
नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको बैंक खातामा नगद लाबहंश पठाउँदा पूर्ण विवरण सहित पठाउन सुचिकृत कम्पनीहरुलाई निर्देशन दिएको छ । बोर्डले नगद लाभांस भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, दर आदि खुल्ने गरी पठाउन निर्देशन दिएको हो ।
बोर्डले यस निर्देशनको बोधार्थ नेपाल मर्चेन्ट बैंकर्स एसोशिएसन र नेपाल क्लियरिङ्ग हाउसलाई पनि पठाएको छ । सम्पूर्ण शेयर रजिष्ट्रारलाई यस कार्य गराउनको लागि समन्वय गर्न एसोशिएसनलाई र आवश्यक सहजीकरणका लागि क्लियरिङ्ग हाउसलाई वोधार्थ तथा कार्यार्थ दिइएको बोर्डले जनाएको छ ।
कम्पनीले आफ्ना शेयरधनीहरुलाई प्रदान गरेको नगद लाभांस शेयरधनीहरुको बैंक खातामा आफै जम्मा गर्दा र आफ्नो शेयर रजिष्ट्रार मार्फत बैंक खातामा जम्मा गराउँदा बैंक स्टेटमेण्टमा उक्त शेयर रजिष्ट्रार ( क्यापिटल)को नाम मात्र आउने गरेकोले कुन कम्पनीको लाभांस हो, कुन आर्थिक वर्षको कुन दरको लाभांस हो स्पष्ट हुन नसकेको र हिसाब किताब राख्न सहज नभएको लगायतका व्यहोराको गुनासो बोर्डमा आउने गरेको तर्फ ध्यानाकर्षण भएको बोर्डले जनाएको छ ।
अतः आफै वा आफ्नो शेयर रजिष्ट्रार मार्फत शेयरधनीको बैंक खातामा नगद लाभांस भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, दर आदि खुल्ने गरी पठाउनु हुन साथै यस कार्यलाई सहजीकरण गर्न नेपाल क्लियरिङ्ग हाउस लि. ले हालै तोकिदिएको ढाँचामा (२८ सेप्टेम्बर, २०२१) अनिवार्य रुपमा सूचित गर्नुपर्ने विषयहरु स्पष्ट रुपमा खुलाई पठाउने व्यवस्था गर्न बोर्डले निर्देशन दिएको हो ।
उपर्युक्त सम्बन्धमा धितोपत्र सम्बन्धी ऐन २०६३ को उद्देश्य लगानीकर्ताको हित संरक्षण गर्ने भएको र बोर्डले उक्त जिम्मेवारी कार्यान्वयन गर्नुपर्ने पृष्ठभूमिमा यस निर्देशन जारी गरिएको बोर्डले उल्लेख गरेको छ ।