अब घरजग्गाको भाउ घट्ला कि बढ्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2023 | 01:23:28 PM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो पटक घर किन्दा २ करोडसम्म ऋण पाउने व्यवस्थाले घरजग्गा व्यवसायीमा खुशीको सञ्चार गराएको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले पहिलो पटक घर किन्दा १ करोड ५० लाखसम्म ऋण पाइने व्यवस्थालाई परिमार्जन गरेर २ करोड बनाएपछि घरजग्गा व्यवसायीहरु अब व्यवसाय बढ्नेमा आशावादी देखिएका हुन् ।

त्यस्तै, घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम भार घटाउने व्यवस्थाले पनि व्यवसायीहरु खुशी देखिएका छन् । यसअघि घरजग्गामा प्रवाह हुने कर्जाको जोखिमभार १५० प्रतिशत रहेकोमा अब १ सय प्रतिशतमा झर्नेछ । अझ व्यवसायीहरुले त ७५ प्रतिशतमा झार्न माग गरिरहेका छन् । तर, १ सय प्रतिशतमै झर्दा पनि घरजग्गा व्यवसाय चलायमान हुने अपेक्षामा व्यवसायीहरु देखिएका छन् । 

घरजग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले केही आशा जगाएको बताएका छन् । १५० प्रतिशत जोखिम भार हुँदा ब्याज महँगो हुने भएकाले जोखिम भार कम हुँदा ब्याज सस्तो हुने देखिएकाले घरजग्गा व्यवसाय चलायमान हुने र यसले दर्जनौँ उद्योग व्यवसायलाई चलायमान बनाउने अपेक्षा गरिएको उनको भनाई छ ।

घरजग्गाको भाउ बढ्ला कि घट्ला ?

घर कर्जाको ब्याजदर सस्तो हुने भएपछि अहिले कारोबार बढ्ने अपेक्षामा व्यवसायीहरु छन् । रियलस्टेट व्यवसायी निरन्जन शर्मा अहिले तत्काल भाउ बढ्छ वा घट्छ भन्नु भन्दा पनि व्यवसाय चलायमान भएर त्यसले चौतर्फी रुपमा बजारलाई चलायमान गराउने आशा गर्न सकिने बताउँछन् । 

घरजग्गा व्यवसाय चलायमान हुँदा इट्टा भट्टादेखि सिमेन्ट र डण्डी सम्मका २५० थरी उद्योगधन्दा तथा व्यवसायहरु चलायमान हुने र त्यहाँ कार्यरत मजदूरले आफ्नो परिश्रमको फल पाउने भएकाले भाउ बढ्नु र घट्नु भन्दा पनि यो कुरा ठूलो भएको जग्गा तथा आवास विकास संघ काठमाडौँका निवर्तमान अध्यक्ष इच्छाबहादुर वाग्ले बताउँछन् । उनले घरजग्गा व्यवसायमा कडाई गर्नासाथ त्यसको असर दर्जनौ उद्योगमा परेको भन्दै अब विस्तारै केही हदसम्म लयमा फर्किने आशा गर्न सकिने बताएका छन् ।

त्यसो त, व्यवसायीहरुले घरजग्गा धितो राखी कर्जा प्रवाह गर्दा काठमाडौँ उपत्यकाभित्र धितोको ३० प्रतिशत र काठमाडौँ उपत्यका बाहिर धितोको ४० प्रतिशतसम्म मात्रै कर्जा पाइने प्रावधानलाई बढाउन माग गरेका थिए । यो व्यवस्था गत आर्थिक वर्षकै मौद्रिक नीतिले गरेको व्यवस्था हो, यसपाली पनि यो नीतिलाई निरन्तरता दिइएको छ । 

घरजग्गामा १० प्रतिशत कर्जा, जीडीपीमा ८ प्रतिशत हिस्सा

नेपालका बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जामध्ये घरजग्गा व्यवसायमा १० प्रतिशत कर्जा प्रवाह भएको बताइन्छ । यो भनेको ४ खर्ब ५० अर्ब भन्दा बढी हो । अझ सहकारीबाट घरजग्गामा प्रवाह भएको कर्जाको यकिन विवरण छैन । पछिल्लो समय सहकारीहरुले घरजग्गामा अस्वभाविक लगानी गरिरहेका छन् । घरजग्गा व्यवसायीहरु बैंक तथा वित्तीय संस्थासहित सहकारीबाट समेत घरजग्गामा प्रवाह भएको कर्जा जोड्दा घरजग्गा क्षेत्रमा ८/९ खर्ब रुपैयाँ कर्जा लगानी भएको हुन सक्ने अनुमान गर्छन् ।

कुलल गार्हस्थ उत्पादन (जीडीपी)मा घरजग्गा क्षेत्रको योगदान ८ प्रतिशत छ । यो भनेको ५३ खर्बको कुल जीडीपीमा ४ खर्ब २५ अर्ब रुपैयाँ जति हुन आउँछ ।

तर, विगत २ वर्षदेखि घरजग्गा व्यवसाय शिथिल बनेको छ । कित्ताकाट रोक्का, वर्गीकरणमा ढिलाइ, कर्जामा कडाइ तथा समग्र अर्थतन्त्रमा आएको मन्दीका कारण घरजग्गा व्यवसाय शिथिल बन्यो । 

‘जीडीपीमा ८ प्रतिशत योगदान दिएको क्षेत्रलाई निरुत्साहित गर्नु गल्ती थियो, यसको चौतर्फी चेन इफेक्ट नहेरी केही नीतिगत प्रावधानहरु लागू गरिँदा पाइप बनाउनेदेखि बिजुलीका स्वीच बनाउने र इँटा उद्योगसम्म प्रभावित भए’ एक जना आवास विकासकर्ता भन्छन्, ‘घरजग्गा क्षेत्र भनेको मानिसको आधारभूत आवश्यकता पूर्तिका लागि रोजीरोटीसँग जोडिएको क्षेत्र हो, यो कुरा बल्ल बुझियो जस्तो लागेको छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved