उद्योगमा लाइन जोड्न कुलमानको आनाकानी, शुक्रबार र शनिबारको बिदा टार्ने ‘कसरत’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 07:05:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार विद्युत लाइन काटिएका उद्योगमा लाइन जोड्न आनाकानी गरेका छन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा डेडिकेटेड तथा ट्रंकलाइनको विवादित विद्युत महशुलबारे विवाद समाधान गर्न आयोग बनाउने र लाइन काटिएका उद्योगमा तत्काल लाइन जोड्ने निर्णय गरे पनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने लाइन नजोडेर आलटाल गरिरहेका हुन् । 

लाइन काटिएका २४ उद्योगमा लाइन जोड्न निर्देशन दिने मन्त्रिपरिषद्को निर्णय उर्जा मन्त्रालय हुँदै विद्युत प्राधिकरणमा पुगिसकेको छ । ऊर्जा मन्त्रालयले बिहीबार दिउँसो विद्युत् प्राधिकरणलाई लाइन जोडिदिन निर्देशन दिइसकेको मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले बताएका छन् । तर, विद्युत् प्राधिकरणले अहिलेसम्म लाइन जोडेको छैन ।

शुक्रबारको बिदा टार्ने कसरत

स्रोतका अनुसार अहिले विद्युत प्राधिकरणसँग माग अनुसार बिजुली दिन पुग्दैन । भारतबाट आयात गर्नुपर्छ । अहिले कुल माग ३१ हजार १५१ मेगावाट आवर छ। तर, प्राधिकरणको ६ हजार ५०८ मेगावाट आवर, सहायक कम्पनीबाट आउने ३ हजार ४५५ मेगावाट आवर र निजी क्षेत्रका आयोजनाबाट आउने १३ हजार ३१ मेगावाट आवर गरी कुल २२ हजार ९९४ मेगावाट आवर मात्रै बिजुली उत्पादन भइरहेको छ । प्राधिकरणले ७ हजार ७१७ मेगावाट आवर विद्युत आयात गरिरहेको छ । बिजुली आयात गरेर ल्याउँदा पनि माग अनुसार आपुर्ति गर्न नसकेर विद्युत खपत हुने क्षेत्रको लाइन काटेको छ ।

यस्तो अवस्थामा आजै लाइन जोड्न प्राधिकरणलाई हम्मे परेको बताइन्छ । त्यसमाथि आज कटाउन पाए शुक्रबार पृथ्वी जयन्तीको सार्वजनिक बिदा र शनिबार साप्ताहिक बिदा हुने भएकाले एकैपटक आइतबार मात्रै लाइन जोड्ने मनशायमा कुलमान देखिएको प्राधिकरणका अधिकारीहरु बताउँछन् । 

‘शुक्रबार र शनिबार मात्रै होइन, आइतबार पनि लाइन नजोड्न पाए सोमबार फेरि बिदा भएकाले एकैपटक मंगलबार मात्रै जोड्ने मनशाय देखिन्छ’ प्राधिकरण स्रोत भन्छ । 

यस विषयमा प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने मन्त्रिपरिषद्ले गरेको निर्णय हेरेर त्यसको विश्लेषण गरेपछि मात्रै लाइन जोडिने बताउँछन् । उनले सिँधै लाइन जोड्नु भनेको छ कि वा कुनै शर्त राखेको छ भनेर विश्लेषण गरेपछि मात्रै लाइन जोडिने बताए । 

‘तत्कालै जोड्दा हुने हो कि प्राधिकरणको सञ्चालक समितिबाट निर्णय गराएर जोड्ने हो भन्ने विषयमा विश्लेषण भइरहेको छ’ प्रवक्त भट्टराईले भने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved