मारुती सिमेन्टको आईपीओ मूल्यमा मिलोमतोको आरोप, के हो वास्तविकता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2024 | 04:19:35 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमीयममा आईपीओ निष्काशन गर्न लागेको मारुती सिमेन्टस् लिमिटेडको प्रस्तावित सेयर मूल्य रातारात बढाइएको चर्चा सुरु भएको छ । पुस २६ गते कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएपछि बोर्डले प्रकाशित गरेको आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरुको सूचीमा मारुती सिमेन्टस्को मूल्य प्रिमीयमसहित २७७ रुपैयाँ उल्लेख थियो ।

बोर्डले २०२४ जनवरी २६ अर्थात् माघ १२ गते प्रकाशित गरेको आईपीआको पाइपलाइनको सूचीका आधारमा मारुती सिमेन्टस्ले १०० रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २७७ रुपैयाँमा शेयर निष्काशन गर्न कम्पनीले अनुमति माग गरेको समाचार आए । बिजपाटीसहित सबै आर्थिक मिडियाहरुले मारुती सिमेन्टस्ले १ सय रुपैयाँ अंकित मूल्यमा १७७ रुपैयाँ प्रिमीयम थप गरेर प्रति कित्ता २७७ रुपैयाँमा आईपीओ निष्काशन अनुमति माग गरेको समाचार लेखे ।

बिजपाटीमा प्रकाशित समाचारः

टक्सार न्युजमा प्रकाशित समाचारः

तर, बोर्डले यसको १७ दिन पश्चात अर्थात् २०२४ फेब्रुअरी १२ (माघ २९ गते) मा प्रकाशित गरेको आईपीआको पाइपलाइनको अर्को सूचीमा मारुती सिमेन्टस्को आईपीओको मूल्य प्रति कित्ता प्रिमीयमसहित ३७७ रुपैयाँ प्रस्ताव गरिएको उल्लेख गर्यो । यसपछि लगानीकर्ताहरु शशंकित बने ।

यसैलाई आधार मानेर अहिले लगानीकर्ताहरु भित्रभित्रै मिलेमतोमा मारुती सिमेन्टस्को आईपीओको मूल्य बढाइएको भन्दै आशंका गरिरहेका छन् । लगानीकर्ताहरु सामाजिक सञ्जालमा बिना नै सूचना एक सय रुपैयाँ मूल्य बढाइएको भन्दै सेबोन, मारुती सिमेन्टस् लिमिटेड र बिक्रि प्रबन्धकमाथि खनिएका छन् । 

सुरुमा प्रकाशित सूची अनुसार मारुतीको प्रस्तावित आईपीओ मूल्यः

मारुती सिमेन्टस् लिमिटेडको बिक्रि प्रबन्धक रहेको नबिल इन्भेष्टमेन्ट बैंकिङ भने यो सामान्य मानवीय त्रुटी भएको बताउँछ । प्रति कित्ता २७७ रुपैयाँमा मारुती सिमेन्टस्ले आईपीओ निष्काशन गर्ने भनेर समाचारहरु आउनासाथ नबिल इन्भेष्टमेन्ट सेबोनमा सम्पर्क गरेर २७७ नभई प्रति कित्ता ३७७ रुपैयाँ हो भनेर सच्याउन अनुरोध गरिएको भए पनि सेबोनले तत्काल नसच्याएर एकैपटक अर्को सूची प्रकाशित गर्ने बेलामा सच्याएर सूची निकालेको नबिल इन्भेष्टमेन्टका एक जना अधिकारीले बताए ।

‘हामीले तपाइहरुकै समाचार हेरेपछि मूल्य फरक पर्यो, २७७ होइन ३७७ हो भनेर सच्याउन सेबोनमा अनुरोध गरेका हौँ, सेबोनले अर्को पटक आईपीओको पाइपलाइनमा रहेका कम्पनीहरुको सूची निकाल्दा मारुती सिमेन्टस्को प्रस्तावित मूल्य सच्याएको छ’ नबिल इन्भेष्टमेन्टका ति अधिकारीले भने, ‘यो सानो ह्यूमन इरर मात्रै हो, यसलाई ठूलो रुपमा लिनु हुँदैन ।’

उनले लगानीकर्ताहरुले पनि रातारात मिलेमतोमा १ सय रुपैयाँ मूल्य बढाइएको हो कि भनेर आशंका गर्नु नपर्ने बताएका छन् ।

‘हामीले सुरुमा सेबोनमा सम्झौता पठाउने हो, सम्झौता पठाएपछि कम्पनीको विवरणपत्र पठाउने हो, हामीले सेबोनमा पठाएको विवरणपत्रको दफा दफामा प्रस्तावित मूल्य हुन्छ, त्यहाँ ३७७ नै छ’ उनले थपे, ‘सानो इररले गर्दा २७७ इन्ट्री हुन गएको मात्रै हो, यसमा आशंका गर्नुपर्ने कुरै छैन ।’

आफूहरुले तत्काल सच्याउन अनुरोध गर्नासाथ सेबोनले मूल्य सच्याइदिएको भए लगानीकर्तामा आशंका उत्पन्न हुँदैन थियो भन्ने आफूहरुलाई पनि लागेको ति अधिकारी बताउँछन् ।

यता, सेबोनका सूचना अधिकारी तेज प्रसाद देवकोटा आईपीओको पाइपलाइनमा रहेका कम्पनीको सूची प्रकाशित गर्दैपिच्छे प्रस्तावित मूल्य फरक फरक नहुने बताउँछन् । उनले दुइ पटक प्रकाशित सूचीमा मारुती सिमेन्टस्को आईपीओ मूल्यबारे फरक फरक दर रहेको विषयमा आफू अनविज्ञ रहेको र कुनै त्रुटी भएको भए वास्तविकता अनुसार सच्याउने बताए ।

मारुती सिमेन्टस्ले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल १ करोड १६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले कुल ३ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर निष्काशन गर्न प्रस्ताव गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved