राष्ट्र बैंकको पुंजी वृद्धि नीति र केहि समय अगाडी वित्तीय क्षेत्रमा देखिएको तरलता अभाबको प्रभाव बैंक वित्तीय संस्थाको ब्याल्नेससिटमा देखिन थालेको छ।
कात्तिक १७ गते चालु आर्थिक बर्षको पहिलो ३ महिनाको प्रगति विवरण सार्वजनिक गरेका नेपाल इन्भेष्टमेन्ट र नेपाल एसबिआई बैंकको वित्तीय विवरण केहि सन्तोषजनक रहेपनि सिद्दार्थ र ग्लोबल आइएमईको अवस्था 'निराश' बनाउने किसिमको देखिएको छ। त्यसमा पनि बैंकहरुबाट महँगोमा कर्जा लिएर न्यून मार्जिनमा कर्जा तथा लगानी प्रवाह गर्नु पर्ने बाध्यतामा रहेको रिलायबल माइक्रोफाइनान्सको अवस्था 'चिन्ताजनक' देखिएको छ।
ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले समिक्षा अवधीको पहिलो तीन महिनामा ३५ करोड ३२ लाख रुपैयाँ कमाएको छ। गत् आर्थिक बर्षको यस अवधिसँगको तुलनामा बैंकको खुद मुनाफा ७ करोडले कम हो।
बैंकले यस अवधिमा १ खर्ब ४ अर्ब ९४ करोड निक्षेप संकलन गरि ८८ अर्ब ७७ करोड ३४ लाख कर्जा लगानी गरेको छ। बैंकले निक्षेपमा ३० प्रतिशत र कर्जा लगानीमा ३१ प्रतिशतले वृद्धि गरेपनि संचालन मुनाफा घटेकाले आम्दानिमा असर देखिएको छ।
बैंकले ३८ करोड ९३ लाख संचालन आम्दानि गरेको छ भने ६९ करोड २७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। कर्जाको ब्याजदर बढ्द खर्च बढ्न गई बैंकको खुद ब्याज आम्दानी खुम्चिएको हो भने कारोबार बिस्तार गर्न कर्माचारी तथा शाखा बिस्तार गर्नु परेकाले संचालन आम्दानी २७ प्रतिशतले घटेको हो।
यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब ८ करोड छ भने जगेडा कोषमा ४ अर्ब ३८ करोड छ। बैंकको प्रति सेयर आम्दानी १७ रुपैयाँ ४८ पैसा, मुल्य आम्दानी अनुपात २२ दशमलव ०८ गुणा, नेटवर्थ प्रति शेयर १ सय ५४ रुपैयाँ २८ पैसा छ। त्यस्तै बैंकको खराब कर्जा अनुपात १ दशमलब ५७ प्रतिशतमा झरेको छ।
सिद्दार्थ बैंक
बिगतमा राम्रो प्रगती गर्दै आएको सिद्दार्थ बैंकपनि आम्दानि बढाउन नसकेको बैंकको सुचिमा प्रवेश गरेको छ। बैंकको खुद मुनाफा घटेको छ भने पुंजी वृद्धिको अनुपातमा कमाई हुन नसक्दा उसको प्रति शेयर आम्दानीमा 'पहिरो' गएको छ।
चालु आर्थिक बर्षको पहिलो ३ महिनामा बैंकले २१ करोड ६४ लाख खुद मुनाफा गरेको छ। गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा ११ करोडले कम हो।
बैंकले गत आर्थिक बर्षको ३ करोड ३७ लाख चुक्ता पुंजीलाई १०२ प्रतिशतले बढाएर ६ अर्ब ४ करोड पुर्याउदा सोहि अनुपातमा कमाई हुन नसक्दा प्रति सेयर आम्दानी १२ रुपैयाँ ६५ पैसामा झरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको प्रति सेयर आम्दानि ४२ रुपैयाँ ६३ पैसा थियो।
बैंकले पस्किएको यो प्रगति बिबरणमा पाइपलाइनमा रहेको १० प्रतिशत हकप्रदले हुन आउने संस्थापक सेयरधनीहरुबाट प्राप्त कल इन एडभान्स पनि समायोजन गरिएको छ। बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गर्ने लाभांश पनि घोषणा गर्न बाँकी नै छ। त्यो बोनस पुंजीकृत पश्चात बैंकको इपिएस के होला त्यो भने सोचनीय छ।
यस अवधिमा बैंकको जगेडा कोष रकम ३ अर्ब ५८ करोड ३ लाख रुपैयाँ छ। बैंकले व्यवसाय बिस्तारमा मेहनत गरेको देखिएको छ। उसले निक्षेप तर्फ १० प्रतिशतले वृद्धि गरि ७७ अर्ब ८७ करोड ५० पुर्याएको छ भने १७ प्रतिशतले बढाएर ६८ अर्ब ८९ करोड कर्जा प्रवाह गरेको छ।
स्प्रेड दर घट्दा बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ। यस अवधिमा बैंकले ५० करोड ९८ लाख खुद ब्याज आम्दानी गरेको छ भने ५ करोड ६२ लाख संचालन आम्दानी गरेको छ। बैंकको ब्याज आम्दानी र संचालन मुनाफामा गिरावट आएकाले खुद मुनाफामा भारि गिरावट आएको हो।
यस अवधिमा बैंकले प्रोभिजनमा ३४ करोड ९५ लाख राखेको छ भने १७ करोड ७० लाख राइट ब्याक गरेको छ। त्यस्तै मुल्य आम्दानीको अनुपात ३२ दशमलव ६८ गुणा, प्रति सेयर नेटवर्थ १ सय ५२ रुपैयाँ ७३ पैसा र खराब कर्जा अनुपात २ दशमलव ०१ प्रतिशत छ।
रिलायबल माइक्रोफाइनान्स
बैंकहरुको आधार दर बढ्दा लघुवित्तको कोषको लागत अत्यधिक वृद्धि हुन गई लघुवित्तको कमाई खुम्चिन थालेको विवरण सार्वजनिक हुन थालेका छन। यहि क्रमलाई रिलायबल माइक्रोफाइनान्सले पनि निरन्तरता दिएको छ।
यस अवधीमा रिलायबलको खुद मुनाफा २७ लाख ३५ हजार छ। जुन गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा १० लाखले कम हो। गत आर्थिक बर्ष ५० प्रतिशत हकप्रद र १३।३३ प्रतिशत बोनस वितरण गरि समिक्षा अवधिमा ७० प्रतिशतले चुक्ता पुंजी वृद्धि हुँदा सोहि अनुपातमा कमाई हुन नसक्दा रिलायबलको प्रति सेयर आम्दानीमा 'पहिरो' गएको छ।
रिलायबलको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३९ पैसा छ । गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा लघुवित्तको इपिएस १५ रुपैयाँले घटेको हो।रिलायबलको कर्जा तथा निक्षेपको आकार बढ्दा कुल ब्याज आम्दानी उलेख्य बढेको छ। तर बैंकसग महँगो ब्याजदरमा कर्जा सापटी लिएर १८ प्रतिशतको सिमा भित्र रही कर्जा प्रवाह गर्नु पर्दा खर्च बढ्न गई खुद ब्याज आम्दानी ऋणात्मक बनेको छ। कर्मचारी खर्च र सञ्चालन खर्च बढ्द लघुवित्तको कमाई ओरालो लागेको हो।
यस अवधिमा रिलायबलको खराब कर्जा अनुपात १.४६ प्रतिशतबाट बढेर १.६३ प्रतिशतमा पुगेको छ भने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३७ पैसा छ। प्रति शेयर मुल्य आम्दानी अनुपात १६६ गुना बढी छ।