धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमयुक्त भनेकोप्रति के भन्छन् लगानीकर्ता संघहरु ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2021 | 09:36:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नाम नै तोकेर विभिन्न ५१ वटा कम्पनीमा गरिएको लगानी जोखिमयुक्त रहेको बताएपछि यस विषयको पक्ष र विपक्षमा बहस सुरु भएको छ । धितोपत्र बोर्डले गरेको अध्ययनमा ५१ वटा कम्पनीमा गरिएको लगानी जोखिमयुक्त रहेको र ति संस्थाहरुको कारोवारमा भित्री कारोवार, सर्कुलर कारोवार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाईएको बोर्डले जनाएको हो ।

 अधिकांश लगानीकर्ता संघहरुले बोर्डको कदम गलत भएको बताएका छन् भने केहिले बोर्डको कदम सहि भएपनि तरिका र समय भने गलत रहेका बताएका छन् । नेपाल इन्भेष्टटर फोरमका अध्यक्ष छोटेलाल रौनियार बोर्डले ५१ वटा कम्पनीलाई कालो सुचीमा राखेको र गलत भएको बताउछन्  । यसले बजारमा ८ रेक्टरको भूकम्प ल्याएको उनी बताउछन्  । आफुहरुले पनि खराब अवस्थाका कम्पनी र सूचकहरु नकारात्मक रहेका कम्पनीहरुमा लगानी गर्दा जोखिम हुने बताउदै आएको तर नाम नै तोक्नु गलत हुने उनको भनाई छ  । धितोपत्र बोर्डलाई कुम्भकर्णको संज्ञा दिदै उनी भन्छन् 'यो कुम्भकर्ण ६ महिना सुतेर उठेपछि डाङडुङ गरे जस्तो भयो यो' । यसले कम्पनीको पनि बदनाम हुने र लगानीकर्तालाई झन् बढी हानि नोक्सानी हुने उनको भनाई छ  । 

बोर्डले ५१ कम्पनी सार्वजनिक गरेर बढी हल्ला गरेको उनको आरोप छ  । उनी भन्छन् ' बोर्डलाई शंका लाग्यो भने उसले छानविन गर्न सक्छ, उसलाई अधिकार छ,  १-२ दिन नै छानविन गरेर नारिजा देखिन्छ, आफिले गर्नु पर्ने नियमकीय काम नगर्ने, अनी कम्पनीलाई कालोसूचीमा राख्ने, यो कदम गलत छ' । बोर्डले शंका लागे कम्पनीलाई नै कारवाही गर्नु पर्ने वा नियम भन्दा बाहिरको गतिविधि भएको पाईए त्यसमा संलग्न व्यक्तिलाई कारवाही हुनु पर्ने उनको भनाई छ  । 

बोर्ड अधिकार सम्पन्न निकाय भएको , नियामक भएकोले बजारमा गलत गतिविधि हुनु नदिनु ठिक भएपनि नाम नै तोक्नु बोर्डको लागि पनि प्रत्युत्पादक हुने उनी बताउछन्  । आफुहरुले पनि बित्तिय विवरण सार्वजनिक नगर्ने कम्पनीलाई, साधारणसभा नगर्ने कम्पनीलाई, गलत विवरण प्रकाशन गर्नेलाई कारवाही गर्न , कानुनी दयारामा ल्याउन अनुरोध गरेको भएपनि अहिले बोर्डले अपनाएको प्रक्रिया गलत रहेको उनको भनाई छ  । 

सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल पनि बोर्डले कम्पनीको नाम नै तोकेर यसरी बिज्ञप्ति निकाल्नु राम्रो पक्ष नभएको बताउछन् । यदि कम्पनीका कमीकमजोरी भएमा बोर्डले अन्य कदम लिन सक्ने तर बजारमा नियमित कारोबार भईरहेका , आम लगानीकर्ताले खरिद बिक्रि गरिरहेका कम्पनीहरु तोकेर जोखिमयुक्त भन्नु सकारात्मक पक्ष नरहेको उनको भनाई छ । कम्पनी खराब भए कारोबार रोक्न सकिने तर यसरी नाम नै तोकिनु गलत भएको उनी बताउछन् ।  उनी भन्छन् ' कम्पनी खराब भए बोर्डले डिलिस्ट गरोस्, कम्पनी नै कारोबार गोग्य छैनन् भने बोर्डले कारोबार रोक्नु पर्यो, कारोबार गर्न लायक छन् भने बोर्डले यस्ता सूचक हेरे मात्र लगानी गर्नु भन्नु पर्यो, तर कम्पनी जोखिमयुक्त भनेर भन्दा राम्रो संदेश गएन ' ।

अधिकार सम्पन्न बोर्डले कारोबार गर्न पनि दिने र यो यो कम्पनी खराब छन् है भन्दा लगानीकर्तामा पर्ने मनोवैज्ञानिक असरबारे बोर्डले नसोचेको उनको भनाई छ । बोर्डले जोखिम हेरेर लगानी गर्न आग्रह गर्नु ठिक रहेको र यदि लगानीकर्ताले आफुले जोखिम मोल्छु भनेर कारोबार गर्छ भने उसलाई बोर्डले रोक्न नमिल्ने फुल्लेल बताउछन् ।  

लगानीकर्ताको हितमा बोर्डले काम गरेको भए १० कित्ता कारोबार गर्ने लगानीकर्ताले आज पनि सबै भन्दा उच्च कमिशन तिरेकोले बोर्डले कमिशन घटाईदिनु पर्ने उनको धारणा छ । उनी भन्छन् 'ठूला लगानीकर्तालाई घराना लगानीकर्ता थोरै कमिशनको नियम बनाएको छ,  १० कित्ता लगानी गर्ने लगानीकर्तासंग बढी कमिशन लिने नियम बनाएको छ, खै त साना लगानीकर्ताको हितमा काम गरेको ?' गर्नु पर्ने काम नगरेर , नगर्नु पर्ने काम बोर्डले गरको उनको भनाई छ ।  

 नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बजार बढेको बेलामा यसरी बोर्डले सुची निकाल्नु गलत भएको बताउछिन् ।   आफुहरुले धेरै अगाडीदेखि नै बजारमा संस्थागत सुशासन नभएको, शेयर कर्नरिङ भएको र बोर्डलाई यस विषयमा कदम चाल्न आग्रह गरेको तर यत्रो समय केहि नगरी अहिले बजार ३ हजारको बिन्दुमा पुगेपछि सुची सहित विज्ञप्ति निक्लनुको समय गलत भएको उनको भनाई छ ।  

बोर्ड अभिभावक भएको , बोर्डले नियमन गर्नु पर्ने भएपनि नियमनको कार्य भित्र भित्र नै गर्न सकिने उनी बताउछिन् ।  सबै लगानीकर्ताले करोड र अर्बमा कारोबार नगर्ने भएकोले शेयरबजारमा सानो सानो लगानी गरेका गृहिणी, विद्यार्थी, र य समुह रहेकोले बोर्डले नाम नै तोकेर त्यसरी बाहिर ल्याईदिंदा बजारलाई असर गर्ने उनको भनाई छ । बोर्डले कम्पनीलाई आन्तरिक रुपमा नै भित्र भित्र नै कारवाही गर्न सक्ने भए पनि त्यसो नगरेर बोर्ड आफैले चलखेल गरेको र बोर्ड आफैले भित्रि कारोबार गरेको देखिएको उनको भनाई छ । 

बोर्डले एक साता अगाडी पनि सचेत गराएको , र सचेत गराउनु ठिक भएपनि कम्पनीको सुची नै निकाल्नु गलत रहेको र समय पनि गलत रहेको उनी बताउछिन् । 

त्यस्तै नेपाल पुँजीबजार संघकी अध्यक्ष  संरक्षणा चौधरी पनि नाम नै तोकेर यस्तो खालको विज्ञप्ति आउनु गलत भएको बताउछिन्   ।  बोर्ड आफैले बजारमा चलखेल गरेको गरेको उनको भनाई छ ।  बोर्डले आफ्ना निकटका यस्तो आउदै छ भनेर जानकारी दिएर उनीहरुलाई शेयर बिक्रि गर्न लगाएर र त्यसपछि विज्ञप्ति निकालेकोले यसको पुष्टि भएको उनको भनाई छ । बोर्डले आफैले आफ्ना निकटकालाई सूचना दिएको कारण बजारमा  आज केहि करेक्सन आएको र बजार बन्द भएको केहि समयपछि बोर्डको विज्ञप्ति आयेको उनी बताउछिन् । 

 बोर्डले अनुसन्धान नै गर्ने भएपनि गोप्य तरिकाले अनुसन्धान गर्नु पर्ने र हामी यो यो कम्पनीको अनुसन्धान गर्दै छौ भन्नु नै गलत रहेको उनको भनाई छ ।  यसले लगानीकर्तालाई बचाउने भन्दा पनि डुबाउने बाटो तिर लागिएको उनी बताउछिन् ।  बोर्डको कदमले बोर्ड आफैले इन्साइडर ट्रेडिङ र चलखेल गरेको देखिएको उनको भनाई छ ।  कम्पनीको मूल्य एकै पटका नबढेकोले यसअघि सम्म बोर्डले केहि पनि नगर्नु र बजार स्थिर हुदै गर्दा विज्ञप्ति आउनुले नै बोर्ड आफैले चलखेल गरेको प्रष्ट हुने उनको भनाई छ । 

यस विषयमा  शेयर लगानीकर्ता दबाब समुहका अध्यक्ष हरि ढकालको  भने केहि फरक मत छ । बोर्डको कदम सहि रहेको तर ढिलो भएको उनको भनाई छ ।  केहि दिन अगाडी पनि बोर्डले कम्पनीको नाम उल्लेख नगरी सचेत भएर लगानी गर्न आग्रह गरेको , आधारभूत रुपमा बलिया कम्पनी हेरेर लगानी गर्न आग्रह गरेको, कम्पनीको वित्तीय अवस्था बुझेर लगानी गर्न आग्रह गरेको तर त्यसपछि पनि कर्नरिङ नरोकिएकोले बोर्डले बाध्य भएर कम्पनी नै तोकेको उनको भनाई छ । 

उनी भन्छन् 'बोर्डले आफ्नो विज्ञप्तिमा कम्पनीका केहि वित्तीय सूचक उल्लेख गरेको छ, भएको सूचक उल्लेख हुदा किन आपत्ति? अहिले सुचनाको पहुँच बढेकोले यी सबै सूचक अनलाइनमा पाइन्छ, लगानीकर्ताले त्यहि सूचक पनि हेरेनन्, बोर्डले बाध्य भएर वित्तीय अवस्था नै उल्लेख गरिदियो' ।

 नाम तोक्न हुने वा नहुने भन्ने विषय छुट्टै विषय रहेकोले त्यसमा आफुले बहस नगर्ने उनी बताउछन् । तर बोर्डले गत हप्ता नै खराब कम्पनीको अस्वभाविक मूल्य वृद्धिबारे अनुसन्धान भईरहेको र खराब कम्पनीमा लगानी नगर्न आग्रह गरेकोले अहिलेको बोर्डको कदमलाई अन्यथा मान्न नहुने उनको भनाई छ । यो लगानीकर्ताको अटेरीको परिणाम भएको उनी बताउछन् । बितेका २-३ महिनाको कर्नरिङको खेलको परिणाम स्वरुप यो आएको उनको भनाई छ । कर्नरिङ नियन्त्रणको लागि यो आएको उनको भनाई छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved