अझै बस्न सकेन गठबन्धनको बैठक : महानगरमै किचलो, ठाउँठाउँमा स्वतन्त्र प्रतिस्पर्धा गर्ने सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2022 | 02:16:03 PM मा प्रकाशित

laxmi  sunrise bank

यही वैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको सत्तारूढ गठबन्धनबीच महानगर र उपमहानगरपालिकाको सर्वसम्मत उम्मेदवार चयनमा किचलो देखिएको छ । 

मंगलवार बिहान साढे ११ बजे बस्ने भनिएको गठबन्धनको बैठक २ बज्न लाग्दासमेत बस्न सकेको छैन । पोखरा-लेखनाथ महानगरपालिकामा नेकपा एकीकृत समाजवादीको दाबीका कारण गठबन्धन टुट्ने अवस्थामा पुगेको छ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले मंगलवार नै सबै महानगर र उपमहानगरको टुंगो लगाउने दाबी गरेका थिए । तर नेपाली कांग्रेस गठबन्धनको बैठक रोकेर आन्तरिक बैठकमा व्यस्त रहेको हो । 

६ वटा महानगरमध्ये भरतपुरमा माओवादी केन्द्रको दाबी रहेको छ भने काठमाडौँ, ललितपुर र विराटनगर कांग्रेसले दाबी गरेको छ । बीरगंजमा जसपाको दाबी छ भने पोखरामा नेकपा एसले दाबी गरिरहेको छ । 

यीबाहेक कतिपय जिल्लामा स्वतन्त्र हिसाबले शान्तिपूर्ण प्रतिष्पर्धा गर्ने सहमति गठबन्धनमा रहेका दलका स्थानीय नेताहरूले गरेका छन् । 'पर्सालगायत कतिपय जिल्लामा शान्तिपूर्ण प्रतिस्पर्धाको कुरा आएको छ,' नेपाली कांग्रेसका एक नेताले भने, 'समाजवादी र माओवादी केन्द्रको अस्वाभाविक मागका कारण कतिपय ठाउँमा गठबन्धनकै दलहरूबीच स्वस्थ प्रतिष्पर्धा हुन सक्छ । जहाँसम्म महानगर र उपमहानगरको कुरा छ, त्यो केन्द्रबाटै मिल्छ ।'

हिजो नै टुंगो लगाउने गरी बिहानैदेखि गठबन्धनका शीर्ष नेताहरूबीच बसेको बैठक निष्कर्षमा पुग्न सकेको थिएन । दलहरूबीच रहेको आन्तरिक किचलोकै कारण मंगलवार गठबन्धनको बैठक बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहका उम्मेदवारका बारेमा भटाभट निर्णय गरिरहँदा पाँचदलीय गठबन्धन किचालोकै कारण निर्णयबिहीन बन्न पुगेको हो । 

'आज साँझसम्म सबै टुंगो लाग्छ,' नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले भने, 'नेता धेरै भएपछि आकांक्षा धेरैको हुने नै भयो । गठबन्धनमा यसबारे घनीभूत बहस भइरहेको छ । साँझसम्म हामी महानगर, उपमहानगर र अन्य स्थानीय तहको उम्मेदवारी टुंगो लगाउँछौं ।' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved