एक पटक पुग्नैपर्ने त्यो लोभिँदो ‘धाप ताल’

गणेश श्रेष्ठ

गणेश श्रेष्ठ

May 13, 2023 | 08:11:39 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको उकुसमुकुस, धुवाँ, धुलो र कोलाहलबाट मुक्त पाउने ठाउँ खोजिरहनुभएको छ भने तपाइँको त्यो चाहना पुरा गरिदिने क्षमता बोकेको ठाउँ हो काठमाडौँको डाँडामा बनाइएको धाप ताल (धाप ड्याम) ।

स्वच्छ वातावरण, हिमाली र प्राकृतिक रमणीय दृश्यसहित प्रकृतिसँग लुकामारी गर्न पाइने पुलकित धाप तालबाट गरिने गणेश, लाङटाङलगायतका महत्वपूर्ण हिमशृङ्खलाको दृष्यपानले मनमा थप उर्जा भरिदिन्छ ।

वरपर हरियाली जङ्गल, बीचमा सिधै घामको झुल्को पर्ने ठाउँमा छ धाप ड्याम । शान्ता, स्वच्छ वातावरण र चराचुरूङ्गीका चिरविर आवाजले आगन्तुककोे मन फुरूङ्ग पारिदिन्छ ।

काठमाडौँको सुन्दरीजलबाट १८ किलोमिटर टाढा गोकर्णेश्वर नगरपालिका १ शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्ने धाप ताल प्राकृतिक छटाले भरिपूर्ण छ । 

एशियाली विकास बैंकको ४५ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त मानव निर्मित धाप ड्याम अहिले आन्तरिक पर्यकट घुम्ने आकर्षक गन्तव्य बनेको छ । 

यहाँ सङ्कलित पानी बागमती नदीमा बगाउने उद्देश्यले ताल बनाइएको हो । तालबाट सोह्र श्राद्ध, छठ, बालाचतुर्दशी, स्वस्थानी, माघे सङ्क्रान्ति, शिवरात्री जस्ता धार्मिक पर्वहरुका बेला बागमतीमा सफा पानी बगाइन्छ । उक्त ताल केही अघि तत्कालिन उपप्रधानमन्त्री एबं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्र लिङ्देनले उद्घाटन गरेपछि थप चर्चामा आएको थियो । 

यसको निर्माण सम्झौता सन् २०१५ मै भएको थियो । कुल १२ हेक्टर जमिनमा ताल निर्माण भएको  छ। २४ मिटरसम्म अग्लो बाँध बाँधिएको छ । यसको ८ लाख ५० हजार घनमिटरसम्म पानी अट्ने क्षमता छ । तालको पानी नागमती नदी हुँदै बागमतीमा मिसिन्छ ।

त्यसका वरपरका क्षेत्र पनि पर्यटकीय दृष्टिकोणले भरिपूर्ण छ ।

उक्त तालको चौडाइ १७५ र गहिराइ २४ मिटर हरेको छ । दिन प्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेका छन् । गाडी र पैदल सहजै पुग्न सकिने हुँदा यहाँ आन्तरिक पर्यटक आकर्षित छन् । उक्त तालबाट ४ किलोमिटरको दुरीमा सिन्धुपाल्चोक र नुवाकोटको सिमानामा पर्ने चिसापानी छ । चिसापानीमा पुगेर पनि मनोरञ्जन लिन सकिन्छ ।


निकुञ्जमा टिकट काट्नुपर्छ

धाम ड्याम पुग्न शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले प्रवेश शुःल्क लिन्छ । प्रति नेपाली नागरिकलाई १०० र सार्क राष्ट्रका नागरिकलाई ६०० र अन्य देशका नागरिकलाई १००० लाग्छ । साथै २ पाङ्ग्रे मोटरसाइकलको १५० छुट्टै लाग्ने गर्दछ । 

सुन्दरीजलबाट गन्तव्यसम्म पुग्न मोटरसाइकलमा करिब १ देखि डेढ घण्टामा पुग्न सकिन्छ । कच्ची भए पनि सहजै पुग्न सकिने फराकिलो बाटोले ठुलो अफ्ठेरो महसुस हुन्न ।

चारै तिर हरियाली, चराचुरुङ्गीको आवाज र ठाउँठाउँमा छङ्छङ् झरेको झरनाको मजा लिँदा गन्तव्यमा पुगेको पत्तो पाईँदैन । यो बेला ऐँसेलु र काफलको स्वाद लिन पाइन्छ । मौसमी फलफूलको मजा लिन सकिन्छ । नजिकै मणिचुड भन्ने आकर्षक ठाउँ छ । त्यहाँ पुग्दा अर्काे छुट्टै मजा लिन पाइन्छ । हाइकिङ्बाट त्यहाँ पुग्न सकिन्छ । 

धाप ड्याम शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र पर्ने हुँदा बाटो तिर होहल्ला गर्ने गाडीको हो हर्न बजाउने जस्ता क्रियाकलाप गर्न पाईँदैन । जङ्गलमा संरक्षित वन्यजन्तुहरु समेत हुने भएकाले त्यसले वाइण्डलाईफ पर्यटनको मजा पनि लिन सकिने छ भने केही सचेत पनि हुनुपर्छ । 

खानेकुरा बोकेरै जाँदा राम्रो

यसरी घुम्न जाँदा आफूलाई आवश्यक पर्ने पानीलगायतका खानेकुरा साथै लैजाँदा राम्रो हुन्छ ।

ड्याम नजिकै चिसापानी हिल भ्यु रिसोर्ट पनि छ । जहाँ बास बस्ने खाने व्यवस्था छ । त्यो क्षेत्र खानेकुरा बोकेर ड्राइ पिकनिकका लागि पनि महत्वपूर्ण मानिन्छ । बिदाका दिन विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, विद्यार्थी, व्यापारी रमाइलोका लागि पुग्ने गर्छन् । 

पछिल्लो समय फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट्याउने क्रम बढ्दा प्रचार–प्रसारमा व्यापक बनेको र आन्तरिक पर्यकट बढेको त्यहाँका स्थानीयले बताए । 

ताल घुम्ने पर्यटकले त्यहाँ नजिकै खाजा खाने ठाउँ भने नभएकाले केही समस्या भोग्नुपरेको अनुभव पनि सुनाए । ड्यामभन्दा ३ किलोमिटर वर एउटा सानो छाप्रोमा खाजा पाइन्छ । जहाँ चटपटे, मासु चिउरा, चाउचाउलगायत उपलब्ध छ । 

बाजारभन्दा धेरै टाढा भएकाले खानेकुराहरु स्वाभाविक नै केही महँगो देखिएको छ । खाजा पसलमा १० पर्ने बिस्कुट २० र २० पर्ने वाईवाई चाउचाउ ३५ तिर्नुपर्छ । 

प्राकृतिक सौन्दर्यले भरिपूर्ण र तालको निलो पानीले सबैको मन शीतल पारिदिन्छ । आन्तरिक पर्यटक मात्र नभइ विदेशी पर्यकटलाई पनि ध्यानमा राखेर सडक व्यवस्थित गर्न सके अझै यसको शोभा बढ्ने देखिन्छ । त्यसैले भन्न मन लाग्छ एक पटक घुम्नैपर्ने ठाउँ हो धाप ड्याम ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved