नेपालको एकमात्र मौसमी जलाशययुक्त विद्युतकेन्द्र कुलेखानी (इन्द्रसरोवर) जलाशय भरिएर पानी पोखिन थालेको छ। कुलेखानीमा आइतबार रातिको पानीको लेभल १५३० मिटर पुगेको हो । यो कुलेखानीको उच्चतम क्षमता हो ।
नेपाल विद्युत प्राधिकरणका निर्देशन मदन तिम्सिनाका अनुसार ७ वर्षपछि पहिलोपटक यो १५३०.०० मीटर लेभेल पुगेको हो। यस अघि २०७१ सालमा पनि लेभल १५३० मिटर पुगेको उनले बताए ।
गत असार मै पनि कुलेखानी भरिने अनुमान गरिएको थियो । कुलेखानीमा पानीको सतह असार १६ गते बिहान ८ बजे १५०३.४१ मिटर, १६ गते बिहान ६ बजे १५१०.६६ मिटर, १८ गते बेलुका ८ बजे १५१२.६१ मिटर र असार १९ गते दिउँसो १ बजे १५१८.३५ मापन गरिएको थियो । कुलेखानीमा जलस्तरको उप्पलो क्षमता १५३० मिटर हो ।
कुलेखानी प्राधिकरणले संचालन गरिरहेको एकमात्र जलाशययुक्त विद्युत आयोजना हो । जसमा रहेका पहिलो, दोस्रो र तेस्रो तीनवटा क्यासकेड पावरहाउसबाट कुल १०६ मेवा विद्युत उत्पादन हुन्छ ।
सो जलाशयलाई अपर रिजर्भोयरको रुपमा प्रयोग गर्ने गरि १०० मेवा क्षमताको पम्ड स्टोरेज प्रोजेक्ट र १० मेवाको फ्लोटिङ सोलार प्रोजेक्टको विकास गर्न पनि सम्भाव्यता अध्ययन गरिरहेको छ।