लागु भयो ​निर्वाचन आचारसंहिता, हेर्नुस कसले के गर्न पाउछ, के पाइदैन ? (पूर्णपाठ सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 01, 2017 | 10:37:48 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोग नेपालले आज बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ।   आयोगले आचार संहिताबारे जानकारी दिन तथा कडाइका साथ लागू गर्न बुधबार विहान प्रधानमन्त्री र सबै मन्त्रीहरुलाई आयोगमा बोलाएको छ ।  सचिवहरुलाई दिउँसो ३ बजे आयोग कार्यालयमा बोलाइएको छ ।

आचारसंहिता लागू भएपछि अब सरकारले कर्मचारी सरुवा, बढुवालगायतका चुनावलाई प्रभावित पार्ने कुनै पनि काम गर्न पाउदैन। अत्याबश्यक अवस्थामा भने सरकारले निर्वाचन आयोगसँगको परामर्श र सहमतिपछि सरकारले निर्णय गर्न सक्ने छ। प्रक्रियामा रहेका नयाँ पदपूर्ति अघि बढाउन भने बाधा पुग्नेछैन।

 त्यस्तै विकास निर्माणका नाममा आकर्षक नयाँ कार्यक्रम थप गर्न, नयाँ बजेट बाँडफाँड र रकमान्तरमा समेत पाइने छैन । वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएका कार्यक्रम सञ्चालन गर्न भने आचार संहिताले बाधा पुर्याउने छैन । आचार संहिता सरकार, सरकारी स्वामित्व वा नियन्त्रणमा रहेका संस्था, स्थानीय निकाय, राजनीतिक दल र सञ्चारमाध्यमलाई पनि लागु हुनेछ । मौन अवधिमा सञ्चारमाध्यले चुनावको प्रचारप्रसार गर्न पाउँदैनन्। राजनीतिक दलहरुले चुनावको प्रचारप्रसार गर्दा पनि संहिता अनुरुप गर्नु पर्छ।   पोष्टर, पम्प्लेट आयोगले निर्धारण गरेको मापदण्डमा हुने पर्ने छ ।  

आचारसंहिता पालना नगरे आयोगले निर्वाचन आयोग ऐन र निर्वाचन कसुर तथा सजायँ निर्धारण ऐन अनुसार कारबाही गर्न सक्नेछ । आचारसंहिता उल्लङ्घनमा राजनीतिक दलहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने ब्यबस्था छ भने मन्त्रीलाई कालोसूचीमा राख्न सक्ने ब्यबस्था पनि छ ।  मन्त्रीहरुले कुनै उम्मेदवारको पक्षमा र विपक्षमा असर पार्नेगरी आचारसंहिता विपरितको निर्णय वा गतिविधी गरेमा जरिवाना गरिनेछ भने साथै उमेदवारी खारेज समेत गरिदिन सक्नेछ ।  लगातार आचारसंहिता उल्लंघन गर्नेलाई आगामी ५ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन नपाउने गरी कालोसूचीमा राख्न सक्ने व्यवस्था गरेको छ । 

उम्मेदवारको हकमा भने आगामी वैशाख १६ गतेबाट आचारसंहिता लागू हुनेछ ।

हेर्नुस आयोगले लागु गरेको आचार संहिताको पूर्ण पाठ । 

आचारसंहिता,

–नेपाल सरकार र नेपाल सरकारको मन्त्री,
– स्थानीय निकाय/तह,
– स्थानीय निकाय/तहका कर्मचारी,
– सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,
– सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,
– नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा तत् निकायमा कार्यरत सुरक्षाकर्मी,
– निर्वाचनको काममा संलग्न कर्मचारी,
– राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन,
– सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम,
– निजी तथा गैरसरकारी संस्था र  सार्वजनिक पद धारण गरेको व्यक्तिको हकमा लागू हुने छ। उम्मेदवारको हकमा बैशाख १६ देखि लागू हुनेछ । 


निर्वाचन आचार संहिता (दोश्रो संशोधन), २०७३

प्रस्तावना : निर्वाचन आचार संहिता, २०७२ लाई संशोधन गर्न वाञ्छनीय भएकोले,

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले यो आचार संहिता बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ ः (१) यस आचार संहिताको नाम “निर्वाचन आचार संहिता (दोश्रो संशोधन), २०७३ रहेको छ ।
(२) यो आचार संहिता तुरुन्त प्रारम्भ हुनेछ ।
२. निर्वाचन आचार संहिता, २०७२ को प्रस्तावनामा संशोधन ः निर्वाचन आचार संहिता, २०७२ 
(यसपछि “मूल आचार संहिता” भनिएको) को दफा २ को,–
(१) खण्ड (ग) मा रहेका “तह, विश्वविद्यालय र सामुदायिक विद्यालयमा अध्यापन गराउने” भन्ने शब्दहरुको सट्टा “तहका कर्मचारी सम्झनु पर्छ र सो शब्दले विश्व विद्यालय र सामुदायिक विद्यालयका” भन्ने शब्दहरु राखिएका छन् ।
(२) खण्ड (ञ) मा रहेको “सम्झनु पर्छ ।” भन्ने शब्दहरुको सट्टा “सम्झनु पर्छ र सो शब्दले धारा २६९ बमोजिम दर्ता भएका राजनीतिक दललाई समेत जनाउँछ ।” भन्ने शब्दहरू राखिएका छन् ।
३. मूल आचार संहिताको दफा ३ मा संशोधन ः मूल आचार संहिताको दफा ३ को सट्टा देहायको दफा ३ राखिएको छ ः–
“३ आचार संहिता लागू हुनेः (१) यो आचार संहिता देहायका संस्था, व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुनेछ : 
(क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री, 
(ख) प्रदेश सरकार र स्थानीय निकाय वा तह,
(ग) प्रदेश सरकार र स्थानीय निकाय वा तहका कर्मचारी, 
(घ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,
(ङ) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,
(च) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी,
(छ) निर्वाचनको काममा संलग्न कर्मचारी,
(ज) राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन,
(झ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
(ञ) सार्वजनिक पद धारणा गरेको व्यक्ति,
(ट) पर्यवेक्षक,
(ठ) सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम,
(ड) निजी तथा गैरसरकारी संस्था,
(ढ) आयोगले तोकेका अन्य निकाय वा व्यक्ति ।
(२) आयोगले उपदफा (१) बमोजिमका संस्था, व्यक्ति, निकाय तथा अधिकारीलाई अलग–अलग मितिदेखि यो आचार संहिता लागू हुने गरी तोक्न सक्नेछ ।”
४. मूल आचार संहिताको परिच्छेद–५ मा संशोधनः मूल आचार संहिताको परिच्छेद–५ को शीर्षकमा रहेको “गैरसरकारी संस्था” भन्ने शब्दहरुको सट्टा “निजी तथा गैरसरकारी संस्था” भन्ने शब्दहरु राखिएका छन् । 
५. मूल आचार संहिताको दफा १५ मा संशोधनः मूल आचार संहिताको दफा १५ को ठाउँ–ठाउँमा रहेका “गैरसरकारी संस्था” भन्ने शब्दहरुको सट्टा “निजी तथा गैरसरकारी संस्था” भन्ने शब्दहरु राखिएका छन् । 
६. मूल आचार संहिताको दफा १७ मा संशोधनः मूल आचार संहिताको दफा १७ मा रहेको “निर्वाचन आयोग ऐन, २०६३ को दफा २९ बमोजिमको” भन्ने शब्दहरूको सट्टा “निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिमको” भन्ने शब्दहरू राखिएका छन् । 
७. मूल आचार संहिताको दफा १८ मा संशोधनः मूल आचार संहिताको दफा १८ मा रहेका “निर्वाचन आयोग ऐन, २०६३” भन्ने शब्दहरूको सट्टा “निर्वाचन आयोग ऐन, २०७३” भन्ने शब्दहरू राखिएका छन् ।

स्थानीय तह निर्वाचन आचार संहिता, २०७३
प्रस्तावनाः स्थानीय तहको निर्वाचनलाई स्वच्छ, र निष्पक्ष ढंगबाट सम्पन्न गर्नको लागि सरोकारवालाले पालना गर्नुपर्ने आचरणलाई व्यवस्थित गर्नु वाञ्छनीय भएकोले,
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी सरोकारवालासँग परामर्श गरी निर्वाचन आयोगले यो आचार संहिता बनाएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भः (१) यस आचार संहिताको नाम “स्थानीय तह निर्वाचन आचार संहिता, २०७३” रहेको छ ।
(२) यो आचार संहिता आयोगले तोकेको निकायलाई तोकेको अवधिभर लागू हुनेछ । 
२ परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आचार संहितामा,–
(क) “आयोग” भन्नाले नेपालको संविधानको धारा २४५ बमोजिमको निर्वाचन आयोग सम्झनुपर्छ ।
(ख) “निर्वाचन” भन्नाले स्थानीय तहको निर्वाचन सम्झनु पर्छ ।
(ग) “पर्यवेक्षक” भन्नाले निर्वाचनको समयमा पर्यवेक्षण गर्न आयोगबाट अनुमति प्राप्त व्यक्ति वा संस्था सम्झनु पर्छ ।
(घ) “राजनीतिक दल” भन्नाले नेपालको संविधानको धारा २७१ बमोजिम आयोगमा दर्ता भएको राजनीतिक दल सम्झनु पर्छ र सो शब्दले धारा २६९ को उपधारा (१) बमोजिम गठन भएका राजनीतिक दललाई समेत जनाउँछ ।
(च) “सम्बन्धित व्यक्ति” भन्नाले उम्मेदवार वा राजनीतिक दलको तर्फबाट निर्वाचन प्रचार प्रसारमा संलग्न व्यक्ति सम्झनु पर्छ र सो शब्दले उम्मेदवारको निर्वाचन प्रतिनिधि वा राजनीतिक दल वा सोको भातृ सङ्गठनको सदस्य वा कार्यकर्तालाई समेत जनाउँछ । 
(छ) “स्थानीय तह” भन्नाले गाउँपालिका, नगरपालिका र जिल्ला सभा सम्झनु 
पर्छ । 
३. आचार संहिता लागू हुनेः (१) यो आचार संहिता देहायका संस्था, व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने :
(क) नेपाल सरकार र नेपाल सरकारको मन्त्री, 
(ख) स्थानीय निकाय/तह,
(ग) स्थानीय निकाय/तहका कर्मचारी, 
(घ) सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,
(ङ) सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,
(च) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग तथा तत् निकायमा कार्यरत सुरक्षाकर्मी,
(छ) निर्वाचनको काममा संलग्न कर्मचारी,
(ज) राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन,
(झ) उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
(ञ) सार्वजनिक पद धारणा गरेको व्यक्ति,
(ट) पर्यवेक्षक,
(ठ) सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम,
(ड) निजी तथा गैरसरकारी संस्था,
(ढ) आयोगले तोकेका अन्य निकाय वा व्यक्ति,
(ण) नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारी ।
(२) आयोगले उपदफा (१) बमोजिमका संस्था, व्यक्ति, निकाय तथा अधिकारीलाई अलग–अलग मितिदेखि यो आचार संहिता लागू हुने गरी तोक्न सक्नेछ ।
४ निर्वाचनमा सवारी साधन प्रयोग गर्दा पालना गर्नु पर्ने आचरणः निर्वाचनमा सवारी साधन प्रयोग गर्दा देहायको आचार संहिता पालना गर्नु पर्नेछः–
(क) महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा दुईवटा चारपाङ्ग्रे हलुका सवारी साधन र दुईवटा मोटर साइकल तथा वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले एउटा चारपाङ्ग्रे हलुका सवारी साधन एउटा मोटर साइकल प्रयोग गर्न सक्ने,
(ख) उपमहानगरपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि बढीमा एकवटा चारपाङ्ग्रे हलुका सवारी साधन र दुईवटा मोटर साइकल प्रयोग गर्न सक्ने,
तर त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा दुईवटा घोडा प्रयोग गर्न सक्ने ।
(ग) एउटा उम्मेदवारको नाममा स्वीकृत वा प्रयोग भएको सवारी साधन अन्य उम्मेदवारले प्रयोग गर्न वा गराउन नहुने ।
५. अनुगमन संयन्त्रः (१) आयोगले यो आचार संहिता कार्यान्वयनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम अनुगमन संयन्त्र निर्माण गर्नेछ ।
(२) उपदफा (१) बमोजिम निर्माण गरिने अनुगमन संयन्त्र सम्बन्धी अन्य व्यवस्था निर्वाचन आचार संहिता अनुगमन निर्देशिका, २०७३ मा उल्लेख गरिए बमोजिम हुनेछ । 
६. कारबाही र सजायः कसैले यस आचार संहिताको उल्लङ्घन गरेमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम कारबाही र सजाय हुनेछ । 
७. निर्वाचन आचार संहिता, २०७२ लागू हुनेः यस आचार संहितामा उल्लेख भएका कुरामा यसै बमोजिम र उल्लेख नभएका कुरामा निर्वाचन आचार संहिता, २०७२ मा व्यवस्था भए बमोजिम हुनेछ ।

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved