हामीमा हाइड्रोको अपार सम्भावना छ, छिमेकीमा बजार छ: वरिष्ठ उपाध्यक्ष डाँगी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2024 | 05:47:57 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले देश विकास र समृद्धिको पहिलो आधार नै जलस्रोत रहेको बताएका छन्। आइतबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले देशका युवाहरु सबै पलायन भइरहेको अवस्थामा पहिलो प्राथमिकतामा जलस्रोतलाई राखेर अगाडि बढ्नुपर्ने आवश्यकत्ता औंल्याए । नेपालमा जलस्रोतका अपार सम्भावना रहेको र छिमेकी देश भारत र बंगलादेशमा बजार रहेको उनले बताए । 

‘भारतमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने भनेर सम्झौता भएको छ । बंगलादेशले ५ हजार मेगावाट विद्युत लाने इच्छा जाहेर गरेको छ ।’ उनले भने, ‘४० मेगावाट चाहीँ बंगलादेशलाई पनि सुरु गर्नका लागि त्रिदेशीय सम्झौता हुने क्रममा रहेको छ । हामीमा जलस्रोतको अपार सम्भावना छ र छिमेकीमा बजार छ ।’ 

सरकारले १० हजार मेगावाट भारतलाई बेच्ने, ५ हजार मेगावाट बंगलादेशलाई बेच्ने र १३ हजार ५ सय मेगावाट देशमै खपत गर्नेगरी योजना ल्याएको उनले बताए ।  उनले उक्त योजना कार्यान्वयन र विद्युत उत्पादन सम्भव छ त ? भन्ने प्रश्न अहिले खडा भएको बताए । उनले जलविद्युतको एक सय १३ वर्षको इतिहासमा २ हजार आठ सय ९२ मेगावाट विद्युत उत्पादन भइरहेको बताए । तर, सरकारले १२ वर्षमा २८ हजार ७ सय मेगवाट बनाउने भनेर योजना बनाएको उनले बताए । 

निजी क्षेत्रलाई नेपालको जलविद्युत क्षेत्रमा गरिएको लगानी सुरक्षित छ भन्ने सुनिश्चित गर्न सकेको खण्डमा यो सम्भव रहेको उनको भनाइ छ । उनले सरकारले सबैभन्दा पहिला वन मन्त्रालयका नीति र ऐनलाई विकासमैत्री बनाउन आवश्यक रहेको बताए । अहिले सबैभन्दा ठूला समस्या वनसँग सम्बन्धित कानुन रहेको उनको भनाइ छ । जलविद्युतको तालुकदार मन्त्रालय उर्जा मन्त्रालय भएको बताउँदै उनले सो मन्त्रालयमा सहसचिवको नेतृत्वमा सबै मन्त्रालयका अधिकृतहरु राखेर वान–डेस्क–सिस्टमको विकास गरेर काम गर्ने वातावरण बनाउनुपर्ने बताए । 

सरकारले निजी क्षेत्रलाई वातावरण बनाइदिएको खण्डमा लक्ष्य पूरा हुने उनको भनाइ छ । अहिले पिपिएको पर्खाइमा रहेका र पिपिए भएका आयोजना २२÷२३ हजार मेगावाट विद्युत आयोजना निजी क्षेत्रसँग रहेको बताए । उपयुक्त वातावरण बनेको खण्डमा ‘नेपालको पानी, समृद्धिको खानी’ भन्ने नारा यथार्थमा परिणत हुने उनले बताए । अन्य देशहरु पनि प्राकृतिक स्रोत साधनको प्रयोग गरेर नै धनी भएका उनले बताए । उनले नेपालले पनि जलस्रोतलाई अधिकतम् प्रयोग गर्नसक्नुपर्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved