मार्जिन कारोबार सुविधा सम्बन्धि संशोधित कार्यविधि कार्यन्वयनमा आएपछि १५ वटा ब्रोकर कम्पनीले सेवा प्रदान गर्नको लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेसँग सम्झौता गरेका छन् । नेप्सेले बैशाख १४ गतेदेखि संशोधित कार्यविधि लागु गरेको हो ।
नेप्सेले बैशाख १५ गते बिहिबार नै सम्पूर्ण ब्रोकरहरुलाई संशोधित कार्यविधि लागु गरिएको बारे पत्राचार गरेको थियो । नेप्सेले पत्राचार गरेपछि १५ वटा ब्रोकर कम्पनीले सेवा प्रदान गर्नको लागि नेप्सेसँग सम्झौता गरेका हुन् । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि अनुसार सेवा प्रदान गर्नको लागि गत वर्ष नै २२ वटा ब्रोकर कम्पनीले नेप्सेसँग सम्झौता गरेका थिए । कार्यविधि संशोधन भएर आएपछि ति २२ मध्ये १५ वटाले इजाजतपत्र नवीकरण गरेका छन् । बाँकि ७ वटाको पनि इजाजतपत्र नवीकरणको लागि आउने क्रम मै रहेको उनले बताए । उनका अनुसार यस अघि इजाजतपत्र नलिएका ब्रोकर कम्पनी पनि इजाजत पत्रको लागि आउने क्रममा छन् ।
कुन कुन हुन् इजाजतपत्र नवीकरण गर्ने १५ ब्रोकर ?
ब्रोकर नम्बर ५० - क्रिष्टल कन्चंनजंगा सेक्युरेटिज
ब्रोकर नम्बर ३६ - सेक्युर्ड सेक्युरेटिज
ब्रोकर नम्बर ३४ - भिजन सेक्युरेटिज
ब्रोकर नम्बर १६ - प्रिमो सेक्युरेटिज
ब्रोकर नम्बर ३५ - कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरेटिज
ब्रोकर नम्बर ३८ - दीपशिखा धितोपत्र कारोबार कम्पनी
ब्रोकर नम्बर ४५ - इम्पेरीयल सेक्युरेटिज
ब्रोकर नम्बर ५९ - दिव्या सेक्युरेटिज एण्ड स्टक हाउस
ब्रोकर नम्बर ५७ - आर्या तारा इन्भेष्टमेन्ट एण्ड सेक्युरेटिज
ब्रोकर नम्बर ४४ - डायनामिक मनी म्यानेजर्स सेक्युरेटिज
ब्रोकर नम्बर ३३ - दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरेटिज
ब्रोकर नम्बर २५- श्वेता सेक्युरेटिज
ब्रोकर नम्बर ३९ - सुमेरु सेक्युरेटिज
ब्रोकर नम्बर ४७ - निभ सेक्युरेटिज
ब्रोकर नम्बर ५६ - श्रीहरि सेक्युरेटिज
नेपाल धितोपत्र बोर्डले २०७८ जेठ ११ मै संशोधन गरेर पठाएको संशोधित कार्यविधि १ वर्षपछि बल्ल कार्यन्वयनमा आएको हो । नेप्सेले बैशाख १४ गतेदेखि संशोधित कार्यविधि लागु गरेको हो ।
नयाँ कार्यविधिमा के के भए परिवर्तन ?
१. यस अघि दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा असी प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको धितोपत्रमा मार्जिन कारोबार सुविधा दिनु पर्ने उल्लेख थियो । त्यस्तै आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको धितोपत्रमा मार्जिन कारोबार सुविधा दिनु पर्ने उल्लेख थियो । संशोधित कार्यविधिमा यी दुवै ब्यबस्था हटाईएको छ ।
२. यस अघि सदस्य दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १८० दिनको औसत अन्तिम बजार मूल्य वा बजार मूल्य मध्ये जुन कम हुन्छ सो को ५० प्रतिशतले हुन आउने रकम लगानीकर्तासंग आदेश दिनु पूर्व नै सुरु मार्जिन (Initial Margin) को रुपमा लिनु पर्ने ब्यबस्था थियो । त्यस्तै धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखी सदस्य दलाल व्यवसायीले पचास (५० ) प्रतिशत भन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्ने ब्यबस्था थियो ।
अब भने यस अघि सदस्य दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १२० दिनको औसत अन्तिम बजार मूल्य वा बजार मूल्य मध्ये जुन कम हुन्छ सो को ३० प्रतिशतले हुन आउने रकम लगानीकर्तासंग आदेश दिनु पूर्व नै सुरु मार्जिन (Initial Margin) को रुपमा लिनु पर्ने ब्यबस्था गरिएको छ । त्यस्तै धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुन सक्ने निहित जोखिमलाई ध्यानमा राखी सदस्य दलाल व्यवसायीले तिस (३० ) प्रतिशत भन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिन सक्ने ब्यबस्था संशोधित कार्यविधिमा गरिएको छ ।
३. यस अघि मार्जिन कारोबार सुविधाको लागि सम्भार मार्जिन चालिस (४०) प्रतिशत हुने ब्यबस्था थियो । अब भने मार्जिन कारोबार सुविधाको लागि सम्भार मार्जिन बिस (२० ) प्रतिशत हुने ब्यबस्था गरिएको छ।
४. यस अघि सदस्य दलाल व्यवसायीले बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्ताबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यको आधारमा न्यूनतम चालिस (४०) प्रतिशत वास्तविक मार्जिन कायम गर्नु पर्ने ब्यबस्था थियो । अब भने सदस्य दलाल व्यवसायीले बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्ताबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यको आधारमा न्यूनतम २० प्रतिशत वास्तविक मार्जिन कायम गर्नु पर्ने ब्यबस्था गरिएको छ ।
५. यस अघि मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा कम हुन आएमा सदस्य दलाल व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्नेछ भन्ने ब्यबस्था रहेकोमा संशोधित ब्यबस्थामा त्यसलाई २० प्रतिशत कायम गरिएको छ ।
६. यस अघि मार्जिन कल गरेको दोस्रो कार्य दिनभित्र सम्बन्धित लगानीकर्ताले नगद वा मार्जिन कारोवार योग्य धितोपत्रहरु जम्मा गरी वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि कायम गर्नु पर्ने ब्यबस्था रहेकोमा संशोधित ब्यबस्थामा त्यसलाई २० प्रतिशत कायम गरिएको छ ।
७. यस अघि वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि कायम गर्न लगानीकर्ताको हितग्राही खाताबाट मार्जिन खातामा धितोपत्र स्थानान्तरण गर्दा नियमानुसार शुल्क लाग्ने ब्यबस्था रहेकोमा संशोधित ब्यबस्थामा त्यसलाई २० प्रतिशत कायम गरिएको छ ।
८. यस अघि मार्जिन कल गरेको तेस्रो कार्यदिनभित्र सम्बन्धित लगानीकर्ताले वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि नपु¥याएमा वा मार्जिन खाता अन्तर्गतका धितोपत्रहरुको बजार मूल्यमा आएको परिवर्तनलेसो मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि कायम हुन नसकेमा सदस्य दलाल व्यवसायीले चौथो कार्यदिनमा वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्र बिक्री गर्न सक्ने ब्यबस्था रहेकोमा संशोधित ब्यबस्थामा ' मार्जिन कल गरेको तेस्रो कार्यदिनभित्र सम्बन्धित लगानीकर्ताले वास्तविक मार्जिन २० प्रतिशत भन्दा माथि नपु¥याएमा वा मार्जिन खाता अन्तर्गतका धितोपत्रहरुको बजार मूल्यमा आएको परिवर्तनलेसो मार्जिन २० प्रतिशत भन्दा माथि कायम हुन नसकेमा सदस्य दलाल व्यवसायीले चौथो कार्यदिनमा वास्तविक मार्जिन २० प्रतिशत भन्दा माथि कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्र बिक्री गर्न सक्ने छ' भन्ने ब्यबस्था गरिएको छ ।
९. यस अघि मार्जिन कल गरेपश्चात कुनै पनि समयमा मार्जिन खातामा लगानीकर्ताको वास्तविक मार्जिन तीस (३०) प्रतिशत वा सो भन्दा तल आएमा सदस्य दलाल व्यवसायीले लगानीकर्ताको मार्जिन खातामा वास्तविक मार्जिन चालिस (४०) प्रतिशत भन्दा माथि कायम गर्न आवश्यक पर्ने धितोपत्रहरु बिक्री गर्नेछ । यसरी धितोपत्र बिक्री गर्दा सदस्य दलाल व्यवसायीलाई लगानीकर्ताको अनुमति आवश्यक पर्ने छैन् भन्ने ब्यबस्था थियो। अब भने त्यसलाई परिवर्तन गरेर 'मार्जिन कल गरेपश्चात कुनै पनि समयमा मार्जिन खातामा लगानीकर्ताको वास्तविक मार्जिन १५ प्रतिशत वा सो भन्दा तल आएमा सदस्य दलाल व्यवसायीले लगानीकर्ताको मार्जिन खातामा वास्तविक मार्जिन २० प्रतिशत भन्दा माथि कायम गर्न आवश्यक पर्ने धितोपत्रहरु बिक्री गर्नेछ । यसरी धितोपत्र बिक्री गर्दा सदस्य दलाल व्यवसायीलाई लगानीकर्ताको अनुमति आवश्यक पर्ने छैन्।' भन्ने ब्यबस्था राखिएको छ ।
१०. यस अघि 'सम्भार मार्जिन भन्दा वास्तविक मार्जिन कम हुन आएमा ७ (सात) कार्य दिनको समय दिई वास्तविक मार्जिन संभार मार्जिन भन्दा माथि कायम गर्न सदस्य दलाल व्यवसायीले निश्चित प्रतिशत मार्जिन कल गर्न सक्नेछ । ७ (सात) कार्य दिनमा ब्यवसायीले तोकेको सम्भार मार्जिन कायम गर्न नसकेमा आठौ कार्य दिन पश्चात् वा खता बन्द (book close) हुनु भन्दा ५ (पाँच) दिन अगावै वास्तविक मार्जिन सम्भार मार्जिन भन्दा माथि कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्रहरु बिक्री गर्न सक्नेछ । यस प्रयोजनको लागि ब्यवसायीले तोकेको मार्जिनका कारणले वा सोही अवधिमा बजार घट्न गई बास्तविक मार्जिन तीस (३०) प्रतिशत भन्दा कम हुन आएमा सदस्य दलाल ब्यवसायीले उपदफा ५ बमोजिम गर्न सक्नेछ ।' भन्ने ब्यबस्था थियो ।
अब भने 'यस अघि 'सम्भार मार्जिन भन्दा वास्तविक मार्जिन कम हुन आएमा ७ (सात) कार्य दिनको समय दिई वास्तविक मार्जिन संभार मार्जिन भन्दा माथि कायम गर्न सदस्य दलाल व्यवसायीले निश्चित प्रतिशत मार्जिन कल गर्न सक्नेछ । ७ (सात) कार्य दिनमा ब्यवसायीले तोकेको सम्भार मार्जिन कायम गर्न नसकेमा आठौ कार्य दिन पश्चात् वा खता बन्द (book close) हुनु भन्दा ५ (पाँच) दिन अगावै वास्तविक मार्जिन सम्भार मार्जिन भन्दा माथि कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्रहरु बिक्री गर्न सक्नेछ । यस प्रयोजनको लागि ब्यवसायीले तोकेको मार्जिनका कारणले वा सोही अवधिमा बजार घट्न गई बास्तविक मार्जिन १५ प्रतिशत भन्दा कम हुन आएमा सदस्य दलाल ब्यवसायीले उपदफा ५ बमोजिम गर्न सक्नेछ ।' भन्ने ब्यबस्था गरिएको छ।
११. यस अघि 'मार्जिन खाता अन्तर्गत रहेका धितोपत्रहरुको कारोबार मर्जर, एक्युजिसन वा अन्य कुनै कारणले बन्द भएको अवस्थामा सो धितोपत्र समावेश भएको समूहगत परिसूचक बीस (२०) प्रतिशत भन्दा धेरैले घटेमा सम्बन्धित लगानीकर्तालाई सात (७) दिनको समय दिई उक्त धितोपत्र बापतको मार्जिन ऋण तथा सोसंग सम्बन्धित अन्य दायित्व चुक्ता गर्न सदस्य दलाल व्यवसायीले सूचित गर्न सक्नेछ । ' भन्ने ब्यबस्था थियो ।
अब भने 'मार्जिन खाता अन्तर्गत रहेका धितोपत्रहरुको कारोबार मर्जर, एक्युजिसन वा अन्य कुनै कारणले बन्द भएको अवस्थामा सो धितोपत्र समावेश भएको समूहगत परिसूचक १५ प्रतिशत भन्दा धेरैले घटेमा सम्बन्धित लगानीकर्तालाई सात (७) दिनको समय दिई उक्त धितोपत्र बापतको मार्जिन ऋण तथा सोसंग सम्बन्धित अन्य दायित्व चुक्ता गर्न सदस्य दलाल व्यवसायीले सूचित गर्न सक्नेछ । ' भन्ने ब्यबस्था गरिएको छ ।
१२. यस अघि ' सदस्य दलाल व्यवसायीले बजारको निहित जोखिमलाई मध्यनजर गर्दै लगानीकर्तालाई यथासम्भव लगानी विविधिकरण गर्न लगाउनु पर्नेछ । सदस्य दलाल व्यवसायीले लगानीकर्ताहरुलाई आफ्नो कुल मार्जिन कारोबार सुविधा प्रदान गर्दा कुनै एक धितोपत्रमा दस ( १०) प्रतिशतकोसीमा नबढ्ने गरी मार्जिन कारोबार सेवा उपलब्ध गराउनु पर्दछ ।' भन्ने ब्यबस्था थियो ।
अब भने ' सदस्य दलाल व्यवसायीले बजारको निहित जोखिमलाई मध्यनजर गर्दै लगानीकर्तालाई यथासम्भव लगानी विविधिकरण गर्न लगाउनु सक्नेछ।' भन्ने ब्यबस्था राखिएको छ ।
१३. यस अघि अनुमतिपत्र प्राप्त सदस्य दलाल व्यवसायीको संस्थापक, संचालक र अधिकारिक प्रतिनिधिले आफ्नो कम्पनीबाट कुनै प्रकारको ऋण वा सापटी लिन पाउने छैन भन्ने ब्यबस्था रहेकोमा अब यो सुचीमा सदस्य दलाल व्यवसायीको कर्मचारीलाई पनि समावेश गरिएको छ ।