प्रणाली सञ्‍चालन विभाग, स्यूचाटारको परिसरमा वितरण प्रणाली नियन्त्रण तथा डाटा केन्द्र निर्माण सम्पन्‍न हुने चरणमा रहेको छ।

झ) अन्य गतिविधि

विद्युतीय सवारी साधन र विद्युतीय चुल्होका साथै अन्य घरायसी उपकरणहरुको प्रर्वद्धन विभिन्‍न कार्यक्रमहरुलार्इ निरन्तरता दिइएको छ। प्राधिकरणले DC Fast Charging Technology मा आधारीत 51 वटा विद्युतीय सवारी साधन चार्जिङ्ग स्टेशन मुलुकको प्रमुख स्थानहरुमा जडान गरी सञ्‍चालनमा ल्यार्इसकेको छ भने थप 13 वटा चार्जिङ्ग स्टेशन विभिन्‍न स्थानमा जडान गर्ने कार्य भैरहेको छ। 

ञ) सहायक कम्पनीहरू

प्राधिकरणको सहायक कम्पनीको रुपमा स्थापित विभिन्‍न कम्पनी तथा सो मार्फत सञ्‍चालित  आयोजनाहरुको कार्य प्रगति निम्नानुसार रहेका छन्:

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड र माथिल्लो तामाकोशी हार्इड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित क्रमश:२२.१ मेगावटको चिलिमे जलविद्युत केन्द्र र ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्र सञ्‍चालनमा रहेका छन्। साथै माथिल्लो तामाकोशी हार्इड्रोपावर लिमिटेडले इपिसी मोडलमा २0.66 मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माण प्रारम्भ गरेको छ।

चिलिमे हाइड्रोपावर कम्पनीको सहायक कम्पनीहरुमार्फत  १११ मेगावाटको रसुवागढी,१०२ मेगावाटको मध्य भोटेकोशी,४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाहरु निर्माण सम्पन्‍न हुने अबस्थामा रहेका छन् भने 87 मेगावाटको सेती नदी 3 जलविद्युत आयोजनाको निर्माण प्रकृया अघि बढाएको छ। 

१४० मेगावाटको तनहुँ,37 मेगावाटको त्रिशुली ३ बी,४० मेगावाटको राहुघाट जलविद्युत आयोजनाहरु निर्माणाधीन अवस्थामा छन्। 

तनहुँ जलविद्युत कम्पनीमार्फत १२6 मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाको अध्ययन पुरा भर्इ कार्यान्वयनको चरणमा रहेको छ। 

यसैगरी १०६१ मेगावाटको माथिल्लो अरुण,४० मेगावाटको इखुवा खोला, ९९.८ मेगावाटको तामाकोशी पाचौं, ६० मेगावाटको मोदी, २१० मेगावाटको चैनपुर सेती र ६३५ मेगावाटको दुधकोशी जलाशययुक्त जलविद्युत आयोजनाहरु निर्माण शुरु हुने चरणमा रहेका छन्। 

८२८ मेगावाटको उत्तरगंगा र १८० मेगावाटको आँधीखोला जलाशययुक्त जलविद्युत आयोजनाहरु अध्ययनका विभिन्‍न चरणमा रहेका छन् ।

एनर्इए इन्जिनियरिङ्ग कम्पनीले विभिन्‍न आयोजनाको सम्भाव्यता अध्ययन, इन्जिनियरिङ डिजाइन, विस्तृत इन्जिनियरिङ डिजाइन तथा अध्ययनको पुनरावलोकन, सिभिल, हाइड्रो-मेकानिकल, इलेक्ट्रो मेकानिकल, आयोजना व्यवस्थापन, ट्रान्समिशन लाइन तथा वितरण प्रणाली सञ्‍चालन, मर्मत सम्भार तथा पुनःस्थापना लगायतका विभिन्‍न पूर्वाधार निर्माणको क्षेत्रमा परामर्शदाताको रुपमा सेवा प्रदान गरिरहेको छ। 

नेपाल पावर ट्रेडिङ कम्पनीले विद्युत व्यापार गर्ने अनुमति प्राप्‍त गरिसकेकाले निकट समयमा कारोबार सञ्‍चालन गर्ने अवस्था रहेको छ। 

पावर ट्रान्समिसन कम्पनी नेपालले ढल्केबर र मुजफ्फरपुर बीचको ४०० केभी डबल सर्किट लाइनको नेपाल अंश निर्माण गरी सञ्‍चालन गरिरहेको छ।  

ट) निजि क्षेत्रको सहभागिता  

गत बर्ष स्वतन्त्र ऊर्जा उत्पादकहरुबाट 491 मेगावाट क्षमता बराबरको कुल 27 वटा जलविद्युत आयोजनाहरु सम्पन्‍न गरी प्राधिकरणको प्रणालीमा जोडिएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुबाट हालसम्म 2023 मेगावाट क्षमता बराबरको 159 जलविद्युत आयोजनाहरु निर्माण सम्पन्‍न भर्इ सञ्‍चालनमा आएका छन् । जसमा प्राधिकरणको सहायक कम्पनीको हिस्सा 478 मेगावाट रहेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुबाट प्रवर्द्धित 3103 मेगावाट क्षमता बराबर 126 वटा बिभिन्‍न जलविद्युत आयोजनाको लगानी सुनिश्‍चित भर्इ निर्माण कार्य अगाडि बढेको छ । 

गत बर्ष 5 मेगावाट क्षमताको सौर्य प्लान्ट सहित कुल 1350 मेगावाट क्षमताको विभिन्‍न 35 प्रवर्द्धकहरुसँग विद्युत खरिद सम्झौता भएको छ। हालसम्म स्वतन्त्र ऊर्जा उत्पादकहरुसंग 7758 मेगावाट क्षमता बराबरको कुल 392 वटा विद्युत खरिद सम्झौता भएको छ। 

ठ) अन्तर्देशीय विद्युत व्यापार  

नेपालको नदीहरुमा जल प्रवाह घटी विद्युत गृहहरुबाट निर्धारित परिमाणमा विद्युत उत्पादन हुन नसकेकोले उपभोक्ताहरुको विद्युतको माग पूर्ति गर्न थप विद्युत आयात गरिएको थियो। 

प्राधिकरण र भारतको राष्‍ट्रिय विद्युत व्यापार निगम एवम् प्राधिकरण र पिटिसि इन्डिया लिमिटेड बीच क्रमश:200 मेगावाट र ३०० मेगावाटसम्म विद्युत खरिद बिक्री गर्न सकिने गरी भएको सम्झौतालार्इ महत्वपूर्ण उपलब्धीको रुपमा लिइएको छ। 

प्राधिकरण र पावर ग्रीड कर्पोरेसन् र्इन्‍डीया लिमिटेड बीच समान स्व:पूँजी साझेदारीको अवधारणामा संयुक्त उपक्रम तथा साझेदारी सम्झौता  र कार्यान्वयन तथा प्रसारण सेवा सम्झौतामा हस्ताक्षर भएसँगै अन्तर्देशीय प्रसारण पूर्वाधारतर्फ न्यू बुटवल-गोरखपुर 400 के.भी. लाइन अन्तर्गत भारततर्फको प्रसारण लाइन निर्माण कार्य कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

हालसम्म नेपालले भारत सरकारबाट इन्डियन इनर्जि एक्स्चेञ्‍ज लिमिटेडको डे-अहेड बजारमा 452 मेगावाट विद्युत बिक्री गर्न सक्ने अनुमति प्राप्‍त गरेको छ भने थप परिमाण विद्युत बिक्रीको लागि सहमतिको चरणमा रहेको छ। 

बंगलादेशमा ४० मेगावाट विद्युत मध्यकालिनरुपमा निर्यात गर्न प्राधिकरण, राष्‍ट्रिय विद्युत व्यापार निगम (NVVN) भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (BPDB) बंगलादेश बीच त्रिपक्षीय सम्झौता गर्ने प्रकृया अन्तिम चरणमा पुगेको छ। यससँगै नेपाल उप क्षेत्रीय अन्तर्देशीय विद्युत व्यापारमा प्रवेश गर्ने छ। 

ड) भावि कार्यदिशाः

मुलुकलार्इ ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्ताहरुलार्इ नियमित, भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध गरार्इ स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत निर्यात गर्ने दिशातर्फ प्राधिकरण अघि बढिरहेको छ।

प्राधिकरणले आफ्नै तथा सहायक कम्पनी एवम् संयुक्त उपक्रमको कम्पनीहरु मार्फत जलविद्युत आयोजनाहरु निर्माण गर्ने कार्यलार्इ निरन्तरता दिर्इ  ठूला जलाशययुक्त तथा आकर्षक जलविद्युत आयोजनाहरु निर्माणमा केन्द्रित रहने छ। 635 मेगावटको दुधकोशी जलाशयक्त आयोजना, 1061 मेगावाटको माथिल्लो अरुण, 210 मेगावाटको चैनपुर-सेती, 99 मेगावाटको तामाकोशी-5 र 60 मेगावाटको तल्लो मोदी जलविद्युत आयोजनाको निर्माण कार्य प्राथमिकताको साथ अगाडि बढाइने छ। त्यस्तै 490.2 मेगावाटको अरुण-4 जलविद्युत आयोजना सतलज जलविद्युत निगम लिमिटेडसँग संयुक्तरुपमा निर्माण गर्ने कार्य अघि बढाइने छ। नेपाल र बंगलादेशको चौथो संयुक्त निर्देशक समितिको बैठकमा समझदारी भएअनुरुप निकट भविष्यमा 638 मेगावाटको सुनकोशी तेश्रो जलविद्युत आयोजना साझेदारीमा निर्माण गर्ने प्रकृया अघि बढाइने छ। 

उपलब्ध जलश्रोतको अधिकतम उपयोग गरी बर्षायाममा बढी विद्युत उत्पादन हुने गरी प्रवर्द्धकहरुले जलविद्युत आयोजनाहरुको डिजाइन गर्न सक्ने प्रावधान राखी नयाँ विद्युत खरिद सम्झौता नीति लागु गर्ने सम्बन्धमा आवश्‍यक अध्ययन गरी उपयुक्त व्यवस्था अवलम्बन गरिनेछ।

न्यू बुटवल-गोरखपुर 400 के.भी. अन्तर्देशीय प्रसारण लाइन निर्माण कार्यलार्इ तिव्रता दिइनेछ। 400 के.भी. अन्तर्देशीय प्रसारण लाइन आयोजनाहरुः र्इनरुवा-पुर्णिमा र दोदोधरा-बरेली सन् 2028/29 सम्ममा निर्माण सम्पन्‍न गर्ने गरी कार्यान्वयनमा लगिने छ। नेपालको रातमाटेदेखि चीनको केरुङ्ग जोड्ने उच्‍च भोल्टेजको प्रसारण लाइन निर्माण गर्न विशेष पहल गरिने छ। 

काठमाडौं उपत्यकाको ६ लाख ग्राहकको घरमा पूर्व जडित मिटरलार्इ स्मार्ट मिटरले प्रतिस्थापन गरी स्वचालित मिटरिङ्ग पूर्वाधार प्रणालीमा आवद्ध गर्ने कार्य छिट्टै शुरु गरिने छ। साथै मुलुकभरका ग्राहकको घरमा जडान भएका मिटरलार्इ क्रमश:स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कार्य अगाडि बढाइने छ।

नेपाल सरकारको लक्ष्य अनुसार आगामी 2 वर्ष भित्र मुलुकभर प्रत्येक नेपालीको घरदैलोमा विद्युतको पहुँच पुर्‍याउन वितरण प्रणाली विस्तार गर्ने कार्य उच्च प्राथमिकतामा राखी सम्पन्‍न गरिने छ। 

काठमाडौं लगायत मुख्य शहरहरुमा आगामी 30 बर्षको बढ्दो विद्युत मागलार्इ लक्षित गरी पर्याप्‍त प्रसारण तथा वितरण संरचनाहरु निर्माण गर्ने कार्यलार्इ प्राथमिकताका साथ अघि बढाइनेछ।उक्त कार्यबाट सन् 2050 सम्मको विद्युत माग धान्‍ने मात्र नभर्इ विद्युतको गुणस्तर बृद्धि तथा नियमित विद्युत आपूर्तिमा सहयोग पुग्नेछ । 

हुलाकी राजमार्ग हुँदै 400 के.भी. तथा 220 के.भी. बहुसर्किट प्रसारण लाइन आयोजनाको निर्माण गर्न आवश्यक प्रकृया अगाडि बढाइने छ। यसबाट मुलुकको विभिन्‍न औद्योगिक कोरीडोरहरु जोड्न, औद्योगिक क्षेत्रको विद्युत माग व्यवस्थापन गर्न र  भविष्‍यमा नेपाल-भारत सिमा क्षेत्रमा स्थापना हुने उद्योगहरुलार्इ पर्याप्‍त विद्युत उपलब्ध गराउन एवम् छिमेकी राष्‍ट्रहरुसँग अर्न्तदेशीय विद्युत व्यापार गर्नसमेत सहज हुनेछ। 

परम्परागत तथा खनिज ऊर्जालार्इ प्रतिस्थापन हुने गरी ग्राहस्थ, कृषि, उद्योग र पर्यटन क्षेत्रमा जलविद्युतको खपतमा व्यापक बृद्धि हुनेगरी आवश्यक कार्यक्रमहरु सञ्‍चालन गरिनेछ। 

विद्युतीय सवारी साधनको प्रवर्द्वन गर्न DC Fast Charging Technology मा आधारीत चार्जिङ्ग स्टेशन मुलुकको प्रमुख स्थानहरुमा जडान गर्ने कार्यलार्इ प्राथमिकताका साथ अगाडि बढाइने छ। साथै निजी क्षेत्रलार्इ समेत यस व्यवसायमा लगानी गर्न प्रोत्साहन गरिने छ।

सम्माननीय प्रधानमन्त्रीज्यूको हालैको भारत भ्रमणबाट आगामी 10 बर्षमा 10000 मेगावाट विद्युत भारत निर्यात गर्ने मार्ग तयार भएको छ। मौजुदा प्रसारण संरचनाहरु प्रयोग गरी नेपालबाट बंगलादेश विद्युत निर्यात गर्न सम्बद्ध निकायहरु प्राधिकरण, बंगलादेश विद्युत विकास बोर्ड र राष्‍ट्रिय विद्युत व्यापार निगम बीच त्रिपक्षीय सम्झौता छिट्टै सम्पन्‍न गरिने छ। 

प्राधिकरणको सहायक कम्पनीको रुपमा स्थापना भएको नेपाल विद्युत व्यापार कम्पनीमार्फत निकट भविष्यमा स्वदेशी र अन्तर्देशीय विद्युत व्यापार प्रारम्भ गरिनेछ । 

हरित हाइड्रोजन कार्यक्रम सम्वन्धी ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्यूट, कोरिया र काठमाडौ विश्व विद्यालयसँगको प्राविधिक सहयोगमा नेपालमा हरित हाइड्रोजन उत्पादन र परिप्रयोगका सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी कार्यान्वयनको चरणमा रहेको छ। हरित हार्इड्रोजन उत्पादन एवम् प्रवर्द्धनको लागि प्राधिकरणले विशेष पहलकदमी लिनेछ। 

नेपाल सरकारको डिजिटल नेपालको परिकल्पना अनुरुप प्राधिकरणका समग्र काम कारवाहीहरुलार्इ आधुनिकिकरण गर्न, सुरक्षित, संतुलित र स्तरीय सूचना प्रविधि पूर्वाधारको सुनिश्‍चित गर्न ने.वि.प्रा. सूचना प्रविधि नीति, 2023 कार्यान्वयन गरी डिजिटल प्राधिकरण निर्माणतर्फ केन्द्रित हुनेछ।

प्राधिकरणको तेश्रो आर्थिक पुनःसंरचना स्वीकृतिको चरणमा रहेकोले सो को स्वीकृति पश्‍चात प्राधिकरणले सर्वसाधारणमा शेयर जारी गरी थप पूर्वाधार निर्माणका लागि आवश्यक पूँजी व्यवस्थापन गर्न सक्ने छ।

प्राधिकरणको कार्यसम्पादनस्तर गुणात्मकरुपमा बृद्धि गरी प्रभावकारीरुपमा कार्य सञ्‍चालन गर्न कर्मचारीहरुको दक्षता, क्षमता र सीप अभिबृद्धि हुने विशेष तालिमहरु सञ्‍चालन गरी कर्मचारीलार्इ सो तालिममा सहभागी गराइने छ। 

गुणस्तरीय, भरपर्दो र सर्वसुलभ विद्युत आपूर्ति गरी उष्कृट सेवा प्रवाह गर्न सके मात्र प्राधिकरण प्रतिको विश्‍वसनियता बढ्ने र आर्थिक अवस्थामा समेत सुधार आउने भएकोले हाम्रा सम्पूर्ण प्रयासहरु त्यसतर्फ केन्द्रित हुनेछन्।

आभार

ऊर्जा क्षेत्रको समग्र विकास एवम् मुलकमा उपलब्ध अतिरिक्त ऊर्जा दिर्घकालिन रुपमा निर्यात गर्न अनुकुल वातावरण सृजना गरी स्पष्‍ट मार्ग निर्देशन गर्नु भएकोमा सर्वप्रथम सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड' ज्यूमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

प्राधिकरणलाई स्पष्‍ट दिशानिर्देश गरी सफल संस्थाको रुपमा विकास गर्न गतिशील नेतृत्व प्रदान गर्नुहुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवम् प्राधिकरण सञ्‍चालक समितिका अध्यक्ष माननीय श्री शक्ति बहादुर बस्नेतज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु। 

प्राधिकरणलाई निरन्तर मार्गनिर्देश गरी तोकिएका लक्ष्यहरु प्राप्‍त गर्न सहयोग गर्नु हुने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव श्री दिनेश कुमार घिमिरेज्यूप्रति हार्दिक आभार प्रकट गर्दछु।

प्राधिकरणको सफलताको लागि अनुकुल वातावरण तयार गरी सहयोग प्रदान गर्नु हुने निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिवज्यू प्रति आभार व्यक्त गर्दछु । 

संस्थाको कार्यकुशलता र प्रभावकारीता अभिवृद्धि हुने गरी आवश्यक नीतिगत निर्णय गर्नसमेत अमूल्य सहयोग र सुझाव प्रदान गरी सहयोग गर्नुहुने प्राधिकरण सञ्‍चालक समितिका सबै पदाधिकारीज्यूहरु प्रति आभार व्यक्त गर्दछु ।  

ऊर्जा क्षेत्रको विकासका लागि संरक्षकत्व प्रदान गर्दै निरन्तररुपमा आवश्यक सहयोग र समन्वय प्रदान गर्ने नेपाल सरकार, प्रदेश सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, अर्थ मन्त्रालय, वन तथा वातारण मन्त्रालय तथा अन्य मन्त्रालयहरु एवम् सम्बद्ध निकायहरु सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

हाम्रा नियमित काम कारबाहीहरुलाई अनुगमन, पुनरावलोकन र समर्थन गरी सहयोग गर्नुहुने संसदीय समिति, संबैधानिक निकाय र विद्युत नियमन आयोगप्रति हार्दिक आभार व्यक्त गर्दछु ।  

प्राधिकरणका विभिन्‍न काम कारबाहीहरुमा संलग्न भई सहयोग गर्नुहुने महालेखा परीक्षक,  लोकसेवा आयोग, महालेखा नियन्त्रक,स्थानीय तह, सार्वजनिक निकायहरु, बैंक तथा वित्तीय संस्था, नेपाल उद्योग बाणिज्य महासंघ,  नेपाल चेम्बर अफ कमर्स तथा उद्योग परिसंघ समेतलाई धन्यवाद दिन चाहन्छु। 

प्राधिकरणका अन्य सहायक कम्पनीहरुबाट प्रबर्द्धित विभिन्‍न आयोजनाहरुमा लगानी गरी देशको जलविद्युत विकासमा महत्वपूर्ण योगदान गर्ने नेपाल टेलिकम, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, जलविद्युत लगानी तथा विकास कम्पनी र राष्ट्रिय विमा संस्थानलाई विशेष धन्यवाद दिन चाहन्छु।

प्राधिकरणको क्षमता अभिवृद्धि र संस्थाबाट सञ्‍चालित विकास निर्माणका लागि ऋण तथा अनुदान सहयोग गर्नु हुने, विश्व बैंक, एसियाली विकास बैंक, युरोपियन ईन्भेष्‍टमेन्ट बैंक, एसियन ईन्फ्रास्ट्रक्चर ईन्भेष्‍टमेन्ट बैंक, जाईका, केएफडव्लु, ईन्डियन एक्जिम बैंक, चाईनिज एक्जिम बैंक, कोरियन एक्जिम बैंक, यूसएआडी, जिटिजेड, नर्वेजियन सहयोग निकाय लगायतका दातृ निकायहरुलार्ई विशेष धन्यवाद दिन चाहन्छु। 

प्राधिकरणले अघि सारेका विभिन्‍न आयोजनाहरु निर्धारित सयमभित्र सम्पन्‍न गर्न सहयोग गर्ने विभिन्‍न परामर्शदाता तथा निर्माण व्यवसायीहरुसमेतलार्इ धन्यवाद दिन चाहन्छु।

नेपालको जलविद्युत विकास गरी विद्युतमा आत्मनिर्भर बनाउन उल्लेखनीय योगदान गर्ने निजी क्षेत्रका प्रबर्द्धक एवम् स्वतन्त्र ऊर्जा उत्पादक संघप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।

नेपालको अतिरिक्त ऊर्जा भारतीय बजारमा बिक्री गर्न उल्लेखनिय सहयोग गर्ने एनटिपिसी विद्युत व्यापार निगम, पिटिसी इन्डिया र इन्डियन इनर्जि एक्स्चेन्ज लिमिटेडलाई धन्यवाद दिन चाहन्छु।

प्राधिकरणका नियमित काम कारबाहीहरुको यथार्थ सूचना सम्प्रेषण गरी सहयोग पुर्‍याउनु हुने सञ्‍चार गृह तथा पत्रकार मित्रहरुमा धन्यवाद दिन चाहन्छु।

प्रतिकुल परिस्थितिमा पनि उच्च मनोबलका साथ जिम्मेवारीपूर्वक प्राधिकरणका हरेक कार्यहरुमा एकताबद्ध भई संस्थाको लक्ष्य र उद्देश्य प्राप्‍तिका लागि समर्पित प्राधिकरणका आधिकारिक ट्रेड यूनियन, क्रियाशिल ट्रेड युनियनहरु एवम् सम्पूर्ण कर्मचारीहरुलार्इ विशेष धन्यवाद दिन चाहन्छु।

कठिन परिस्थितिमासमेत प्राधिकरणका हरेक गतिविधिमा निरन्तररुपमा सहयोग एवम् समर्थन गरी हामीलाई हौसला र प्रेरणा प्रदान गर्नुहुने आम जनता, उपभोक्ता एवम् विभिन्‍न व्यावसायिक संस्थाहरुप्रति विशेष आभार प्रकट गर्दै आगामी दिनमा गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भब प्रयास गरिने प्रतिबद्धतासमेत व्यक्त गर्दछु।

आवश्यक सुरक्षा र सतर्कताका बाबजुद गत वर्ष पनि विद्युतीय दुर्घटनाका कारण आफ्नो ज्यान गुमाउनु हुने प्राधिकरणका कर्मचारी तथा सर्वसाधारण प्रति हार्दिक समवेदना प्रकट गर्दै घार्इतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु। आगामी दिनहरुमा विद्युतीय दुर्घटना हुन नदिन थप सतर्कता अपनाइ प्रभावकारी सुरक्षा उपाय अवलम्वन गरिने विश्‍वास दिलाउन चाहन्छु। 

अन्त्यमा, नेपाल विद्युत प्राधिकरणको कार्यसम्पादन र उपलब्धिमा प्रत्यक्ष वा परोक्षरुपमा सहयोग गर्नुहुने सबैप्रति पुनः एकपटक हार्दिक आभार प्रकट गर्दछु। 

धन्यवाद !

कुलमान घिसिङ

कार्यकारी निर्देशक

नेपाल विद्युत प्राधिकरण।


मिति:२०८० भाद्र १ गते।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved