
अन्तराष्ट्रिय कमोडिटी बजारलाई देशहरुबीच हुने युद्धले निकै ठूलो असर पार्छ । रुस–युक्रेन युद्ध होस् वा प्यालेस्टिन–इजरालय युद्ध नै किन नहोस्, कमोडिटी बजारबाट अन्तराष्ट्रिय ब्यापार हुने वस्तुको भाउ बढेको छ । खासगरि सुन र पेट्रोलियम पदार्थको मूल्य अचाक्ली बढ्ने गरेको छ ।
अहिले पुनः इजरायल र इरानबीच द्वन्दको खतरा बढेको छ । इरानले इजरायलमाथि ड्रोनबाट हमला सुरु गरिसकेको छ । इजरायल पनि अमेरिका र बेलायत जस्ता देशको सहयोग लिएर बसेको छ, जुनसुकै बेला उसले प्रत्युत्तर दिन सक्छ । रुस–युक्रेन युद्ध र प्यालेस्टिन–इजरालय युद्धका कारण अचाक्ली बढिरहेको सुनको भाउ अब इजरायल र इरानबीच द्वन्द चर्किएपछि पुनः बढ्ने अनुमान गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियशरत्न शाक्यका अनुसार आज थोरै घटेर प्रतितोला १ लाख ३६ हजार ८ सयमा झरे पनि हिजो रातीबाट हानाहानमा परिणत भएको इजरायल र इरानबीचको द्वन्दले अब भोलीबाटै सुनको भाउ बढ्न सक्नेछ ।
‘वार हुनासाथ सुनको भाउ बढ्ने नै हो, किनभने वार भएका बेला उद्योग व्यवसाय र सेयर बजारमा मान्छेले लगानी गर्दैनन्, उनीहरुले सुनमा गरेको लगानीलाई सुरक्षित महशुस गर्छन्’ शाक्य भन्छन्, ‘यसकारण अब इराकले आक्रमण गरेपछि इजरायलले पनि त्यसको उत्तर देला, यसअघि भएका विभिन्न वारहरुका कारण बढेको सुनको भाउ इराक इजरायलको युद्धले झन बढाउने देखिन्छ ।’
उनका अनुसार अबको केही दिनमै सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँसम्म पुग्ने अनुमान गर्न सकिन्छ ।
‘अहिले पनि वारले नै सुनको भाउ बढाएको हो, अब इजरायल र इराकबीचको द्वन्दले ठूलो रुप लियो भने केही दिनमै सुनको भाउ तोलाकै १ लाख ५० हजार पुग्छ’ उपाध्यक्ष शाक्य भन्छन्, ‘आणविक वार हुनु भनेकै कमोडिटीहरुको भाउ बढ्नु हो, यसले मुख्यगरि पेट्रोलियम पदार्थ र सुनको भाउ बढ्छ । पेट्रोलियम पदार्थको भाउ बढ्नासाथ संसारभरी महँगी बढ्छ ।’
उनले सुन र पेट्रोलियम पदार्थको भाउ बढ्दा संसारभरी नै सेयरको भाउ ‘डाउन’ हुने र युद्ध चर्किदै जाँदा अन्तराष्ट्रिय कमोडिटी बजार प्रभावित हुनु भएको समेत बताए । ‘संकेत डरलाग्दो देखिएको छ’ उनले भने ।