चीनका कारण डण्डीको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2021 | 10:36:45 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनका कारण फलामे डण्डीको भाउ बढेको छ । विश्वकै सबैभन्दा ठूलो सप्लायर्स मूलुक चीनले अहिले आएर फलामे डण्डी उत्पादनमा प्रयोग हुने बिलेट निर्यात नगरी आफैँ सञ्चित गर्न लागेका कारण विश्व बजारमा फलामे डण्डीको भाउ बढेको उद्योगीहरुले बताउन थालेका छन् ।

स्टिल उत्पादनको मुख्य कच्चा पदार्थकै अभाव हुन थालेपछि स्वभाविक रुपमा मूल्य बढ्ने र त्यसको असर तयारी स्टिलमा देखिएको उद्योगीहरुको भनाई छ । 

कारण के ?

विश्वकै सबैभन्दा ठूलो सप्लायर्स भएर पनि चीन किन बिलेटको सञ्चितिमा लागेको छ भन्ने अझै खुलेको छैन । तर, नेपालसहित भारतलगायत देशका व्यापारी र उद्योगीहरुले भने कोरोना भाइरसको अवधिमा उत्पादन नभएका कारण अहिले चीन भएका जति सबै उत्पादन आफैँ सुरक्षित गर्न लागेको हुन सक्ने लख काटेका छन् ।

‘चाइना संसारकै सबैभन्दा ठूलो सप्लायर्स हो’ नेपालको प्रतिष्ठित स्टिल उद्योगका सञ्चालक भन्छन्, ‘तर, अहिले चाइना आफैँ बिलेट सुरक्षित गर्न लागेको छ । आफूसँग भएको नबेच्ने मात्रै नभई अरु देशबाट समेत किनेर थुपारिरहेको छ । यसको असर संसार भरी नै देखिएको छ ।’

कोरोनाका कारण रोकिएका आफ्ना विकास आयोजनाहरु सम्पन्न गर्नुपर्ने चूनौती रहेकाले चीनले यो रणनीति अपनाएको हुन सक्ने अनुमान गर्न थालिएको छ । 

कति पुग्यो मूल्य ?

अहिले नेपालका सबैजसो स्टिल उद्योगले भारतबाट बिलेट आयात गर्दै आएका छन् । अहिले भारतमा स्टिल बिलेटको मूल्य प्रतिटन ५३ हजार ६ सय नेपाली रुपैयाँ छ । यसको आधारमा हिसाब गर्दा प्रतिकिलो ८८ देखि ९१ रुपैयाँसम्म पर्न जाने भएकाले डण्डीको भाउ पनि बढेको छ ।

अहिले भारतमा बढेको मूल्य अनुसारको बिलेट आईपुग्न अझै १५ दिन लाग्छ । तर, नेपालका उद्योगीहरुले पहिल्यै आफूसँग भएको स्टकको पनि नयाँ मूल्य अनुसार हिसाब गर्दै डण्डीको भाउ बढाएको निर्माण व्यवसायीहरुको आरोप छ ।

चीनले बनाउने संरचनामा फलामै फलाम

चीनले आफ्नो देश होस् वा चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएका अन्य देशका संरचना हुन् ती सबैमा फलामको प्रयोग अधिक मात्रामा हुने गरेको छ । विश्वका ३ ठूला जलविद्युत परियोजनामध्ये २ वटा चीनले बनाएका छन् ।

नेपालमा पनि चिनियाँ ठेकेदारले बनाएका भौतिक संरचनामा स्टिलको प्रयोग बढी छ । पोखरा र भैरहवा विमानस्थलमा ७० प्रतिशत बढी स्टिल प्रयोग भएको अनुमान गरिन्छ । यसबारे निर्माण सम्पन्न भएपछि ठेकेदार कम्पनीले आधिकारिक रुपमा कति स्टिल प्रयोग भएको छ भन्नेबारे जानकारी उपलब्ध गराउने भएपनि हाल चीनबाट आयात भएका निर्माण सामग्री हेर्दा ७० प्रतिशतभन्दा बढी फलाम प्रयोग भएको अनुमान गर्न सकिने अनुभवी निर्माण व्यवसायीहरु बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved