नेपाल-भारत पेट्रोलियम पाइपलाइन मंगलबारदेखि संचालनमा आएको छ। नेपाल र भारतका प्रधानमन्त्रीले एकैसाथ स्विच थिचेर 'मोतिहारी अमलेखगंज पेट्रोलियम पाइपलाइन' को उद्घाटन गरिएको हो।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले इलाहावादबाट 'अनलाइन भिडियो कन्फरेन्स' मार्फत बटन थिचेपछि पाइपलाइन हुँदै तेल अमलेखगन्जमा आइपुगेको छ।
उद्घाटन अवसरपछि सम्बोधन गर्ने क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यस योजनाले दुवै देशको सम्बन्ध थप नयाँ उचाईमा पुगेको बताएका छन।
'मलाई थाहा छ गत वर्ष अप्रिलमा मेरो भारत यात्राको बेलामा प्रधानमन्त्री मोदीजी र मैले स्थलगत समारोहमा भाग लिएका थियौं र यस परियोजनाको औपचारिक सुरुवात गरेका थियौं' प्रधानमन्त्री ओलीले भने, 'यो खुसीको कुरा हो कि यो परियोजना यति छिटो सम्पन्न भइसकेको छ।'
नेपाल र भारत तथा दक्षिण एशियाको बीचमा पहिलो किसिमको यो पाइपलाइन परियोजनाले नेपालमा पेट्रोलियम पदार्थ ढुवानीमा समय बचत गर्ने, लागत घटाउने, सवारी यातायात कम गर्ने र वायु प्रदूषणलाई कम गर्ने प्रधानमन्त्री ओलीले बताए। 'देशभरका त्यस्तै पाइपलाइनहरूको विस्तारका लागि नेपालमा खुला अवसर पनि दिनेछ' उनले भने।
पाइपलाइन परियोजना उद्घाटनकै दिन पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर दुई रुपैयाँ सस्तो भएको प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा बताएका छन। प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीलाई जतिसक्दो छिट्टो नेपाल भ्रमण गर्नलाई समेत निम्तो दिएका छन। प्रधानमन्त्री भएपछि ओली र मोदीबीच चार पटक भेट भएको छ।
त्यस्तै भारतीय प्रधानमन्त्रीले तोकिएको समय भन्दा पहिलेयै पाइपलाइन निर्माण भएको श्रेय नेपाल र आफ्नो नेतृत्वलाई दिएका छन। 'दक्षिण एशियाकै पहिलो क्रस ब्रोडर पेट्रोलियम पाइपलाइन निर्माणमा रेकर्ड ब्रेक भएको छ, यसको श्रेय नेपाललाई र सँगै हाम्रो नेतृत्वलाई दिन चाहन्छु’ मोदीले भने।
गत अप्रिल अर्थात २०७४ चैतमा प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा दुवै देशका प्रधानमन्त्रीले दिल्लीमा स्विच थिचेर परियोजनाको शिलान्यास गरेका थिए। ३० महिनामा परियोजना सक्ने लक्ष्य राखिएकोमा १८ महिनामै सम्पन्न भएको हो।