
ब्रोकर कमिशन घटाउन माग गर्दै लगानीकर्ता संघहरुले नेपाल धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाएर प्रदर्शन गरेका छन् । सामान्यता प्रदर्शनमा सेतो कागजमा कालोले लेखिएको प्लेकार्ड प्रयोग हुने गरेकोमा यस पटक लगानीकर्ताले हरियो कागजको प्रयोग गरेका छन् ।
शेयर लगानीकर्ता दबाब समुहका अध्यक्ष हरि ढकालले अहिलेको बजार 'बुलिस' भएको संदेश दिनको लागि सिम्बोलिक रुपमा हरियो रङ्गको कागज प्रयोग गरिएको बताए ।
आज बिहिबार नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समुहले शुक्रबार संयुक्तरुपमा बोर्डलाई ज्ञापनपत्र बुझाएका हुन् । बोर्डलाई ज्ञापनपत्र बुझाउदै लगानीकर्ताहरुले ब्रोकर कमिशन तत्काल घटाएर ०.२५ प्रतिशत कायम गर्न माग गरेका छन् ।
ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गर्दा लगानीकर्ताको लागत कम हुने, शेयरबजारमा नयाँ युवा पुस्ताहरु आउँनको लागि प्रेरणा मिल्ने, छरिएर रहेको पुँजी एकत्रित हुने, पुँजीबजार चलायमान हुने लगानीकर्ता संघहरुको भनाई छ ।
त्यस्तै कमिशन घटाउँदा बोर्ड, नेप्से, ब्रोकर र सिडीएससीको आयमा गुणात्मक वृद्धि हुने, सरकारलाई अझ बढी पुँजीगत लाभकर प्राप्त हुने संघहरुले जनाएका छन् । सरकारलाई बढी पुँजीगत लाभकर तिर्न पाउँदा लगानीकर्ता समेत गौरवान्वित हुने भएकोले बरोकर कमिशन घटाएर लगानीकर्तालाई गौरवान्वित हुने वातावरण समेत बनाईदिन संघहरुले आग्रह गरेका छन् ।