करोड लगानीमा कास्कीको लुम्लेमा खुल्यो ‘इको रिसोर्ट’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2016 | 05:45:06 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटकीय स्थल कास्कीको लुम्ले–३ स्थित सुन्दर गाउँ तान्चोकमा युवा पलायनलाई न्यूनीकरण गर्ने उद्देश्यले कल्सी इको लज रिसोर्ट सञ्चालनमा ल्याइएको छ । 
 
ग्रामीण पर्यटन प्रवद्र्धन मञ्चका पूर्वअध्यक्षसमेत रहेका चित्रबहादुर गुरुङको सक्रियतामा तान्चोक गाउँको सिरानमा रहेको कयरबारीमा सो रिसोर्ट सञ्चालन गरिएको हो । पछिल्ला वर्षमा गाउँबाट बर्सेनि युवा रोजगारीका लागि सहर पस्ने तथा विदेसिने क्रम रोक्न गाउँमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ रिसोर्ट सञ्चालन गरिएको उनले बताए। 
 
‘तान्चोक गाउँको सुन्दरता र यहाँबाट देखिने मनमोहक हिमशृङ्खला अवलोकन गर्नका लागि धेरै पर्यटकलाई तान्चोकमा आकर्षित गर्न सकिन्छ’ उनले भने, ‘रिसोर्ट सञ्चालनसँगै पर्यटकलाई गाउँमा बस्न–खानका लागि सेवासुविधा प्रदान गरी यहाँबाट देखिने हिमाली तथा अन्य प्राकृतिक दृश्य अवलोकन गराउन सकिने सोचका साथ रिसोर्ट सञ्चालन गरेका हौँ ।’
 
उनका अनुसार लगभग एक हेक्टर क्षेत्रफल जग्गामा निर्माण गरिएको रिसोर्टमा तान्चोकका १० युवा सेयर सदस्य छन् । 
 
सन् २०१२ देखि निर्माण सुरु गरिएको रिसोर्ट यही जुलाईबाट सञ्चालनमा आएको जानकारी दिँदै गुरुङले काठ ढुङ्गा, माटोलगायत स्थानीय स्रोतसाधनको उपयोगबाट हाल तीनवटा कटेज निर्माण गरिएको र त्यसलाई विस्तार गरिने बताए। 
 
जग्गाको मूल्य बाहेकका संरचना निर्माणका लागि लगभग ६० लाख रुपैयाँ खर्च भइसकेको रिसोर्टमा तत्काल अन्य थप पूर्वाधार निर्माणसहित लगभग एक करोड लाग्ने अनुमान गरिएको छ ।
 
विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीको अवलोकनका साथै प्राकृतिक वनस्पतिले भरिपूर्ण यस क्षेत्रको पर्यावरणीय संरक्षणमा समेत आफूहरूको प्राथमिकतामा रहेको उनको भनाइ छ । 
 
तान्चोक गाउँ अत्यन्त सुन्दर एवम् रमणीय रहे पनि रोजगारी लगायतका कारण गाउँ सुनसान बन्दै गएको अर्का स्थानीयवासी रामभक्त गुरुङले बताए। गाउँमा विगतमा लगभग ७० घरधुरी रहेपनि हाल १५ घरधुरीमा यहाँका बासिन्दा छन् । पोखरा–बाग्लुङ राजमार्गको लुम्लेस्थित पुरानो घडेरीबाट लगभग एक घन्टाको पैदल यात्रामा तान्चोक पुग्न सकिन्छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved