
नेपाल धितोपत्र बोर्डले लकिङ पिरियड सकिएका हाइड्रोपावर कम्पनीका शेयर संरचनाको विद्यमान अवस्था अध्ययन गर्न समिति बनाएको छ । बोर्डले बोर्डको संचालक बोर्डमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सह-सचिव फणीन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिका अन्य सदस्यहरूमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्ले, बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्मा रहेका छन्।
यस समितिले जलविद्युत समूहको सूचीकृत संगठित संस्थाहरूको शेयर धितोपत्र बजारमा सूचीकृत भए पश्चात तथा धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ ले तोकेको अवधि पूरा गरीसकेका जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरूको शेयर संरचनाको विद्यामान अवस्था र सो को प्रभावका सम्बन्धमा अध्ययन गर्ने छ ।
बोर्डका अनुसार उक्त समितिले तीन महिना भित्र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ ले तोकेको अवधि पूरा गरीसकेका जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरूको शेयर संरचनाको विद्यामान अवस्था र सो को प्रभावका सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी संचालक बोर्ड समक्ष पेश गर्नेछ ।
यस अध्ययन समितिको प्रतिवेदनका आधारमा संगठित संस्थाको नियमन तथा सुपरीवेक्षणका सम्बन्धमा थप नीतिगत व्यवस्था गर्नुका साथै पूँजी बजार मार्फत राष्ट्रिय पूँजी निर्माण र परिचालनमा थप योगदान गरी समग्र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील तथा चलायमान बनाउने अपेक्षा बोर्डले गरेको जनाएको छ ।