भारतले बिजुली नदिँदा बिराटनगर आसपासका उद्योगहरुको 'हरि बिजोग', लोडसेडिंग घोषणाको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2024 | 11:10:41 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले पूर्व सहमति अनुसारको परिमाण घटाएर विद्युत दिने गरि सम्झौता नवीकरण गरेपछि अहिले नेपालका उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । यसअघि दैनिक ६८१ मेगावाटसम्म विद्युत आयात हुँदै आएकोमा आइतबार (चैत १८ गते)देखि भारतले ५५४ मेगावाट मात्रै दिन थालेको छ । 

यो ५५४ मेगावाट विद्युत नेपालले दिनमा जुनसुकै बेला आयात गर्न पाउनुपर्ने भए पनि भारतले दिउँसो मात्रै पठाउँदा रातीको समयको विद्युत माग पूरा गर्न कठिनाइ भएको छ । जसका कारण हरेक दिन साँझ पर्नासाथ बिहान ११ बजेसम्म उद्योगहरु चल्न नसक्ने अवस्था सिर्जना भएको छ ।

उद्योगीहरुका अनुसार यसअघि नै दैनिक ८ देखि १० घण्टा अघोषित रुपमा रहेको लोडसेडिङ बढेर अहिले दैनिक १५ घण्टासम्म पुगेको छ । बाँकी अवधि पनि कम क्षमताको विद्युत मात्र सप्लाई हुँदा उद्योग चल्नै नसक्ने अवस्थामा पुगेका छन् । विशेषगरि ढल्केबर मुजफ्फपुर ४०० के.भी.को प्रशारण लाइनबाट विद्युत आयात गरेर वितरण गरिने क्षेत्रका उद्योगहरु अहिले बढी मर्कामा परेका छन् । 

बिराटनगरका एक उद्योगका अनुसार राती १२ बजेदेखि भोलीपल्ट मध्यान्ह १२ बजेसम्म ६००० किलोवाट क्षमताको विद्युत, दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म ४५०० किलोवाट क्षमताको विद्युत र बेलुका ६ बजेदेखि बिहान ७ बजेसम्म ८०० किलोवाट क्षमताको विद्युत उपलब्ध भइरहेको छ । जबकी, ८००  किलोवाट क्षमताको विद्युतमा उद्योग चल्नै नसक्ने र त्योबेला घरमा बत्तीका रुपमा बाल्न मात्रै प्रयोग हुने बिजुली आउने भएकाले अहिले रातीमा उद्योग चलाउन नसकिने अवस्था रहेको छ ।

वीरगञ्जका उद्योगी अशोक टेमानीका अनुसार कम क्षमतामा विद्युत आपूर्ति हुँदा भोल्टेज ट्रिपिङको समस्याले गर्दा मेशिन औजारहरु बिग्रने र उद्योगमा घान हालेको कच्चा पदार्थसमेत खेर जाने गरेको छ । यसले आफूहरुको उत्पादन लागत बढाएको उनको भनाइए छ । निरन्तर विद्युत आपुर्ति नहुँदा डिजेलबाट चल्ने जेनेरेटरको व्यवस्था गर्नुपरेको भन्दै उद्योगी टेमानीले जेनेरेटर बिना उद्योग चलाउने कुरा कल्पना नै गर्न नसकिने अवस्था रहेको बताए । 

‘अहिले शत् प्रतिशत उद्योगमा जेनेरेटर छ, जेनेरेटर नराखी उद्योग चलाउने कुरा कल्पनै गर्न सकिँदैन’ उनले भने, ‘बिजुलीको सट्टा डिजेलबाट जेनेरेटर चलाउँदा बिजुलीको तुलनामा ३ गुणा महँगो पर्न जान्छ ।’

लोडसेडिङ घोषणा गर्न माग

भारतबाट पयाप्त बिजुली नआउने, भारतले दिएको समयमा मात्रै लिनुपर्ने र नेपालमा आवश्यक हुने समयमा लिन नपाइने भएपछि उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणलाई किस्ता किस्तामा विद्युत नकाट्न आग्रह गरेका छन् । बिहान र बेलुका गरेर विद्युत काट्नुभन्दा एकैपटक ८–१० घण्टा विद्युत काटेर बाँकी समय निरन्तर विद्युत उपलब्ध गराउन उद्योगीहरुको माग छ ।

यसअघि पनि बिहान, दिउँसो र बेलुका गरेर लोडसेडिङ गरिएकाले उद्योगहरुमा धेरै समस्या आएको भन्दै बुटवल भैरहवा करिडोरका स्टिल, खाद्यान्न लगायतका १४ वटा उद्योगहरुले अहिलेको अवस्थाबारे स्पष्ट पारेर समाधान दिन गत माघ २४ गते विद्युत प्राधिकरणलाई पत्र नै पठाएका थिए । पत्रमा दैनिक बिहान र बेलुका चार चार घण्टाका दरले लाइन काटिने गरेकाले यसलाई एकैपटक ८ घण्टा कटौती गरेर बाँकी समय नियमित विद्युत आपुर्तिको वातावरण मिलाउन माग गरिएको छ । 

साथै, अहिले बिहान र बेलुका निश्चित समय नै किटान गरेर विद्युत काटिने गरेकाले यो लोडसेडिङ हो वा होइन प्रष्ट पार्न प्राधिकरणलाई उद्योगीहरुले अनुरोध गरेका छन् । यदि लोडसेडिङ हो भने तालिका दिन र होइन भने विद्युत काटिनुको प्रष्ट कारण खुलाइदिन आग्रह गरिएको एक उद्योगीले बताए । तर, प्राधिकरणले अहिलेसम्म यसबारे कुनै पनि ठोस जवाफ दिएको छैन ।

अघोषित रुपमा लोडसेडिङ हुँदा एकातर्फ भएका श्रमिकको व्यवस्थापन गर्न मात्रै नभई गुणस्तरीय वस्तु उत्पादनमा समेत कठिनाई भईरहेको उद्योगीको गुनासो छ । बिहान र बेलुका चार चार घण्टाका दरले बत्ती काटिँदा लाइन काटिएको समयमा श्रमिकलाई के गर्ने भन्ने अन्यौल सिर्जना भएको र यसले मेशिन पनि निरन्तर नचल्दा उत्पादनको गुणस्तरमा असर परेको उद्योगीको भनाइ छ ।

तर, विद्युत प्राधिकरणले भने पूर्वी क्षेत्रमा यो खालको समस्या रहेको स्वीकार गरे पनि लोडसेडिङ नै हो भनेर स्वीकार भने गरेको छैन । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले देशका पूर्वी क्षेत्रमा रहेका उद्योगहरुमा विद्युत् आपूर्तिमा केही समस्या रहे पनि यो लोडसेडिङ भने नभएको दाबी गरेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved