निर्जीव (कविता)

निरोज कुमार थापा

निरोज कुमार थापा

May 25, 2020 | 02:45:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सुर्य बहादुर 

जो, जेष्ठको प्रचण्ड गर्मीमा

सडकका उत्तानो परेर लडिरहे ।



कति बेला लड्यो ?

के भएर लड्यो ?

यसको चासो कसैले लिएन 

न कसैले उठाउने हिम्मत नै गरे 

सायद,

उसको मृत्युसँग कसैलाई पीडाबोध भएन ।


हो सुर्य 

तिम्रो मृत्युसँग कसैलाई पीडाबोध छैन 

राज्यलाई पीडाबोध छैन 

शासकलाई पीडाबोध छैन,

किनकि तिमी कोरोनाले मरेका थिएनौ ।


भारी बोकेर गुजारा गर्ने तिमी गाँस र बासबिहीन भै

सडकमै पछारियौ

अन्त्यहिन लकडाउन र राज्यको गैरजिम्मेवारीसँग नागरिक हुँदाहुँदै पनि

अनागरिक भएर लड्दालड्दै

सडकमै लड्यौ

र, मारियौ ।


हाम्रा देशका शासकले कुनै समय भनेको सुनेको थिएँ,

‘अब सडकमा भोका र नाङ्गा मान्छे देखिँदैन’

शासकको यो भनाईको पुष्टि तिम्रो मृत शरीरले गरिदियो सुर्य

हो रहेछ,

अब सडकमा भोका र नाङ्गा मान्छे देखिन छोडेछन्

अब त, लास नै देखिन थालेछ 

जसको साँक्षी तिम्रो एकल सारथी बनेर 

तिमीलाई हेरिरहेको तिम्रो हातको ‘निर्जीव’ नाम्लो थियो ।।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved