दशैँ नजिकिएसँगै बिदामा विभिन्न ठाउँमा घुम्न जाने सोच बनाएकाहरु योजना बनाउन लागिसकेका छन् । कहाँ जाने, कहिले जाने, कसरी जाने, को को जाने, कहाँको विशेषता के छ ? लगायतका विषयमा जानकारी खोज्न घुमन्तेहरु लागिपरेका छन् । नेपालीहरुमा पनि बिदामा घुम्नुपर्छ, आफ्नो देशको विभिन्न कुना कन्दराका विशेषता थाहा पाउनुपर्छ भन्ने चेतनाको विकास विस्तारै हुँदैछ । यसैले पनि नेपालीमा घुम्ने संस्कारको विकासमा टेवा पुर्याईरहेको छ ।
सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाईदै छ । २० लाख विदेशी पर्यटक भित्र्याउने योजना सहित मनाउन लागिएको नेपाल भ्रमण वर्षमा सरकारले विशेष कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ । मुस्ताङमा ‘१७० किलोमिटर’ ट्रेल रेस र सगरमाथा आधार शिविरमा ‘एभरेष्ट म्याराथुन’ लगायतका इभेन्ट्स सरकारले ल्याएको छ । दशैँमा घुम्न जाने र आउने पर्यटकका लागि ग्रामिण पर्यटनको अगुवाई गरिरहेका ‘होमस्टे’हरुको छाता संगठन ‘होमस्टे एसोसियसन अफ नेपाल (होसान) ले पनि आफ्नो सुझाव ल्याएका छन् ।
होसानको आग्रह:
होसानका अध्यक्ष केशव बडाल आफ्नो देश घुमेर दूरदराजमा रहेका ऐतिहासिक ठाउँ, चिज र बस्तुको अनुभव लिनुपर्ने बताउँछन् । उनी आफ्नो परिवेश र गाउँठाउँ नघुमी देश कस्तो छ भन्नेबारे जानकार हुन नसकिने बताउँछन् । बडालका अनुसार होमस्टे एसोसियसनको बैठक बसेरै विदेशमा रहेका नेपालीसँग त्यहाँका समुदायलाई नेपाल जान प्रेरित गरिदिन अनुरोध गरेको छ ।
होसानले दशैँका अवसरमा आन्तरिक घुमघाममा निस्कने नेपालीका लागि ग्रामिण भेगमा पुगेर आफ्नो देशको परिवेश बुझ्न आग्रह गरेको छ । नेपालको जस्तो प्राकृतिक, सांस्कृतिक र भौगोलिक अनुपम विश्वकै पृथक रहेको भन्दै होसानले विभिन्न समुदायको संस्कार, संस्कृतिसँग झुम्न हामेस्टे (घरबास) मुख्य गन्तव्य हुन सक्ने भनेको छ । ‘देशका विभिन्न स्थानमा खुलेका होमस्टे फरक फरक विशेषता भएका छन्’ अध्यक्ष बडालले भने, ‘अध्ययन, अनुसन्धानसँगै रमाउन होमस्टे उत्कृष्ठ गन्तव्य हुन ।’
यतिमात्र नभई होमस्टेहरुको आतिथ्य संस्कार, ग्रामिण परिवेशका गन्थनमन्थन, स्थानीय खाना लगायतको अनुभव पनि लिन सकिने उनीहरुको भनाई छ । होमस्टे एसोसियसनले विस्तारै पर्यटकीय गन्तव्यमा विकास हुँदै गरेका स्थानलाई प्राथमिकतामा राखेर घुमिदिन आन्तरिक पर्यटकलाई आग्रह गरेको छ । स्थापित गन्तव्यसहित नयाँ गन्तव्यमा पनि आन्तरिक पर्यटकले घुमफिर गरे सो क्षेत्रको प्रचार हुने उनीहरुको बुझाई छ ।