पुजनीय आमा,
सादर ढोग नमन,
म हजुरको प्यारो छोरा, सात समुन्द्र पारीको देशबाट । त्यहाँ हजुर सन्चै हुनुहुन्छ होला आमा, यहाँ म पनि सन्चै नै छु। सुन्छु चाडपर्व आयो रे, हुने खानेको घरमा दशै आउदा हाम्रो झुपडीमा दशै आयो कि छैन आमा ?
सोच्दैछु, गाउँ घरमा देश-परदेश बाट सबैका छोरा छोरी आउदा घरमा खुसीयाली छाएको वेला आफ्नो छोरो साथ नहुदा आमा कति रूदै हौली यो परदेशी छोरो सम्झेर। आमा खासै पत्र लेख्नु पर्ने केही थिएन यो पत्र हात परेपछि पक्कै बुझ्नु हुनेछ। कोहि शुभचिन्तकले यो पत्र हात पार्नु भयो भने पनि यो खबर मेरी आमालाई सुनाईदिने कष्ट गर्नु होला ।
एउटै कुराले सधै यो मनलाई भयवित तुल्याई रहन्छ आमा । ०७२ बैसाख १२ को त्यो कालो अतीतका तिनै दृश्यहरू यो विरानो भुमिमा पनि पल पलमा आईरहन्छ । सिङ्गो देश शोकमा डुबिरहदा, लथालिङ्ग भएका विभिन्न संरचनाहरू र आफ्नै बाँस स्थान बिनाश हुदा हुँदै पनि जन्म दिने आफ्नी आमालाई सानो झुपडिमा मिल्काएर विदेश भासिएको म, अब हजुरको प्यारो रहिन आमा, म निष्ठुरी छोरा हुँ ।
आमा, देश भुकम्पले भत्किएको बेला, घाईते भई छट्पटाई रहदा मैले तिनै आलो घाउहरूमा मलम पट्टि गर्नु पर्थ्यो, साहारा दिनु पर्थ्यो, तर म बाध्यताबस आफ्नै दैनिकी रोजी रोटिको लागि पराईको गुलामी हुन आईपुगे यो विरानो मुलुकमा आई पुगे। सोच्छु, आमाको छातीमा लागेका ती गहिरा घाउका खाटोहरू अझै निको भएको छैन होला । सम्झदै हितानाबोध हुन्छ। तर भविष्य सम्झदै चित्त बुझाउन बाध्य छु ।
सायद अब त आमा पनि रोगी भईन होला, हरेक दिन आफ्ना सन्ततिको यादमा परेली रूझाउदी हुन। म आउने बाटो कुरेर बस्दी हुन् । झन चाडपर्वमा आफ्ना सन्तान आफ्नै काखमा नहुदा कति रोलिन मेरी आमा।
पोहोर आउछु भने तर आउन नसक्दा मोराले ढाट्यो भन्दी हुन् । कसरी भनौ आमा , आफ्नै गाउँ ठाउँ फर्कन यसपाली पनि छुट्टि पाईन । मन नभएको होईन आमा। रातो टीका र जमरा संगै हजुरको आशिर्वाद थाप्न पाईन आमा । पराई भुमिबाटै भए पनि हुजुरलाई सम्झिरहेछु ।पिर चिन्ता कति पनि नलिई चाडपर्व मान्नु आमा, म अर्को साल पक्कै फिर्नेछु । अर्को साल हुजुर कै हातबाट रातो टीका र जमरा संगै हजुरको आशिर्वाद थाप्ने छु । तर यो बर्ष चै चित्त बुझाउनु है आमा ।
उहिँ तपाईको परदेशी छोरा ,
देब नारायण ।
लेखक काभ्रेका हुन् र हाल बैदेशिक रोजगारीको क्रममा कुवेतमा छन् ।