संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता उपलब्धि उल्टाउने कोशिस हुँदैछ : प्रधानमन्त्री

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 13, 2017 | 03:44:26 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्रधानमन्त्री तथा ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिणपन्थी र बामपन्थी अतिवादी प्रवत्तिलाई सधैं सामन्तवाद र साम्राज्यवादले प्रयोग गर्ने गरेको बताएका छन् ।


आइतबार दिउँसो माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरेको २२ औं जनयुद्ध दिवस कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘अतिवादले जहिले पनि जनताको मनोविज्ञानमा खेल्ने प्रयास गर्छ । समाजको वस्तुगत धरातल नाघेर अतिवादले जहिले पनि दायाँ वा बायाँ बाटो हिड्न खोज्छ । उनीहरुको नियत जे–सुकै होस्, अन्ततः त्यसलाई सामन्तवाद र साम्राज्यवादले प्रयोग गर्छ र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका विरुद्ध परिचालन गर्छ ।’


नेपाली जनयुद्ध विश्व क्रान्तिकै लागि मौलिक भएकोमा जोड दिँदै प्रचण्डले भने, ‘नेपालको जनयुद्ध अरु देशको भन्दा मौलिक छ । हामीले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गको पहिचान र अधिकारको पक्षमा लड्यौं, राष्ट्रिय एकताका निम्ति संघर्षमा होमियौं । जनयुद्धकै बलमा उत्पीडितहरु राज्यसत्ताको अग्रभागमा आए । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय, समावेशी–समानुपातिक जस्ता अधिकार जनयुद्धकै बलमा संस्थागत भए । अहिले हामीले गरेको प्रयोग विश्वकै निम्ति मौलिक हो । यसलाई हामीले वैचारिक संश्लेषण गरेर विश्वस्तरमा नेपाली जनयुद्धको सन्देश प्रवाह गर्नुपर्छ ।’


राजनीतिक परिस्थितिबारे बोल्दै प्रचण्डले भने, ‘अहिलेको संविधानमा जनयुद्धको छाप छ । संविधान कार्यान्वयन यतिबेला माओवादीकै कार्यभार भएर आएको छ । एकथरि मान्छेहरु राष्ट्रवादका नाममा अतिवादको वकालत गरिरहेका छन्, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता उपलब्धि उल्टाउने कोशिस हुँदैछ । तर, त्यो त्यति सजिलो छैन । सरकार जुनसुकै हालतमा निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन गर्न प्रतिवद्ध छ । अब मुलूकमा निर्वाचन हुन्छ र संविधान कार्यान्वयन सहज बाटोमा अघि बढ्छ ।’


माओवादी एकतामा जोड दिँदै प्रचण्डले भने, ‘योपटक १० माओवादी धाराको एकता गरेर हामी २२ औं वार्षिकोत्सवमा छौं । तर, यो नै पूर्ण छैन । अर्को वर्षसम्म सबै माओवादी धाराबीच एकता हुन्छ । बाहिर रहेका सच्चा क्रान्तिकारीहरुको एकताको प्रक्रिया पनि अगाडि बढ्छ । सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई एकतावद्ध गर्दै फेरि माओवादी आन्दोलन मुलधारकै रुपमा अगाडि जान्छ ।’ 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved