भन्सार जाँच पासमा ब्रोकर मोडेल, सबै कार्यालयमा बैंकका काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2019 | 03:26:53 PM मा प्रकाशित

laxmi  sunrise bank

भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले गत असार १ गतेदेखि २४ वटै भन्सार कार्यालयमा जाँच पासको लागि ब्रोकर मोडेल लागू भएको बताएका छन् । बिहिवारबाट राजधानीमा सुरु भएको भन्सार व्यवस्थापन गोष्ठिमा बोल्दै महानिर्देशक दंगालले भन्सारलाई व्यवस्थित गर्न ब्रोकर मोडेल लागू गरिएको बताए ।

भन्सार कार्यालयमा भौतिक जाँचपास र भ्यालुएसन जाँचपास गर्ने छुट्टा छुट्टै अधिकृतहरु खटाइएएको हुनाले भन्सार पासमा सहजता आएको उनको दाबी छ । भन्सारमा हुने भ्यालुएसन विवाद अन्त्य गर्न विभागले नयाँ भ्यालुएसन मोडेल पनि लागू गर्ने तयारी गरेको उनले जानकारी दिए । यो मोडेल लागू गर्नको लागि मेची, कृष्णनगर र ड्राइपोर्ट भन्सार कार्यालयमा पाइलटिङ परीक्षण सुरु गरिएको उनले बताए । 

यो मोडेल लागू भएपछि भन्सार विभागको केन्द्रीय प्रणालीमा ‘अटोमेटिक डाटा इन्ट्री’ हुने भएकाले व्यवसायीलाई पनि सहज हुने महानिर्देशकको विश्वास छ । विभागले भन्सारमा नगद कारोबार शुन्य बनाउन २२ वटा भन्सार कार्यालयमा बैंकिङ काउन्टर स्थापना गरिसकेको, तातोपानी भन्सारमा काउन्टर स्थापनाका लागि सम्झौता भएको र बाँकी एक भन्सार कार्यालयमा पनि काउन्टर स्थापनाको अन्तिम तयारी भईरहेको विभागले जनाएको छ । यसपछि भन्सारमा हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणालीबाट हुने उनले दाबी गरे ।

विभिन्न यात्रुहरुले ल्याउने सामानमा भन्सार शुल्क उठाउन ठूला कार्यालयहरु विराटनगर, बीरगञ्ज, भैरहवा र नेपालगञ्जमा यात्रु कक्षमै बैंकको काउन्टर राखिएको विभागले जनाएको छ । अन्य भन्सार कार्यालयमा भएका काउन्टरले भने दुवैतिरको काम भ्याउने छन् । यसले अन्तराष्ट्रिय ब्यापारमा कम समय र वित्तिय लागत समेत घटाउने हुँदा व्यवसायीलाई समेत सहज हुने महानिर्देशक दंगालको दाबी छ । 

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले अहिले नेपालमा भन्सार मुल्याङ्कन रहेको तर WTO को सदस्य मुलुक कुनैमा पनि यस्तो नभएको बताए । ‘अन्य मुलुकमा कारोबार मूल्य भन्ने हुन्छ र त्यसलाई ३ महिनासम्म कायम राखिन्छ’ उनले भने, ‘नेपालको भन्सार विभागमा रहेको ढड्डा फालेर कारोबार मूल्य LC अथवा खरिद विलको आधारमा भन्सार दर कायम गरौ त्यसको लागि अहिलेको भन्सार दरमा परिमाजन गरौ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved