घाटाको यात्रामा लघुवित्त !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2023 | 07:41:18 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त कम्पनीहरु घाटाको व्यावसायिक यात्रामा लागेको यसका सञ्चालकहरुले बताएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ प्रतिशत कम्पनी घाटामा गएका उनीहरुको प्रतिवेदनमा उल्लेख छ । दोस्रो त्रैमासमा त्यो घाटा बढेर ४० प्रतिशतमा पुग्ने उनीहरुको अनुमान छ । 

बैंक तथा वित्तीय संस्थाले बढी ब्याज लिएर व्यवसायीमाथि आर्थिक बोझ थोपरिरहेको भन्दै विरोध र आन्दोलन चलिरहँदा यता लघुवित्त वित्तीय संस्था घाटामा गएको भनी राष्ट्र बैंकसँग दुखेसो पोखिरहेका छन् ।

हाल ६५ वटा लघुवित्त सञ्चालनमा छन् । राष्ट्र बैंकको नीति, सङ्घर्ष समितिका नामबाट चलेका ऋणीहरुको खराब नियत र अहिलेको आर्थिक सङ्कुचनको स्थितिको चपेटामा लघुवित्त परेको नेपाल लघुवित्त बैंकर्स संघको बुझाइ छ । जसले गर्दा करिब आधा कम्पनी घाटामा जाने देखिएको संघले बताएको छ ।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा दोस्रो त्रैमासमा औषतमा आधा कम्पनीहरु घाटामा जाने देखिएको बताउँछन् । उनी भन्छन्, ‘दोस्रो त्रैमासको सबै कम्पनीको विवरण अझै आइसकेको छैन, यत्ति नै कम्पनी घाटामा जान्छन् भन्न सकिँदैन तर ४० प्रतिशत भन्दा बढी कम्पनी घाटामा जाने देखिएको छ ।’ उनी प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था पहिलो त्रैमासमा ४१ लाख बढी घाटामा थियो ।

मुलुकमा ओरालो लागेका आर्थिक गतिविधि, बढ्दो बैंक ब्याजदर, नियामक निकायले लगायका सिमाहरु तथा लघुवित्तबाट लिएको कर्जाको ब्याज तथा सावाँ र्फिता गर्नुहुँदैन भन्दै सङ्गठन गरिएका साङ्गठनिक समुहहरुको कारण लघुवित्तहरु प्रभावित बनेका उनको दावी छ । 

बढ्दो ब्याजदर, राष्ट्र बैंकले लगाएको सिमा, बढ्दो निष्क्रिय कर्जा, सुस्ताएका आर्थिक गतिविधिको सिधा प्रभाव लघुवित्तमा परेको जनाइन्छ । यो अवधिमा ब्याजदर वृद्धि हुँदा ऋणीले ऋण नतिर्नुका साथसाथै नयाँ व्यावसाय समेत हुन नसक्दा कम्पनीहरुको आम्दानी तथा नाफामा गिरावट देखिएको हो । 

निष्क्रिय कर्जा वृद्धि हुँदा कर्जा असुलीको खर्चदेखि असुली हुन नसक्दासमेत बैंक तथा वित्तीय संस्था प्रभावित बनेको छ । 

‘निष्क्रिय कर्जा पहिलो तीन महिनाको तुलनामा यो त्रैमासमा ७–८ प्रतिशतले बढ्ने देखिएको छ । ‘स्वभाविक रुपमा कर्जा असुली प्रक्रिया अगाडि बढाउँदा खर्च त स्वभाविक बढेको छ नै, साथमा असुली नहुँदा नोक्सानी वापतको व्यवस्था राख्न परिहाल्यो’, उनी भन्छन्, ‘नयाँ कर्जा विस्तार गर्न पहिलो त बजारमा पैसा पनि कम छ, दोस्रो ब्याजदर बढी छ, यसले गर्दा ब्याज आम्दानी समेत घटेको छ ।’

त्यस्तै नेशनल माइक्रोफाइनान्सका सिइओ तथा नेपाल लघुवित्त बैंकर्स संघका महासचिव रामबहादुर यादबले खराब कर्जा बढेकै कारण नाफामा हिट गर्ने बताउँछन् । खराब कर्जा बढ्नुमा आर्थिक गतिविधि कम हुनका साथसाथै आन्दोलनको प्रभाव रहेको उनको भनाई छ ।

विगतमा नै लिएको कर्जामा बैंकको बेसरेट बढेसँगै लघुवित्तले तिर्नुपर्ने ब्याज रकम बढेको छ । साथै, राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार लघुवित्तले कर्जा दिँदा १५ प्रतिशत बढी ब्याजदर लिन पाउँदैनन् । यता बैंकहरुको औषत आधार दर नै १० प्रतिशत माथि छ । 

यसमा २ प्रतिशत प्रिमियम थपेर १२ प्रतिशतमा कर्जा लिएर पुनः सोही कर्जा ऋणीलाई १५ प्रतिशतमा उपलब्ध गराउँदा कम्पनी घाटामा गएको यादव बताउँछन् ।

निक्षेप र कर्जा ब्याजदर बीचको अन्तर स्पेड रेट लघुवित्तमा ५ प्रतिशत नै कम हुने उनको दाबी छ । यद्यपि अहिले लघुवित्तहरु त्यो भन्दा कममा व्यावसाय गर्न बाध्य भए । 

कतिपय कम्पनीहरुले यो बीचमा ऋणीलाई कम ब्याजदरमा ऋण दिएर बैंकलाई भने कम्पनीले बढी ब्याज तिर्न बाध्य भएको उनको भनाइ छ । 

महासचिव यादवले लघुवित्तलाई निक्षेप संकलनको बाटो खोलिदिएमा ब्याज केही कम हुने बताउँछन् । अन्यथा बैंकबाट लिएको कर्जामा केही प्रतिशत मार्जिन राखी कर्जा प्रवाह गर्नुपर्दा बैंकको बराबर नै ब्याजदर कायम गर्न सकिदैन । 

यता राष्ट्र बैंकले भने लघुवित्तले नाफाको व्यापार गर्न खोजेको आरोप लगाएको छ । संघको साधारणसभामा राष्ट्र बैंकका अधिकारीहरुले लघुवित्तको आर्थिक अनुशासनमा कैफियत देखिएको भन्दै सच्चिन चेतावनी दिएका थिए ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved