‘लघुवित्तमाथि नियोजित रुपमै प्रहार’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2023 | 09:58:06 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्तहरुमाथि नियोजित रुपमा प्रहार भएको आशंकामा राष्ट्र बैंक विशेष चासोका साथ निराकरणका उपायको खोजी गर्न थालेको छ । त्यही आशङ्कामा आज मात्रै राष्ट्र बैंकले हाइ लेभल बैठक गरेको थियो । त्यस लगत्तै उसले ८ बुँदे सर्कुलर नै जारी गरेर नियमनको प्रयास थालेको छ ।

पछिल्ला दिनहरुमा लघुवित्त विरुद्धमा सडक, सदन र केही मिडियामा आएका विषयले राष्ट्र बैंकको ध्यान तानेको एक अधिकारीले बताए । ती अधिकारीले भने, “नियोजित रुपमै वित्तीय प्रणालीलाई खल्बल्याउने गरी चौतर्फी प्रहार भएको आशंका रहयो, त्यसैले त्यसतर्फ गम्भिर बनेका छौँ ।”

नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले षड्यन्त्रपूर्वक लघुवित्तहरुमाथि प्रहार गरेको दावी नै गरे । 

लघुवित्त विरुद्धको सङ्घर्ष समितिले गएको चुनावको केही अगाडिदेखि गुल्मीबाट झिल्कोको रुपमा आउँदा चुनावी प्रपञ्च होला भन्ने ठानेको थियो । तर त्यो झिल्को नियोजित रुपमा बढेको अनुमान गरिएको छ । 

‘सुरुमा चुनावी प्रपन्च होला भनेर गम्भिर भएनौँ, यद्यपि राष्ट्र बैंकले फिल्ड अनुगमन बढायो, यता लघुवित्त विरुद्धको सङ्घर्ष समितिसँग पनि छलफल गरेका हौँ, सम्झौता पनि भयो’, ती अधिकारीले भने, ‘अहिले आउँदा नियोजित रुपमै लघुवित्तमाथि प्रहार भएको देखियो, त्यसैले आज बृहत छलफल आयोजना गरिएको हो ।’

अहिले देखिएका आर्थिक समस्या कुनै संस्था तथा व्यक्तिगत कारणले मात्रै नभई विश्वको साथसाथै नेपालमा देखिएको आर्थिक सुस्तताको परिणाम भएको कारण सबै वित्तीय क्षेत्रका सरोकारवालाहरुलाई समेटी छलफल गरिएको राष्ट्र बैकले जनाएको छ । 

यद्यपि केही लघुवित्तहरुमा समस्या भने नभएको होइन । तर जसरी विषय आइरहेका छन्, त्यसले कसैको हितमा नभएको अधिकारीहरु बताउँछन् । त्यसका लागि राष्ट्र बैंकले आवश्यक पहलकदमी िलइरहेको दावी गरेको छ ।

लघुवित्त बैंकर्स सङ्घका अध्यक्ष प्रकाशराज शर्माले आजको छलफलमा लघुवित्तमाथि भएको सुनियोजित चौतर्फी आक्रमण, यसको प्रभाव र कसरी चिरफार गर्ने भनेर छलफल भएको पुष्टि गरे । 

लघुकर्जा लघुवित्तले मात्रै प्रवाह गर्छ भन्ने गलत बुझाई हुँदा मिटरब्याजी, सहकारी, आमा समूह तथा अन्य निकायबाट लिएको कर्जामा भएको समस्याको बोझसमेत लघुवित्त संस्थाले लिनुपरेको उनले बताए । 

‘जो सोझा ऋणी सदस्य हुन्, त्यसमध्येको सानो कर्जा लघु कर्जा हो र त्यो लघुवित्तले दिएको हो भन्ने भ्रम ऋणीमा भएको पाईयो, त्यहाँबाट आएका समस्या लघुवित्तमाथि थोपरिएको छ ’ उनले भने, ‘नियोजित रुपमा लघुवित्तमाथि प्रहार गर्नेहरुले सोझा ऋणिहरुलाई प्रयोग गरेको पाइएको छ ।’ 

सडक, सदन र राष्ट्रियस्तरका केही मिडियाहरुले सबै समस्या लघुवित्तकै कारणले उत्पन्न भएको भन्नु सुनियोजित प्रहार भएको छलफलमा निचोड आएको पनि उनले दावी गरे । 

विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्तराज लम्साल पनि नियोजित रुपमै लघुत्तिमाथि प्रहार भएको दाबी गर्छन् । 

‘लघुवित्तले ३५ प्रतिशत ब्याज लिए, लघुवित्तका कारण ऋणीले आत्माहत्या गरे भनेर जसरी प्रचार भएको छ त्यो गलत हो’, उनले भने, ‘प्रमाण लिएर आउन सक्नुपर्याे नि, एकाएक सडकदेखि सदनसम्म र राष्ट्रियस्तरका मिडियाले बिना कुनै आधार लघुवित्तका कारण घटना घटे भनिरहेका छन्, यो नियोजित रुपमा गरिएको षड्यन्त्र नभएर के हो ?’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved