लघुकथाः मैनबत्ती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2021 | 04:41:43 PM मा प्रकाशित

laxmi  sunrise bank

लेखकः किरण कश्यप (अधिकारी), कुस्मा नगरपालिका, पर्वत

माघको महिना धेरै दिनदेखि घाम लागिरहेको थिएन । दिन चिसो उस्तै रात पनि । उनीसँग बिबाह भएको पनि २ महिना बितिसकेछ । हामी दुवै व्यापार व्यवसाय र पढाईलाई निरन्तरता दिन गाउँ छोडि शहरमा एउटै डेरामा बस्थ्यौं । पहिला जिन्दगी अस्तव्यस्त झै लागिरहन्थ्यो । उनको आगमनले हिजोआज उत्साह र प्रेरणा मिलिरहन्थ्यो । 

दिनहरु रमाइलो नै चल्दैथिए, एकदिन म कामबाट फर्कदा अलिक ढिलो नै भयो । बिहानदेखि नै उनी केहि बिरामी थिइन् । औषधि पसलहरु पनि सबै बन्द थिए म हतार हतार चोक तिर गए धन्न त्यहाँ एउटा औषधि पसल खुला रहेछ । औषधि किनेर फर्कदै गर्दा मन मा नानाथरी कुराहरू खेलिरहे । डेरा भित्र पसेको मात्र के थिए उनी एक्कासि झम्टिएर रुदै भन्न थालिन्, तपाई आफैं भन्नुहुन्छ सकेसम्म औषधि खानुहुदैन, मलाई दिनभरि एकदम गाह्रो भयो, तपाई मात्र साथ हुने हो भने मलाई केहि चाहिदैन, कोहि चाहिदैन । नवबिबाहित भएर हो कि प्रेम नै उस्तो उनी र म बिबाह भएदेखि नै अहिलेसम्म एकछिन छुट्दा पनि युगौं छुटे जस्तो हुन्थ्यो दुवैलाई । उनलाई पाएदेखि म दुनियाँ बिर्सिएको थिए अनि उनी दुनियाँ बिर्सेर मेरो अंगालोमा सायद यहीँ होला प्रेम जहाँ प्रेम भन्दा अरु सब कुरा त्याग गरिन्छ । जहाँ दुई कुरा एकाकार भएर प्रेममा लिन हुन्छन् । त्यसो त प्रेम दुई होइन एउटै कुरा हो । हामी दुबै हराएका थियौ, आफ्नो आफ्नो अस्तित्व मेटाएर एक भएका थियौ । हाम्रो यो नयाँ परिचय म होइन हामी थियौ अनि यो प्रेम थियो । उनको अंगालोमा बेरिएर बसेको बेला म यस्तै यस्तै भावनामा बहकिन्छु केवल उनीमा एकाकार भएर आफ्नो अस्तित्व प्रेममा समर्पण गर्दछु ।

झ्याप्प बत्ती गयो उनी र म एक क्षणको लागि झसङ्ग भयौं । आज खाना बाहिर भोजनालयबाट नै ल्याएको थिए, मैनबत्तीको उज्यालोमा खाना खाइसकेर, सरसफाइ सकेर सुत्ने तरखरमा थियौ हामी, मैनबत्ती पनि प्रेममा त्यसरी नै पग्लेर हराइरहेछ जसरी म र उनी एक अर्कामा । ताजा हावा आवातजावत गरोस् भनेर खोलेको झ्यालको केहि अंशबाट पनि चिसो हावा चलिरहेको थियो । उनी अंगालोमा टासिएर मधुर मिठो बोलिमा भन्दै थिइन तपाई र म सधैंभरि यसरी नै हुनपाए पुग्छ मलाई, मैले भने प्रेम अथाह छ अनि जिन्दगी छोटो, यो समय यहि रोकिरहोस् ।

मैनबत्ती अन्तिम अवस्थामा थियो झ्याप्प निभ्यो अन्धकार छायो, उनको न्यायो अंगालोमा म अनि मेरोमा उनी सायद निदाइसकिछन्, म चाहिँ उनको मुहार हेर्दै, प्रेमभावले हेरिरहे म यसरी सम्मोहित भए कि कति बेला निदाए पत्तो नै पाइन । रातको लगभग १ बजेतिर झ्याप्प बत्ति आयो म झसङ्ग भए यताउता खोजे अघिसम्म उनी अंगालोमा नै थिइन, म आत्तिए अनि उनलाई फोन गर्न नजिकै रहेको मोबाइल निकाले मोबाइल अनलक गरे स्क्रिन अगाडि नै उनको मैनबत्ती जस्तै उज्यालो तस्बिर देखियो अनि बल्ल म निद्रा र सपनाको तन्द्राबाट ब्युझिए । म उनको तस्बिर हेर्दा हेर्दै पग्लिएर अस्तित्वहिन भएर हराएको रहेछु सपनाको संसारमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved