संसदको अधिवेशन आजदेखि, बजेट निर्माणको कार्यतालिका फेर्ने अध्यादेश पेश हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2024 | 09:01:46 AM मा प्रकाशित

laxmi  sunrise bank

आज माघ २२ गते सोमबारदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ।  माघ २२ गते दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको बैठक बोलाईएको छ ।

संघीय संसद सचिवालयले दुवै सदनको सोमबारको बैठकको लागि सम्भावित कार्यसूची तयार पारेको छ । जस अनुसार प्रतिनिधिसभा बैठकको लागि ७ र राष्ट्रिय सभा बैठकको लागि ६ वटा सम्भावित कार्यसूची तय गरिएका छन् ।

संसद अधिवेशन चालु नरहेको बेला सरकारले बजेट निर्माण कार्यतालिका हेरफेर गर्ने गरि अध्यादेश ल्याएको थियो । आजको बैठकमा सो अध्यादेश पनि पेश हुने छ । आजको बैठकमा अर्थ मन्त्री डा० प्रकाश शरण महतले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०" पेश गर्ने कार्यसूची रहेको छ। यस अध्यादेशले बजेटको सिद्धान्त र प्राथमिकता , बजेट प्रस्तुत गर्नु अघि पेश हुने नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षण पेश हुने कार्यतालिकामा फेरबदल गरेको छ ।

यस्तो छ प्रतिनिधिसभाको पहिलो बैठकको कार्यसूची :

१. सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने।

२. सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने।

३. सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने।

४. सभामुखले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न  सदस्यहरुको मनोनयन गर्ने।

५. राष्ट्रिय सभामा उत्पत्ति भएको “विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने।

६.अर्थ मन्त्री डा० प्रकाश शरण महतले “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०" पेश गर्ने।

७. कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्ने।

यस्तो छ राष्ट्रियसभाको पहिलो बैठकको कार्यसूची:

१. अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी सम्माननीय राष्ट्रपतिबाट प्राप्त पत्रको ब्यहोरा जानकारी गराउने।

२. अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने ।

३. अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने ।

४. राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले “राष्ट्रिय सभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८०” पेस गर्ने।

५. अर्थ मन्त्री डा. प्रकाश शरण महतले "आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०" सभा समक्ष पेस गर्ने।

६.  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सभा समक्ष पेस गर्ने।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved