टेबलमाथि चढेका मेयर भन्छन्, ‘खेलाडीको मनोबल बढाउन यसो गरेँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 01:57:34 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय पिर्कामा बसेर र टेबलमा चढेर सलामी लिनेको लर्को लागेको छ । केही महिनाअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पिर्कामा चढेर सलामी लिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो तस्बिर भाइरल भएर सेलाउन नपाउँदै अर्को तस्बिर एकाएक भाइरल भएको छ, टेबुले सलामी । 

टेबलमाथि उभिएर सलामी लिने व्यक्ति हुन् धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल । सामाजिक सञ्जालमा उनले टेबलमा चढेर सलामी लिएको तस्बिर भाइरल भएपछि उनले माफी मागेका छन् । सामाजिक सञ्जाल फेसबु्कमै लामो पत्र लेखेर माफी मागेका हुन् । 

यस्तो उनले लेखेको पत्रः

आदरणीय आमाबुबा दाजुभाइ दिदी बहिनीहरु

नेपालको संविधान जारी भइसकेपछि पहिलो पटक हामीले नयाँ ब्यवस्थाको थालनी गर्यौँ । तीन तहको सरकार हाम्रो नयाँ र नौलो अनुभव हो । जनताको घर दैलोमा पहिले देखि नै पुगिरहेका र उहाँहरुको सुखदुखमा सँधै साथ दिइरहेका हामीलाई जनताले आफ्नो ठाउँको परिवर्तनका निम्ति आफ्नो अमूल्य मत दिएर जिताउनु भयो । जनप्रतिनिधीको रुपमा स्थानीय सरकारको नेतृत्व गर्न पाउनु हाम्रो लागि चुनौती र अवसर दुवै हो । सँविधान र कानुनले प्रत्याभूत गरेका अधिकार र जिमेवारीलाइ पालना गर्नु स्थानीय जनप्रतिनिधीको कर्तव्य सम्झिएर म र मेरो टिमका साथीहरुले काम गरिरहेका छौँ । काम गर्ने क्रममा कहिले काँही गल्ति र कमजोरी भएमा स्थानीय जनताको चाहना बमोजिम हामी तुरुन्तै सुधार पनि गरिरहेका हुन्छौँ । आज म एउटा अन्जान गल्तिलाइ स्पष्टीकरण दिन यो प्रविधीको साहरा लिइरहेको छु ।

राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता खेलको उद्घाटन समारोहको अवसरमा म र मेरो टिमको फोटोको सम्बन्धमा आएका प्रतिक्रियालाइ मैले थप जिम्मेवारी र महत्वपूर्ण सिकाइको रुपमा लिएको छु । हाम्रा लागि यो खेलको उद्घाटन पनि नौलो अभ्यास हो । उद्घाटन समारोहका क्रममा खेलाडिलाइ सलामी दिने चलन रहेको र मेयर अलि अग्लो स्थानमा बस्नुपर्छ भनी हतार हतार म उभिएको ठाउँमा अग्लो आसनी ल्याइयो । खेलाडिलाइ सलामी दिने कुरालाइ मैले सहजरुपमा लिएर भुइँबाटै हुने कुरा बताएपनि जनप्रतिनिधी मित्रहरु, नजिकै रहनुभएका स्थानीय जनता, स्वयम सेवक, कर्मचारी साथीहरु लगायतले यो चलन रहेको, यसले खेलाडीलाइ थप हौसला दिने र यसलाइ पालना गर्नुपर्ने कुरा बताएपछि मैले सो स्थानबाट खेलाडिलाइ सलामी दिएको हुँ ।

यो घटनाबाट मलाइ हामी जनप्रतिनिधीलाइ सामान्य कमजोरी पनि गर्ने छुट छैन भन्ने सिकाइ मिलेको छ । स्थानीय जनतासँग हामी प्रत्यक्ष जोडिएका छौँ । यहाँका जनताले हामी जनप्रतिनिधीलाइ छिमेकी दाजु, भाइ, छोरा, छोरीको रुपमा हेर्नुहुन्छ । उहाँहरुका हरेक सुख दुख उकाली ओरालीहरुमा हामी सँगै हुन्छौँ । हरेक मानिसका कतिपय स्बभाव हुँदा रहेछन् । कुनै कुनै परिस्थितिमा आफूलाइ कुनै काम गर्न मन नलागे पनि स्थानीय जनताको भावनामा चोट पर्दैन र गम्भीर असर पर्दैन भने म उहाँहरुको कुरालाइ शिरोपर गर्छु । यो स्पष्टीकरण लेख्दै गर्दा म उद्घाटन समारोहको क्रममा स्थानीयले गर्नुभएको आग्रह र मेरा गह्रौँ पाइला अग्लो स्थानमा चढ्दै गरेको दृश्य झलझली सम्झिरहेछु । गल्ती भएछ भन्ने अवश्य लागेको छ ।

सबै सकारात्मक र नकारात्मक सुझावलाइ मैले आगामी यात्राका क्रममा ध्यान दिनुपर्ने पाठको रुपमा लिएको छु । यसबाट महालक्ष्मी नगरपालिकाका जनतालाइ आफ्नो मेयरले सामन्तवादको सिको गर्न थाल्यो भन्ने कदापी नबुझ्न आग्रह गर्दछु । सबै खेलको नियम मलाइ थाहा छैन । चलन पनि मेरो लागि नौलो हो । एउटा ब्यक्तिले सबै विषयमा जानकारी राख्न पनि नसकिँदो रहेछ । म जन्मेको घर यहीँ छ , म हिँडेको बाटो, मैले पढेको विद्यालय, मैले गाइबस्तू चराएको चौर, पटक पटक चिप्लिँदै लड्दै, फेरि उठ्दै गरेको रातोमाटो यहीँ छ । गोरु जोत्दा बसेको ठेलाको दाग, भारी बोक्दा पिल्सिएको ढाड बेला बेला बल्झिरहन्छ । म कसरी सामन्तवादी सँस्कार अँगाल्न सक्छु र । सामाजिक सञ्जाल प्रयोगकर्ता मेरो नगरपालिका भित्र तथा बाहिरका आदरणीय महानुभावहरुलाइ यदि प्रक्रिया पद्दति भन्दा बाहिर रहेछ भने मेरो एउटा भुललाइ मैले सोच्न पनि नसक्ने सँस्कारसँग तुलना नगरीदिनुहुन बिनम्रतापूर्वक आग्रह गर्दछु ।

अन्त्यमा महालक्ष्मी नगरपालिकाभित्र धेरै राम्रा कामहरु पनि भएका छन् । स्थानीय जनताका चाहना अनुसारका कामलाइ हामीले प्राथमिकता दिएका छौँ । हामीले गरेका राम्रा कामको बारेमा पनि केहि लेखिदिनुभएमा थप हौसला अवश्य मिल्ने थियो ।

हाम्रा कामको निरन्तर खबरदारी गरिरहनुभएका समस्त महानुभावप्रति म हार्दिक धन्यवाद दिँदै आगामी दिनमा हरेक गतिबिधी सञ्चालनका क्रममा थप सचेत भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु ।


पर्शुराम नेपाल

नगरप्रमुख

महालक्ष्मी नगरपालिका, धनकुटा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved