म र आन्दोलन !

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 12, 2021 | 11:06:27 AM मा प्रकाशित

laxmi  sunrise bank

जीवन जिउन लायक नभएपछि

दोबाटोबाट पतनको मार्ग तिर डोहोरिएपछि

अग्रमनको यात्रामा पूर्णविराम लागेपछि

केही थान मानवका हुलहरु

नागरिकको कर र रेमिट्यान्स डकार्न 

सडकमा झरेका छन् !


नारा र जुलसमा 

फलानो जिन्दावाद

र,

फलानो मुर्दावाद भन्दै

सडकलाई नीजि सम्पत्ति ठानेर 

मजदूरको गाँस खोस्नेहरु 

तिमी तानाशाह हौ वा बादशाह

तिम्रो आह्वान र अनुरोध 

म र म जस्ता श्रमिहरुले 

स्वीकार्ने छैनन् !


तिमी नारा लगाऊ

जुलुस निकाल

टायर बाल

हड्ताल गर

ट्याक्सी जलाऊ

तर, म 

तिमी जस्ता बेफ्वाँकका मान्छेहरुको

बेतुकका तर्कमा बर्तन थप्न सक्दिँन !


भोक तिमीलाई पनि लाग्छ

मलाई पनि लाग्छ

आहारा तिमीलाई पनि चाहिन्छ

मलाई पनि चाहिन्छ

फरक यत्ति हो

तिमी सत्ताको भोको छौँ

तिमीलाई त्यसकै आहारा चाहिएको छ

म हररात भोको पेट निदाउँछु

मलाई खाली पेट भर्ने आहारा चाहिएको छ !


मजदूरको गाँस खोसेर मजदूरकै पक्षमा नारा घन्काउनेहरु

कसरी अग्रगामी हुन सक्छन् ?

हो, मेरो मथिङ्गलले यो प्रश्न सोधिरहेको छ 

त्यसैले, माफ गर

म तिम्रो आन्दोलनमा आउँन सकिँन

तिम्रा फगत फुस्रा भाषण सुनेर

म मेरी आमाको पेट भोको राख्न सक्दिँन

बाको फाँटेको कमिज टाल्न

मैले हरदिन एक दुई सिक्का जम्मा गर्नुछ

त्यसैले म तिम्रो जुलुसमा आउँन सक्दिँन !


म निर्वाध काम गरिरहन्छु

तिम्रा बज्रस्वाठहरुले 

मेरो नाम्लो खोसुन्

मेरो ट्याक्सी जलाउन्

मेरो गाडा भाँचुन

ममाथि लाठी बर्षाउन्

तर, म किञ्चित विलचित हुन्न

म अर्को नाम्लो किन्न सक्छु

म अर्को गाडा जोड्न सक्छु 

म लाठी खान तयार छु

तर,

तर, म तिमीहरुजस्ता

बिना एजेण्डामा आन्दोलन गर्नेहरुसँग 

हार खान तयार छैन !!

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved