धितोपत्र बोर्डले देख्यो अनलाइन कारोबारमा डरलाग्दो अभ्यास, भन्यो- नेप्सेको प्रणाली जोखिममा छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2023 | 11:39:24 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर बजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डको एक अध्ययनले शेयर कारोबारको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ।  नेपाल स्टक एक्सचेन्जले संचालन गरिरहेको अनलाइन कारोबार प्रणाली तेस्रो पक्षको अधिनमा रहेकाले नेपालको शेयर कारोबारको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको अध्ययन समितिले धितोपत्र बोर्डलाई पेश गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।  

धितोपत्र बोर्डले शेयर बजार सञ्चालन क्षमताको मूल्यांकन गर्न, प्रयोगमा रहेका प्राविधिक पूर्वाधार, प्रणाली तथा मानव संसाधन लगायतका विषयको अध्ययन गर्न गत असोजमा बनाएको अध्ययन समितिले मङ्सिर २५ गते धितोपत्र बोर्डलाई बुझाएको प्रतिवेदनमा भनिएको छ, "कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) र धितोपत्र बजारको विद्युतीय कारोबार प्रणाली (नोट्स) को संचालन तथा मर्मर सम्भार सम्बन्धि कार्य एउटई  सेवा प्रदायक कम्पनी मार्फत भईरहेको देखिएको। यसबाट प्रचलित नियमको परिपालना नभएको र स्वार्थको द्वन्द उत्पन्न भई कारोबारको विश्वसनीयतामा शंका उत्पन्न भएको।"

धितोपत्र बोर्डको उक्त अध्ययन समितिको प्रतिवेदनले स्पष्ट रुपमा वाइको कम्पनीमा तेस्रो पक्षको प्रवेश भएको र तेस्रो पक्षका कर्मचारीहरुले प्रणालीमा छेडछाड गरेको उल्लेख गरेको छ। तर तेस्रो पक्ष को हो भन्ने खुलाएको छैन। 

धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) र धितोपत्र बजारको विद्युतीय कारोबार प्रणाली (नोट्स) को बिक्रि तथा संचालन तथा मर्मर सम्भार सम्बन्धि कार्य वाइको सोलुसनले गर्दै आएको छ। वाईको सोलुसनमा अहिले आइएमई समुहको ८० प्रतिशत शेयर स्वामित्व  रहेको बिजपाटीले प्राप्त गरेको प्रमाणमा उल्लेख छ।  

शेयर बजारमा सुचिकृत दर्जन कम्पनीमा निर्णायक शेयर स्वामित्व भएको तथा शेयर लगानीकर्ताहरुको समुह आइएमई समुहको ८० प्रतिशत शेयर स्वामित्व अर्थात होल्डिंङ नै वाईको सोलुसन्समा रहनुले यसको भूमिकामाथि शंका उत्पन्न भएको प्रतिवेदनमा उल्लेख छ। 

अध्ययन समितिले मङ्सिर २५ गते धितोपत्र बोर्डलाई बुझाएको प्रतिवेदन

यो कम्पनीले नेप्सेले सञ्चालनमा ल्याएको डाटा सेन्टरका फायरवाल, डाटा बेस र एक्टिभ डाइरेक्टोरीजस्ता महत्वपूर्ण प्रणालीमा सहज पहुँच पाएको भन्दै प्रतिवेदनले प्रश्न उठाएको हो। वाईको सोलुसन्सले समग्र शेयर व्यवस्थापन तथा कारोबार प्रणालीमा कति समय पहुँच पाएको छ भन्ने विषय नेप्सेको अधिनमा नरहेको पाइएकाले शेयर कारोबारको विश्वसनीयतामाथि शंका गर्ने ठाउँ पर्याप्त रहेको प्रतिवेदनमा उल्लेख छ। 

वाईकोका कर्मचारीद्वारा नेप्सेको प्रणालीमा गरिएको परिवर्तन थाहा हुने अवस्था नरहेकाले नेपाल स्टक एक्सचेन्जले संचालनमा रहेको अनलाइन कारोबार प्रणालीमाथि नै बिश्वास गर्न नसकिने प्रतिवेदनमा औंल्याइएको छ।

शेयर बजारमा प्रत्यक्ष सरोकार राख्ने आइएमई समुहको लगानीको कम्पनीले  शेयर कारोबारको प्रणालीमा निर्वाध पहुँच पाउँदा निश्चित कम्पनीको शेयरको मूल्य, माग संख्या आदिमा चलखेलको जोखिम हुने र बजारलाई आफ्नो स्वार्थअनुसार प्रभावित गर्न सक्ने उक्त प्रतिवेदनको मुख्य सार छ। 

शेयर बजारको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सेवा अहिले पनि वाईको सोलुसन्सले नै दिँदै आएको छ। ब्रोकर कम्पनी र शेयर बजारमा किनबेच गर्ने ग्राहकलाई यो प्रणालीले जोड्छ। यही प्रणालीमार्फत ग्राहकले शेयर किनबेच गर्छन्। धितोपत्र बजारको विद्युतीय कारोबार प्रणाली अर्थात् मुख्य प्रणाली र ब्रोकरको कारोबार व्यवस्थापन प्रणाली गरी दुई थरी सेवा एकै कम्पनीले दिँदा स्वार्थको द्वन्द्व उत्पन्न भई कारोबारको विश्वसनीयतामा शंका उत्पन्न भएको धितोपत्र बोर्डको प्रतिवेदनले औंल्याएको हो। 

"धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को विनियम २१ (ख) को उपविनियम (४) विपरीत एकै सेवा प्रदायकले दुई थरी सेवा दिइरहेको पाइएको छ" धितोपत्र बोर्डका सूचना प्रविधि विज्ञ सरोज लामिछानेको संयोजकत्व तथा बोर्डका निर्देशकद्वय रेवत श्रेष्ठ र सानु खड्का तथा सहायक निर्देशकद्वय यमनाथ अर्याल र रविन्द्रदेव भट्ट सम्मिलित अध्ययन समितिले बोर्डलाई बुझाएको प्रतिवेदनमा भनिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved