१३ ब्रोकर कम्पनीले आयकर छली गरेको खुलासा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2022 | 08:56:50 PM मा प्रकाशित

laxmi  sunrise bank

तेह्र वटा ब्रोकर कम्पनीले आयकर छली गरेको खुलासा भएको छ । उनन्‍साठीऔँ वार्षिक प्रतिवेदन पेश गर्दै महालेखापरिक्षकको कार्यालयले  यस्तो खुलासा गरेको हो । महालेखाका अनुसार ति ब्रोकर कम्पनीले ३० प्रतिशत आयकर तिर्नु पर्नेमा २५ प्रतिशत मात्र तिरेका हुन् ।

महालेखाका अनुसार मध्यमस्तरीय करदाता कार्यालयमा दर्ता रहेका धितोपत्र व्यवसाय सञ्चालन गर्ने २ करदाताले आफ्नो करयोग्य आयमा २०७७।७८ मा २५ प्रतिशतका दरले मात्र आयकर दाखिला गरेको देखिएकोले ५ प्रतिशतका दरले छुट भएको कर रू.५ करोड ५० लाख ३५ हजार शुल्क तथा ब्याजसहित असुल गर्नुपर्दछ।

त्यस्तै आन्तरिक राजस्व कार्यालय, त्रिपुरेश्वरअन्तर्गत धितोपत्र विनिमयको कारोबार गर्ने ३ करदाताले आफ्नो करयोग्य आयमा २०७७।७८ मा २५ प्रतिशतका दरले मात्र आयकर कर दाखिला गरेको देखिएकोले ५ प्रतिशतले हुने नपुग आयकर रू.८६ लाख २७ हजार र सोमा लाग्ने शुल्क तथा ब्याजसमेत असुल गर्न छानबिन हुनुपर्ने महालेखाले उल्लेख गरेको छ ।

त्यस्तै आन्तरिक राजस्व कार्यालय, पुतलीसडकअन्तर्गतका ८ करदाताले २०७७।७८ मा नेपाल धितोपत्र विनिमय बजार लिमिटेडमा धितोपत्र व्यवसाय गरी प्राप्त गरेको आयमा ३० प्रतिशत आयकर दाखिला गर्नुपर्नेमा २५ प्रतिशतका दरले मात्र आयकर दाखिला गरेको देखिएकोले न्यून दाखिला गरेको आयकर रू.१ करोड ८७ लाख ६८ हजार तथा सोमा लाग्ने शुल्क एवं ब्याज समेत असुल हुनुपर्ने महालेखाले जनाएको छ।

 आयकर ऐन, २०५८ अनुसूची-१ को दफा २(१) मा साधारण व्यवसायको आयकरको दर २५ प्रतिशत तथा सोही अनुसूचीको दफा २(२) मा बैङ्क, वित्तीय संस्था, सामान्य बीमा व्यवसाय, मुद्रा हस्तान्तरण, पुँजी बजार व्यवसाय, धितोपत्र व्यवसाय, मर्चेन्ट बैंकिङ्गलगायतका व्यवसाय गर्ने निकायको कर योग्य आयमा ३० प्रतिशतका दरले कर लाग्ने व्यवस्था छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved