एशियन लाइफको शेयरमा इन्साइडर ट्रेडिङको आशंका, प्रमाणित भए के हुन्छ कारवाही ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2021 | 01:51:24 PM मा प्रकाशित

laxmi  sunrise bank

लाभांश नदिने घोषणा गरेको एशियन लाइफ इन्स्योरेन्स Asian Life Insurance Company  को शेयरमा इन्साइडर ट्रेडिङ अर्थात् भित्रि कारोबार भएको आशंका गरिएको छ। मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कम्पनीको सबैभन्दा धेरै कारोबार हुनु र आज बुधबार कम्पनीले लाभांश वितरण नगर्ने जानकारी दिनुले इन्साइडर ट्रेडिङको आशंका गरिएको हो 

कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७५/७६ को संचित मुनाफाबाट लाभांश नदिने निर्णय गरेको उल्लेख गरेको छ। कम्पनीले मंगलबार बसेको संचालक समितिको बैठकले निर्णय गरेको भएपनि बैठक कति बजे बसेको भन्ने उल्लेख गरिएको छैन । 

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ को १(ङ) मा संचालक समितिले लाभांश सम्बन्धि निर्णय गरेमा संचालक समितिको बैठक बसेको समय समेत उल्लेख गरि निर्णय हुने बित्तिकै नेप्सेमा  जानकारी गराउनु पर्छ भन्ने उल्लेख छ । तर कम्पनीले पत्रमा समय उल्लेख गरेको छैन 

कम्पनीले मंगलबार निर्णय गरेको र मंगलबार नै नेप्सेमा कम्पनीको धेरै कारोबार भएको थियो । अन्य दिनमा निफ्राको कारोबार सबैभन्दा बढी हुने गरेकोमा  मंगलबार एशियन लाइफको उच्च कारोबार भएको थियो । मंगलबार एशियन लाइफको २८ करोड २६ लाख ९४ हजार १ सय ७६ रुपैयाँको कारोबार भएको थियो । यस अवधिमा कम्पनीको २ लाख २१ हजार ३ सय ५८ कित्ता शेयर किनबेच भएको थियो । मंगलबार कम्पनीको कारोबार प्रति कित्ता १३ सय ५० मा खुलेकोमा कारोबार अन्त्य हुँदा ४.९३ प्रतिशत अर्थात १२ सय ७४ रुपैयाँ कायम भएको थियो । 

कम्पनीको ठुलो रकमको कारोबार भएकोले केहि सिमित लगानीकर्ताले कम्पनीले लाभांश नदिने भित्रि सूचना मंगलबार नै थाहा पाएकै कारण कारोबार गरेको हुनसक्ने भएकोले इन्साइड ट्रेडिङको आशंका गरिएको हो । कम्पनीले आफ्नो पत्रमा बैठक बसेको समय उल्लेख नगरेकोले पनि यो आशंकामा थप बल पुगेको छ ।  

नेप्सेले गत कार्तिकमा संचालक समितिको बैठक बसेको समय उल्लेख नगरेको भन्दै स्पष्टिकरण समेत सोधेको थियो । 

के हो भित्रि कारोबार ?

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ मा भित्रि कारोबार समबन्धि ब्यबस्था छ  ।  जसमा कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीहरुको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने उल्लेख गरिएको छ ।

“भित्री सूचना वा जानकारी” भन्नाले कुनै धितोपत्र जारी गर्ने संगठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनु पर्ने उल्लेख छ।

यसरी भित्रि कारोबारमा संलग्न हुनेलाई १ वर्ष कैद वा ५ लाखसम्म जरिवाना वा दुवै हुन् सक्ने ब्यबस्था ऐनले गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved