१ अर्ब चूक्ता पूँजी र ५ अर्ब कारोबार गर्ने कम्पनीले आईपीओ ल्याउनुपर्ने, यस्तो छ सूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2022 | 12:34:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बजेटमार्फत उत्पादन मूलक ठूला उद्योगहरुलाई धितोपत्र बजारमा भित्र्याउने कुरा बजेटमार्फत नै बोल्यो । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमा १ अर्ब बढी चुक्ता पूँजी भएका र वार्षिक ५ अर्ब रुपैयाँसम्मको कारोबार गर्ने उत्पादनमूलक उद्योगहरुलाई आईपीओ निष्काशन गर्नु पर्ने घोषणा गरे ।

बजेट वक्तव्यमा ‘१ अर्ब पूँजी वा सोभन्दा बढी चुक्ता पूँजी वा ५ अर्ब रुपैयाँ बढीको कारोबार गर्ने प्राकृतिक स्रोत उपयोग, पब्लिक कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने कम्पनीलाई आईपीओ निष्कासन गरी नेप्सेमा सूचीकृत हुुनुपर्ने व्यवस्था गरिने छ’ भनिएको छ । 

यी हुन् आईपीओ ल्याउनु पर्ने कम्पनी 

बजेट वक्तव्यमा १ अर्ब चूक्ता पूँजी भएको वा वार्षिक ५ अर्ब कारोबार गर्ने कम्पनीलाई धितोपत्र बजारमा ल्याउने कुरा उल्लेख भएपछि कुन कुन उद्योगले अब आईपीओ निष्काशन गर्लान् भन्ने चासो सुरु भएको छ । हाल वार्षिक ५ अर्बको कारोबार गर्ने कम्पनी तथा उद्योगहरु करिब ५ दर्जन जति छन् । त्यस्तै, १ अर्ब रुपैयाँ चुक्ता पुँजी भएका कम्पनीहरु १ दर्जन बढी छन् । 

पछिल्लो ५ वर्षमा स्वामित्व परिवर्तन गरी प्राईभेट लिमिटेडबाट पब्लिक कम्पनी बनेका चूक्ता पूँजी १ अर्ब भएका एक दर्जन कम्पनी छन् । यी मध्ये २ वटा हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गरिसकेका छन् । 

सिंगटी हाइड्रो र ग्रीन भेन्चर्सले आईपीओ निष्काशन गरिसकेका छन् । अब १ अर्ब चूक्ता पूँजी भएका १० कम्पनीले भने आईपीओ ल्याउन बाँकी छ । आईपीओ जारी गर्न बाँकी १० कम्पनीमा मोदी इनर्जी, सिउरी खोला जलविद्युत, बेनी हाइड्रो, साङगढ हाइड्रो, सर्वोत्तम सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर मिनिरल्स, जगदम्बा स्पेनिङ मिल्स, रिलायन्स स्पेनिङ मिल्स र गैरीशंकर पावर डेभलपमेन्ट कम्पनी रहेका छन् । 

पिपुल्स हाइड्रोपावरले भने आयोजना प्रभावितलाई आईपीओ निष्काशन सुरु गरिसकेको छ । स्थानीयलाई आईपीओ निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ । सवोत्तम सिमेन्ट र रिलायन्स स्पेनिङ मिल्सले भने बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउने तयारी करिब करिब अन्तिम चरणमा पुर्याएका छन् ।

यसैबीच, वार्षिक ५ अर्ब वा सो भन्दा बढीको कारोबार गर्ने कम्पनी संख्या ६० बढी छन् । बजेटमार्फत वार्षिक ५ अर्ब रुपैयाँको कारोबार गर्ने कम्पनीले अनिवार्य आईपीओ निष्काशन गर्नुपर्ने घोषणा भएसँगै यी कम्पनी पनि अब धितोपत्र बजारमा भित्रिनुपर्ने भएको छ । 

वार्षिक ५ अर्ब कारोबार गर्ने कम्पनीमा एनसेल (आजियाटा), नेपाल विद्युत प्राधिकरण, भाटभटेनी, डिशहोम (डिश मिडिया) लगायत छन् । फोन पे (ई–सेवा) ले पनि स्वमित्व परिर्वतन गरेर आईपीओको तयारी गरेको बुझिएको छ ।  उत्पादनशील क्षेत्रका उद्योग तथा कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउन धितोपत्र बोर्डले बुक बिल्डिङ विधि ल्याइसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved