युनिलिभर नेपाल Unilever Nepal ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २० गतेको लागि साधारणसभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १२१५ प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १२१५ रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई उक्त लाभांश वितरण हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ४ गतेदेखि मङ्सिर २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर ३ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् । कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ ।
कम्पनीको साधारणसभामा संचालकको निर्वाचन भने नहुने भएको छ । संचालकको निर्वाचन रोक्न उच्च अदालत पाटनले गत वर्ष नै आदेश दिएको र त्यस सम्बन्धि मुद्दाको किनारा अझै नलागेकोले संचालकको निर्वाचन नहुने कम्पनीले जनाएको छ ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :
साधारण प्रस्तावः
१. आर्थिक वर्ष २०७८-०७९ (२०७८ श्रावण १ देखि २०७९ आषाढ मसान्त सम्म) को नाफा नोक्सान हिसाव, वासलात, नगद प्रवाह विवरण सहितको २०७९ आषाढ मसान्त सम्मको सञ्चालक समिति र लेखा परीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
२. श्रावण १, २०७९ देखि शुरुहुने आगामी आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्न ।
३. सञ्चालक समितिको सिफारिस अनुसार लाभांश स्वीकृत गर्ने ।
४. युनिलिभर नेपाल लिमिटेड (UNL) को संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरूमा आर्थिक योगदानको लागि प्रस्ताव पारित गर्ने ।
५. अध्यक्षको अनुमतिमा अन्य कुनै पनि विषय (हरू) पेश गर्ने ।
विशेष प्रस्तावः
१. कम्पनीको नियमावलीका व्यवस्थाहरुमा आवश्यक तथा उपयुक्त ठानेका संशोधनका प्रस्तावहरु पारित गर्ने ।