पुष्पलाल राजमार्ग छेउ कहाँ कहाँ बन्दैछन् ‘गेमचेन्जर’ १२ आधुनिक शहर ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 11, 2021 | 01:07:14 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्यपहाडी (पुष्पलाल) लोकमार्गको धमाधम भईरहेको छ । चालु आर्थिक वर्षका लागि तय भएको लक्ष्य अनुसार ६ महिनामा १३.२३ मात्र भौतिक प्रगति भएपनि राष्ट्रिय गौरवको यो आयोजनाको काम रोकिएको छैन । चालु आर्थिक वर्षका लागि ८ अर्ब २७ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन भएको यो आयोजनामा हालसम्म १ अर्ब ७६ करोड ८५ लाख खर्च भएको छ ।

पूर्वको पाँचथर चिवाभञ्ज्याङदेखि सुदूरपश्चिमको बैतडीस्थित झुलाघाटसम्म धमाधम पुष्पलाल राजमार्ग निर्माण हुँदै छ । यो राजमार्गमा १२ वटा सुविधासम्पन्न आधुनिक शहर पनि निर्माण हुँदैछन् ।

गेम चेन्जर परियोजना

मध्यपहाडी राजमार्ग २४ जिल्ला छिचोल्दै १ हजार ७७६ मिटर लामो बन्नेछ । पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको विकल्पको रूपमा पहाडी क्षेत्रमा सहज यातायातको पहुँच विस्तार गर्न बन्दै गरेको यो राजगमार्गमा पहाडबाट हुने बसाइँसराइँ रोक्न आधुनिक शहर निर्माण लागिएको हो ।

मध्यपहाडी राजमार्गमा पर्ने क्षेत्रमा सुविधायुक्त शहर निर्माण गरेर गाउँबाट हुने बसाइँसराई रोक्न सकिने सरकारी अपेक्षा छ । सोही अनुसार सरकारले गत वर्षबाट यो परियोजनालाई ‘गेम चेन्जर’ परियोजना घोषणा गरेर काम अगाडि बढाएको छ ।

कहाँ–कहाँ बन्दैछन् नयाँ शहर ?

पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, प्युठानको भिंग्री, रुकुमको चौरजहारी, सुर्खेतको भेरिगंगा, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनमा सरकारले आधुनिक सुविधायुक्त शहर बनाउने भएको हो । यीमध्ये प्युठानको भिंग्री र सुर्खेतको भेरिगंगा पछि थपिएका परियोजना हुन् । 

नयाँ बन्ने आधुनिक शहरमा कम्तीमा १ लाख मानिस बसोबास गर्न क्षमतासहितका पूर्वाधार बन्नेछन् । शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयका अनुसार सबै परियोजनामा फरक फरक व्यक्तिलाई परियोजना प्रमुख तोकेर काम भईरहेको छ । 

यसअघिः 
१३ स्मार्ट सिटीको ‘मास्टर प्लान’ बन्यो, कहाँ कहाँ बन्दैछन् आधुनिक शहर ?

‘स्थानीय स्तरमै उद्यमशीलता र रोजगारी सिर्जना गर्ने गरी नयाँ शहरको परिकल्ना गरिएको हो’ नयाँ शहर आयोजना समन्वय कार्यालयका एक अधिकारीले भने, ‘शहर बनाएर बसोबास मात्रै सुविधायुक्त हुने होइन, रोजगारी र उद्यमशील बन्ने अवसर पनि स्थानीय स्तरमै पाउने गरी शहरको विकास गरिँदैछ ।’

प्रस्तावित ती नयाँ शहरको एकीकृत विकास योजना (आईडीपी) तयार गरेर पूर्वाधार निर्माण र ल्यान्डपुलिङको काम सुरु भइसकेको छ । अहिले आधुनिक शहर बनेर बनाईने र २०९० सालसम्म  आवश्यकताअनुसार सुविधा थप्दै आधुनिक सुविधासम्पन्न नयाँ शहर बनाउने लक्ष्य छ ।

नयाँ शहर निर्माणको उद्देश्य के ?

सरकारले मुख्य गरी बसाईसराइ रोक्नकै लागि यो योजना अघि सारेको हो । मानिसहरु सुविधा खोज्दै शहर तथा तराई केन्द्रित बसाई सर्न थालेपछि शहरको सुविधा गाउँमै उपलब्ध गराएर बसाइँसराइ रोक्न नयाँ शहरको परिकल्पना गरिएको हो । 

‘शहरीकरणलाई व्यवस्थित गरी नयाँ बन्ने हरेक शहरलाई त्यस वरपरको केन्द्रको रुपमा विकास गर्ने लक्ष्य छ’ शहरी विकास मन्त्रालयले भन्यो, ‘शहर केन्द्रित बसाइँसराइलाई नियन्त्रण गर्न पहाडी भेगमा व्यवस्थित शहरको आवश्यता महशुस भएपछि यो परियोजना जन्मिएको हो ।’

नयाँ शहरको लागि आवश्यक पूर्वाधार निर्माण गर्न चाहिने जग्गा आवश्यकता अनुसार हरेक वर्ष प्राप्ती गर्दै जाने र शहरी विकासका प्रचलित तरिका अपनाएर जग्गा र बस्तीको विकास गरिने तयारी छ ।

नयाँ शहरका सुविधा

निर्माणाधीन सबै नयाँ शहरमा आवश्यक सबै पूर्वाधार तयार गरिने छ । चौडा सडक, खानेपानी, अस्पताल, स्कुल/कलेज, खेलकुद मैदान, मनोरञ्जन पार्क, बसपार्क, आधुनिक बस्ती, हाट बजार, औद्योगिक क्षेत्र लगायत पूर्वाधार विकास गरिने छ । शहरमा इन्टरनेट र यातायातको सुविधा पनि हुनेछ ।

पहिलो चरणमा अहिले हरेक प्रस्तावित नयाँ शहरमा सडक सञ्जाल विस्तारले तीव्रता पाएको छ । ती नयाँ शहरलाई गाउँसम्म जोड्न पक्की, गाभ्रेल र कच्ची सडक निर्माण भइरहेका छन् । नयाँ शहरमा पहिला पूर्वाधार विकास गरेर बस्ती बसाल्ने योजना छ । 

हरेक शहरमा व्यवस्थित बस्ती विकासका लागि ४ देखि ८ सय रोपनीसम्म ल्यान्डपुलिङ हुनेछ । कतिपयमा भने ल्यान्डपुलिङको काम सुरु पनि भइसकेको छ । 

बजेट कति ?

नयाँ शहरलाई सरकारले गेम चेन्जर परियोजना भनेपनि प्राथमिकतामा राखेर बजेट भने विनियोजन गरेको छैन । १० वटा शहरबाट सुरु भएको परियोजना अहिले हिमाल, पहाड र तराईमा गरी ४५ वटा पुगिसके ।

ट्रान्स हिमालय क्षेत्रमा ५ शहरको अध्ययन हुँदैछ । सरकारले ४० वटा यस्ता शहरका लागि २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अहिले कोरोना भाइरसका कारण काम गर्न केही कठिनाई भएको परियोजनाका प्रमुखहरुको गुनासो छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved