
नेपाल स्टक एक्सचेन्ज नेप्सेले ब्रोकर लाईसेन्सको लागि अनुमति माग गर्दै आवेदन दिएका कम्पनीलाई सहजीकरण गर्ने निर्णय गरेको छ। नेप्सेको आज बसेको बोर्ड बैठकले ब्रोकर लाईसेन्सको लागि आवेदन दिएकाहरुलाई लाईसेन्सको लागि नेपाल धितोपत्र बोर्डका सिफारिस गर्ने निर्णय गरेको हो ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले ब्रोकर लाईसेन्सको लागि आवेदन दिएकालाई लाईसेन्सको लागि बोर्ड समक्ष सिफारिस गर्ने निर्णय भएको बिजपाटीलाई बताए। सिफारिस गर्ने निर्णय भएपनि कति संख्यामा सिफारिस गर्न भन्ने विषयमा केहि निर्णय नभएकोले अब बाँकि निर्णय नेप्सेको प्रमुख कार्यकारी अधिकृतबाट हुने छ ।
नेप्सेका अनुसार हालसम्म नेप्सेमा २१ वटा आवेदन दर्ता भएका छन् । एनएमबि सेक्युरिटिज, माछापुच्छ्रे सेक्युरिटिज, केबिएल सेक्युरुरिज, प्रभु स्टक ब्रोकर, क्यापिटल म्याक्स सेक्युरिटिज, प्रोपटिज बिगाड, हिमालयन ब्रोकरेज, कलश सेक्युरिटिज, भोलेनलेज सेक्युरिटिज लगायतले नेप्सेमा आवेदन दिएका हुन् ।
नेपाल धितोपत्र बोर्डले असोज २ गते ब्रोकर लाईसेन्स, स्टक एक्सचेन्जको लाईसेन्स, स्टक डिलरको लाइसेन्स, र कमोडिटी एक्सचेन्जको लाईसेन्सको लागि आवेदन माग गरेको थियो । नेप्सेले नयाँ ब्रोकर लाईसेन्सको लागि धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी ) नियमावलीमा पाचौ संशोधन गरेको थियो । उक्त नियमावलीमा बोर्डले ब्रोकर लाईसेन्सको लागि आवेदन माग गर्ने र बोर्डले लाईसेन्स दिने ब्यबस्था गरिएको छ । यसो हुँदा नेप्सेको सिफारिस नचाहिने आँकलन सहित केहि कम्पनीले सिधै बोर्डमा नै आवेदन दिएका थिए ।
तर धितोपत्र समबन्धि ऐन मै नेप्सेको सिफारिस चाहिने उल्लेख भएकोले अहिले इच्छुक कम्पनीहरुले नेप्सेमा आवेदन दिएका हुन् । धितोपत्र ऐनको दफा ५७ को उपदफा २ को ‘ग’ मा धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको लागि निवेदन दिंदा धितोपत्र बजारको सिफारिस पत्र पनि चाहिने उल्लेख छ।