नेपालको बिद्युत बंगलादेशलाई बेच्न त्रिपक्षीय सम्झौताको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2024 | 12:02:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल-भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (Joint Steering Committee, JSC) को ११ औं बैठक सम्पन्न भएको छ । नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल तथा भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा शुक्रबार बैठक बसेको हो। 

उक्त बैठकले पौष १८ गते सम्पन्न भएको सहसचिवस्तरीय संयुक्त कार्यदल (Joint Working Group, JWG) को बैठकले गरेका सिफारिसहरुमा छलफल गरेको छ। उक्त बैठकमा नेपाल-भारत बीचको मौजुदा विद्युत प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरु, भारतीय लगानीका विभिन्न जलविद्युत आयोजनाहरु तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तर्देशीय विद्युत आयात-निर्यात लगायतका विषयहरुमा छलफल भई मुख्यतया देहाय बमोजिम सहमति भएको छ।

यस्ता छन् सहमति : 

१. ढल्केवर सवस्टेशनमा आवश्यक पूर्वाधार निर्माण भएपश्चात् हाल सञ्चालनमा रहेको पहिलो अन्तर्देशीय ढल्केबर- मुजफ्फरपुर ४०० किलोभोल्ट प्रसारण लाइनबाट हुने विद्युत आयात-निर्यातको परिमाण ८०० मेगावाटबाट भन्दा बढी पुयाउने सम्बन्धमा JTT मार्फत् अध्ययन गराउने ।

२. ढल्केबर-मुजफ्फरपुर र SJVN Arun-3 Power Development Company Pvt. Ltd. (SAPDC) द्वारा निर्माण भइरहेको ढल्केवर-सीतामढी ४०० किलोभोल्ट प्रसारण लाइनबाट आदान-प्रदान गर्न सकिने विद्युतको क्षमता निर्धारण सम्बन्धमा JTT मार्फत् अध्ययन गराउने ।

३. टनकपुर-महेन्द्रनगर १३२ किलोभोल्ट विद्युत प्रसारण लाइन वा अन्य उच्च भोल्टेज क्षमताका प्रसारण लाइनबाट थप विद्युत निर्यात गर्नका लागि सम्भाव्य विकल्पहरुबारे JTT मार्फत् अध्ययन गराउने ।

४. १३२ किलोभोल्ट तथा सो भन्दा कम क्षमताको विद्यमान प्रसारण लाइनबाट भारतको छिमेकी राज्यहरुको प्रसारण प्रणाली उपयोग गरी दुई देशबीच विद्युत आयात-निर्यात गर्ने सम्बन्धमा भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरण र भारतका अन्य निकायहरुको समन्वयमा तयार गरेको विद्युत आयात-निर्यात गर्ने सम्बन्धी विधि/प्रक्रिया (Modalities ) स्वीकृत गरियो । जसअनुसार नेपालले भारतको विहार तथा उत्तर प्रदेश राज्यस्तरीय प्रसारण प्रणाली (State Grid) प्रयोग गरी नेपाल-भारतबीच विद्युत आयात-निर्यात हुनेछ ।

५. नेपाल-भारत बीच इनरवा पुर्निया र न्यू लुम्की (दोदोधरा ) - बरेली ४०० किलोभोल्ट क्षमताका थप दुई वटा अन्तरदेशीय प्रसारण लाइनहरुको निर्माण कार्य क्रमशः सन् २०२७/२८ र २०२८ / २९ सम्ममा सम्पन्न गर्न लगानीको मोडालिटी टुङ्ग्याउन JWG लाई निर्देशन दिइयो ।

६. अन्तरदेशीय विद्युत प्रसारण लाईन मार्फत निर्यातको लागि १२०% सम्म क्षमता हुने गरी जलविद्युत आयोजनाहरुको स्वीकृति दिने । 

७. भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट विद्युत वंगलादेश निर्यात गर्न भारतको विद्युत आयात- निर्यात निर्देशिका बमोजिम नेपाल विद्युत प्राधिकरण, भारतको एनटिपिसी विद्युत व्यापार निगम र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डबीच छिटै त्रिपक्षीय सम्झौता गर्न सैद्धान्तिक पक्षहरुमा छलफल भयो ।

८. नेपाल र भारतबीच विद्युत आयात-निर्यात गर्न आवश्यक थप उच्च भोल्टेजस्तरका प्रसारण लाइनहरुको अध्ययन गर्न JTT लाई निर्देशन दिने।

यसअघि नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव नवीन राज सिंह तथा भारतको तर्फवाट विद्युत मन्त्रालयका सहसचिव डा. डी. साई बाबाको सहअध्यक्षतामा बसेको नेपाल-भारत ऊर्जा संयुक्त कार्यदल (Joint Working Group, JWG) को ११ औं बैठकले मौजुदा विद्युत प्रसारण लाइनहरु, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय प्रसारण लाइनहरु, भारतीय लगानीका विभिन्न जलविद्युत आयोजनाहरु तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तर्देशीय विद्युत आयात-निर्यात लगायतका विषयहरुमा आवश्यक छलफल गरी आवश्यक निर्णयका लागि ऊर्जा सचिवस्तरीय JSC लाई सिफारिस गरेको थियो ।

सन् २०१४ मा सम्पन्न नेपाल भारत विद्युत व्यापार सम्झौताको दफा ५ मा भएको व्यवस्था अनुसार उक्त सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण, निर्देशन एवं यस सम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न सचिवस्तरीय समिति (JSC ) तथा सहसचिवस्तरीय कार्यदल (JWG ) गठन गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved