नेप्से ३० इन्डेक्सलाई धितोपत्र बोर्डको 'ग्रिन सिग्नल', 'डिस्क्लेमर' सहित कार्यान्वयनमा आउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2023 | 07:53:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले संचालनमा ल्याउन लागेको नेप्से ३० इन्डेक्सलाई नेपाल धितोपत्र बोर्डले 'ग्रिन सिग्नल' दिएको छ । नेप्सेले असार २८ गते बोर्डलाई नेप्से ३० इन्डेक्सबारे सुझाव दिन पत्राचार गरेको थियो ।

त्यसपछि गत आइतबार धितोपत्र बोर्डमा नेप्सेले नेप्से ३० इन्डेक्सबारे प्रिजेन्टेसन गरेको थियो । प्रिजेन्टेसनपछि बोर्ड नेप्से ३० मा सकारात्मक रहेको नेप्सेका प्रबन्धक निरन्जन फुयालले जानकारी दिए । उनका अनुसार धितोपत्र बोर्डले 'ग्रिन सिग्नल' दिएसंगै अब नेप्सेको संचालक समितिले मिति तोकेपछि नेप्से ३० इन्डेक्स कार्यान्वयनमा आउने छ । 

बोर्डले इन्डेक्समामा चयन भएका कम्पनीबारे जाने संदेशबारे सचेत रहन नेप्सेलाई भनेको छ । यस अघि बोर्डले ५१ कम्पनीको सूची जारी गर्दा ति कम्पनीको शेयर मूल्यमा नकारात्मक प्रभाव परेको थियो । अहिले पनि नेप्से ३० इन्डेक्समा परेका कम्पनीको शेयर मूल्यमा अस्वाभाविक उतारचढाव नआओस् भन्नेमा बोर्डले नेप्सेलाई सचेत गराएको छ ।

यसको समस्या समाधानको लागि नेप्सेले नेप्से ३० इन्डेक्समा परेका कम्पनीको सूची जारी गर्दा 'डिस्क्लेमर' समेत जारी गर्ने भएको छ । नेप्सेले यी कम्पनीहरु एउटा मापदण्डमा परेको कारण विशुद्द रुपमा इन्डेक्स तयार पार्नको लागि चयन गरिएको र ति कम्पनीको खरिद वा बिक्री गर्नको लागि नेप्से सिफारिस गर्दैन भन्ने खालको डिस्क्लेमर जारी गर्ने छ । सोहि कारण नेप्सेले हालसम्म नेप्से ३० मा परेका कम्पनीहरुको सूची गोप्य राखेको छ ।  

हाल नेप्सेले नेप्से ३० इन्डेक्सको आन्तरिक परिक्षण गरिरहेको छ । नेप्सेको असार २० गते बसेको संचालक समितिको निर्णय बमोजिम ३० कम्पनी छनौट गरेर नेप्से ३० इन्डेक्सको परिक्षण सुरु गरेको हो । संचालक समितिको बैठकले आन्तरिक परिक्षण गरेर नेप्से ३० कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । अब संचालक समितिको बैठकले मिति तोकेपछि इन्डेक्स कार्यन्वयनमा जाने नेप्सेले जनाएको छ। 

के हो नेप्से ३० ?

 नेप्सेले दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकांकहरुको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्य अनुरुप बजारमा तत्काल कारोबारयोग्य ( Free Float) सेयरहरुलाई समावेश गरी बजार पुँजीकरणमा आधारित ( Value Weighted) सूचकांकको रुपमा नेप्से ३० इन्डेक्स तर्जुमा गर्न लागेको हो । यस सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, Exchange Traded Fund सञ्चालन लगायतमा सघाउ पुऱ्याउने अपेक्षा नेप्सेले राखेको छ । यसबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुन जाने विश्वास नेप्सेको छ।

नेप्से ३० इन्डेक्सले ३० वटा कम्पनीलाई समावेश गरेर एउटा छुट्टै इन्डेक्स बनाउने छ । कम्पनी छनौटको लागि विभिन्न मापदण्ड समेत तोकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved