
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर बजारमा लगानी गर्न कडाई गरेसंगै त्यसको प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय संस्थाहरुको नाफा र आम्दानीमा देखिने भएको छ। राष्ट्र बैंकको ब्यबस्थाले शेयरबजारको आम्दानीलाई पनि मुख्य स्रोतको आम्दानी बनाएका बैंक तथा वित्तीय संस्थाहरुलाई दबाब पर्ने भएको हो ।
बैंक तथा वित्तीय संस्थाको मुख्य आम्दानी ब्याजबाट हुने आम्दानी हो । तर पछिल्लो समय केहि बैंक तथा वित्तीय संस्थाले शेयरबजारबाट पनि मनग्य आम्दानी गर्न थालेका थिए । आफ्नो मूल व्यवसाय भन्दा शेयर बजारको आम्दानीमा रमाएका बैंक तथा बितीय संस्थालाई राष्ट्र बैंकको निर्देशनले प्रभाव पर्ने भएको हो ।
आधा दर्जन बैंकहरुको आम्दानीको ठुलो हिस्सा शेयरबजारबाट भएको पाईएको छ। मुख्यत: सिद्धार्थ बैंक, कुमारी बैंक , प्रभु बैंक, एनआईसी एसिया बैंक, लक्ष्मी बैंक , नेपाल बंगलादेश बैंकले शेयर बजारबाट राम्रै आम्दानी गरेका छन् ।
विकास बैंकहरु मध्ये ज्योति, मुक्तिनाथ र कामना सेवाले शेयर बजारबाट राम्रै रकम आम्दानी गर्ने गरेको उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणबाट समेत पुष्टि हुन्छ। त्यस्तै मन्जुश्री फाइनान्सको आम्दानीको ठुलो हिस्सा शेयर बजारबाट आउने गरेको छ। राष्ट्र बैंकको निर्देशनले यी बैंक तथा वित्तीय संस्थाको शेयर बजारबाट आउने आम्दानी प्रभावित हुने देखिन्छ ।
सेयरबजारबाट कमाएर आम्दानी बढाएका बैंक वित्तीय सँस्थाको ब्यालेन्ससिटमा राष्ट्र बैंकको अहिलेको निर्देशनले तत्काल ठुलो प्रभाव नदेखिए पनि दीर्घकालीन रुपमा भने प्रभाव पर्ने जानकार बताउछन्।
अहिले उनीहरुले आफुसंग भएको शेयर बेचेर पनि आम्दानीमा असर पर्ने नदिने तर दीर्घकालीन रुपमा भने उनीहरु सबै कोर बिजनेशमै फर्कनु पर्दा आम्दानी र नाफामा असर देखिने बताईन्छ।
यी बैंक तथा वित्तीय संस्थाले ठुलो मात्रामा शेयर होल्ड गरेर बजारमा चलखेल गर्ने मुल्यान्तरमा खेलेर पनि आम्दानी गर्ने गरेका थिए । अब भने त्यसको सम्भावना पनि सकिएको छ। कम्तिमा एक बर्ष होल्ड गर्नुपर्ने प्रावधानले बैंक वित्तीय सँस्थाहरुले किन्न पाउने सेयरमा पनि मुल्यान्तर गरेर कमाउने बाटोमा पूर्ण बिराम लागेको हो। एक बर्ष होल्ड गर्नुपर्ने प्रावधानले बैंक वितिय सँस्थाहरुमाथि अब कम्तिमा पनि ट्रेजरीमा राख्द हुने भन्दा बढी प्रतिफल दिने कम्पनीमा लगानी गर्नुपर्ने दबाब बढ्ने देखिन्छ।
पहिले पनि बैंक वित्तीय सँस्थाहरुलाई बैंक, विकास बैक र फाइनान्सको सेयरमा लगानी गर्नलाई रोक लगाइएको थियो तर अहिलेको निर्देशन पश्चात लघुवित्तको शेयरमा पनि लगानी गर्न रोक लगाइएको हो। तर पुष मसान्तसम्म आफुसंग भएका लघुवित्तको सेयर बिक्रि गर्नलाई बैक वित्तीय सँस्थाहरुलाई समय दिईएको छ।
राष्ट्र बैंकले गत मंगलबार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई एकिकृत निर्देशन जारि गर्दै शेयर लगानी सम्बन्धमा थप ब्यबस्था गरेको हो । जस अनुसार बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा कम अवधिको लागि शेयरमा लगानी गर्न पाउने छैनन्।
त्यस्तै बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी समेत गर्न पाउने छैनन् । यस व्यवस्थाले बैंक वित्तीय सँस्थाहरुले आफ्नो मातहतमा भएका तथा मातहतमा नभएका क्यापिटल तथा म्युचुअल फण्ड मार्फत सेयरबजारमा लगानी गर्ने बाटो समेत बन्द भएको छ।
राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ 'सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन् ।'
त्यस्तै बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाइने छ। तर, यसअघि (मिति २०७८।०२।१० सम्म) लगानी गरेका शेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न भने पाइने छ। साथै विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक बैंक तथा वित्तीय संस्थाले ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पाइने छैन । यसअघि (मिति २०७८।०२।१० सम्म) त्यस्तो शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री विनिवेश गरिसक्नुपर्नेछ।