नयाँ प्रधानमन्त्री चयनको निर्वाचन प्रक्रिया सुरु भएको छ। प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले उम्मेद्वारी दर्ता गरेका छन।
देउवाको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् भने समर्थकमा नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेल र फोरमका बिजय गच्छदार रहेका छन।
शनिबार बिहान ११ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्नु पर्ने छ। आइतबार बिहान १० बजे प्रधानमन्त्रीको निर्वाचनको मिति तय गरिएको छ।
यता प्रमुख प्रतिपक्ष एमालेले प्रधानमन्त्रीका लागि बामदेब गौतमलाई अघि सार्ने निर्णय गरेको छ। भरतपुर महानगरको मतगणनामा सुरु नहुँदासम्म संसद चल्न नदिने अडान लिएको एमालेले प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया संसदबाटै सुरु गर्नु पर्ने बताएको छ। भरतपुरमा पुनःमतगणना तत्काल सुरु गर्न माग राख्दै एमालेले संसद अवरोध गर्दै आएको छ।
नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको सहमतिमा अन्यथा नभएमा र एमालेले संसद अवरोध नगरेको अवस्थामा आइतबार देशले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नयाँ प्रधानमन्त्रीको रुपमा पाउने छ।