घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको शेयर मध्ये २० प्रतिशत भन्दा कम शेयर मात्र बिक्रि भएको छ । कम्पनीले स्थानीयलाई ३ लाख ९७ हजार १ सय ९० कित्ता निष्काशन गरेकोमा कुल ७७ हजार २ सय ९० कित्ताको लागि मात्र रितपूर्वक आवेदन परेको कम्पनीले जनाएको छ । यो कुल निष्काशनको १९.४५९ प्रतिशत मात्र हो ।
कम्पनीले वैशाख १९ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरेको थियो । कम्पनीले दाङ र रोल्पाका जिल्लाका स्थानीयलाई ३ लाख ९७ हजार १ सय ९० कित्ता निष्काशन गरेको थियो । यस निष्काशनमा दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको वडा नम्बर १,२,३,४,१४,१५,१७,१८,र १९ , बंगलाचुली गाउपालिकाको वडा नम्बर ३ र ४, र रोल्पाको त्रिवेणी गाउपालिकाको वडा नम्बर ३ र ४ का स्थानीयले आवेदन दिन सक्ने व्यवस्था थियो। स्थानीयलाई अंकित मूल्य १०० रुपैयामा ३०० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ४०० रुपैयाँमा शेयर निष्काशन गरिएको थियो । तर आवेदन भने न्यून परेको हो ।
अब कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा ३२५ रुपैयाँ प्रिमियम थपेर प्रति शेयर ४३५ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्री नभएको शेयर समेत जोडेर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको शेयरमा असार ४ गतेसम्म र ढिलोमा असार १४ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।
यस सँगै घोराही सिमेन्ट आईपिओ निष्काशन गर्ने दोस्रो सिमेन्ट कम्पनी हुने छ । हाल शिवम सिमेन्ट मात्र आईपिओ निष्काशन गरेर नेप्सेमा सुचिकृत छ । शिवमले सर्वसाधारणलाई प्रति कित्ता ३ सयमा आईपिओ निष्काशन गरेको थियो । घोराहीको मूल्य सो भन्दा बढी हो ।