भारतबाट गहुँ आउन थाल्यो, तर उद्योगी खुशी छैनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2023 | 10:51:54 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले दिएको कोटा अनुसार मैदा उद्योगहरुले भारतबाट गहुँको आयात सुरु गरेका छन् । वाणिज्य मन्त्रालयले २४ उद्योगलाई आफैँले गहुँ ल्याउन पाउने गरी कोटा वितरण गरेअनुसार उद्योगहरुले भारतबाट गहुँ ल्याउन सुरु गरेका हुन् । 

मैदा उद्योग संघका महासचिव राधेश्याम अग्रवालले कोटा पाएका २४ उद्योगहरुले आफूले पाएको कोटा अनुसार गहुँको आयात सुरु गरेको जानकारी दिए । उनका अनुसार कोटा नपाएका करिब १८ वटा मैदा मिल भने बन्द अवस्थामा छन् । 

कोटा पाएका २४ उद्योगहरुले एक हप्ताभित्र कोटा अनुसारको गहुँ ल्याइसक्ने छन् । तर, भारतले दिने भनेको ५० हजार मेट्रिक टन गहुँमध्ये सरकारले २४ वटा मैदा उद्योगलाई ३० हजार ४८९ मेट्रिक टन गहुँ आयातका लागि सिफारिस गरिदिएकाले यो गहुँले पनि बजारमा मैदा तथा आँटाको मागमा ठूलो योगदान दिन नसक्ने अग्रवालको दाबी छ । यद्यपी, १५ देखि २० दिनलाई पुग्ने पिठो उत्पादन हुने भएकाले करिब २ हप्तालाई सहज हुने उनको अनुमान छ ।

‘१५÷२० दिनलाई पुग्ने हो, त्यसपछि फेरि के गर्ने भन्ने प्लान छैन’ अग्रवाल थप्छन्, ‘अहिले नै कोटा नपाएका मिलहरु बन्द भइसकेका छन्, थप आयात नहुने हो भने अहिले आयातको कोटा पाएका मिलहरु पनि बन्द हुन्छन् ।

सँगै, उद्योगीहरुले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई थप २ लाख मेट्रिक टन गहुँ आयातको लागि भारतसँग पहल गरिदिन अनुरोध गरेका छन् । उद्योगीहरुको अनुरोधमा मन्त्रालयका अधिकारीहरुले पहल गर्ने आश्वासन दिएका छन् ।

‘हामीले थप २ लाख मेट्रिक टनका लागि पहल गरिदिन अनुरोध गरेका छौँ, वाणिज्य मन्त्रालयले पहल गर्छौ भन्ने आश्वासन दिएको छ’ उद्योगी अग्रवाल भन्छन्, ‘भारत सरकार नेपाललाई थप २ लाख मेट्रिक टन गहुँ दिन तयार नै छ, नेपालले औपचारिक कुटनीतिक पहल गरिदिए मात्रै पुग्छ ।’

्यद्यपी, भारत सरकारले भने गहुँको निकासीमा बन्देज लगाएको छ । नेपालको लागि भने भारतले आउँदो मार्च ३१ सम्म ५० हजार मेट्रिक टन गहुँ निकासी गर्ने जनाएको थियो । यस विषमयमा पौष ८ गते शुक्रबार भारतीय वैदेशिक व्यापार महानिर्देशनालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई चिठी नै पठाएको थियो ।

नेपालमा बैशाख पहिलो हप्ता नभई आन्तरिक उत्पादनको गहुँ बजारमा नआउने भएकाले त्यतिबेला सम्मका लागि भारतबाटै आयात गर्नुपर्ने बाध्यता रहेको उद्योगीहरु बताउँछन् । 

नेपालमा वार्षिक १० लाख मेट्रिक टन मैदा खपत हुन्छ । एक बोरामा ५० किलो हुन्छ । नेपालमा स्वदेशी उत्पादनको गहुँले जम्मा ४० प्रतिशत मात्रै माग पूरा गर्दै आएको छ । अपुग हुने ६० प्रतिशत अर्थात् ६ लाख मेट्रिक टन मैदाका लागि भारतबाट गहुँ आयात गर्नुपर्ने बाध्यता छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved